Sunday, March 30, 2025

अन्तर्वार्ता (अङ्क २२ मा प्रकाशित)


त्रिपुरा पोखरेल 'खरेल' मुलतः सिक्किमेली सक्रिय महिला साहित्यकार हुन् । शान्तादेवी र प्रो. बालकृष्ण पोखरेलकी सुपुत्री त्रिपुरा पोखरेल 'खरेल’ वि.सं. २०१६ फागुन २० गते मामरि· दक्षिण सिक्किममा जन्मिएकी हुन् । 

नर्थ वंगाल युनिभर्सिटी, सिलिगुडीबाट नेपाली विषयमा एम.ए. पुरा गर्नुभएका त्रिपुरा अध्यापन पेशाबाट शिक्षा विभाग सिक्किमबाट अवकाशप्राप्त हुनुहुन्छ । 

बाल्यकाल काठमाडौँमा बिताउनु भएकी त्रिपुरा स्कुलमा पढ्दादेखि नै कविता लेख्ने गर्थिन् भने साहित्यिक यात्रामा सिक्किमको पत्रपत्रिकाहरूमा निबन्ध, कविता प्रकाशित छन् । पहिलो कृतिको रुपमा 'मेरी कविता’ कवितासङ्ग्रह प्रकाशित भएको थियो ।

नेपाली साहित्य परिषद् गान्तोकको आजीवन सदस्यको रुपमा कार्यरत त्रिपुराका अन्य कृतिमा 'प्रस्फुरण’ हाइकुसङ्ग्रह, 'पराकम्प’ लघुकथासङ्ग्रह र 'दमित इच्छा’ कथासङ्ग्रह गरी चार वटा कृति प्रकाशित छन् भने निकट भविष्यमै दुई वटा लघुकथासङ्ग्रह र कथासङ्ग्रह साहित्यभण्डारमा थप्दै हुनुहुन्छ ।  

त्रिपुरा पोखरेल खरेलले सामाजिक सञ्जाल फेसबुकमा 'सिक्किमेली लघुकथा समाज’ नामक पेज खोलेर संस्थापक र एड्मिनको भूमिका निर्वाह गर्दै नेपाली लघुकथाको उन्नयनका लागि सक्रिय हुनुहुन्छ । –सं

................................................................


तपाईं नेपाली भाषासेवी बालकृष्ण पोखरेलको सुपुत्री हुनुहुन्छ । तसर्थ पनि तपाईंको बाल्यकाल विशेष र खास पक्कै थियो होला । आफ्‌नो बाल्यकालको बारेमा हल्का केही बताइदिनु न ?

त्रिपुरा खरेलः  म भाषाशास्त्री बालकृष्ण पोखरेलकी जेष्ठ सन्तान हुँ । मेरो बुवाले साहित्यका प्रायःजसो सबै विधामा कलम चलाउनु भएको छ । उहाँ राष्ट्रको धन हुनुहुन्छ तर राष्ट्र चलाउने सारथीहरूले उहाँलाई अहिलेसम्म पनि चिन्न सकेका छैनन् । यसरी राष्ट्रको धनलाई बेवास्ता गर्नु भनेको देशलाई नै ठूलो खति हुनु हो ।

मेरो बाल्यकाल काठमाडौँमा बित्यो । बुबा त्रिभुवन विश्वविद्यालयमा पढाउनु हुन्थ्यो । हामी कहिले डिल्लीबजार, कहिले बागबजार, कहिले लैनचौर, कहिले धोबीधारा र कहिले बानेश्वरमा घर भाडामा बस्यौं । लैनचौरको स्कूलमा नाच सिकाएको अलिअलि सम्झिन्छु । लैनचौर बस्दा नै होला आमाले प्रसिद्ध कथाकार गुरुप्रसाद मैनालीकी नातिनी मीना मैनालीसँग मेरो मीत लगाइदिनु भएको । बिजय मेमोरियल स्कूलमा (डिल्लीबजार)मा सात कक्षासम्म पढेकी थिएँ । काठमाडौँको बसाइमा बुवा, आमासँग चिडियाखाना घुम्न गएको, मेरा साइला हजुरबुवा बडाहाकिम नारायणप्रसाद पोखरेलको घर गएको । उच्च न्यायालयका हाकीम हरिश्चन्द्र उपाध्याय (पोखरेल)को घर गएको सम्झना छ । बुवाको ज्यादाजसो समय लेख्न, पढ्न, पढाउन र खस जातिबारे खोजी गर्नमा बित्थ्यो । यही सन्दर्भलाई लिएर उहाँ महाकालीदेखि मेचीसम्म फन्को मार्नुहुन्थ्यो । साँच्चै नै भन्नुपर्दा हामीले बुवाको हात समाएर हिंड्ने र बुइ चढेर रमाउने सुनौलो अवसर कहिल्यै पाएनौं । हामीलाई आमाले हुर्काउनु भएको हो । बुवा अनुशासन प्रिय हुनुहुन्थ्यो । एकदिन बुवाले मलाई राइम्स सिकाउँदै हुनुहुन्थ्यो । आमा छेउमा बसेर पाउरोटीमा बटर र चिज लगाउँदै हुनुहुन्थ्यो । मैले राइम्स सिक्न छोडेर पाउरोटी मागेछु । मैले अनुशासन भङ्ग गरें भनेर त्यो दिनदेखि बुवाले मलाई कहिले पढाउनु भएन । 

साहित्यिक माहौलमा जन्मिएको तपाईं किन लामो समयसम्म साहित्यमा कलम चलाउनु भएन ?

त्रिपुरा खरेलः यहाँले ठीक प्रश्न गर्नुभयो । म साहित्यिक माहौलमा हुर्किएकी थिएँ । काठमाडौँबाट विराटनगरको घरमा आएपछि हामी संयुक्त परिवारमा मिसिएर बस्न थाल्यौं । बुवाको भागमा दुईवटा कोठा थिए । एउटा कोठामा बुवा, आमा र भाइ । अर्को कोठालाई बुवाले लाइब्रेरी बनाउनु भएको थियो । म र मेरी बैनीचाहिँ हजुरआमासँग अर्को  कोठामा सुत्थ्यौं । बुवाका साहित्यिक पाहुनाहरू दिन नबिराई आउनु हुन्थ्यो । बुवाले गफ गरेपछि राति भएको थाहा पाउनु हुँदैनथ्यो । पढ्न लेख्न थालेपछि दिनरात बितेको उहाँलाई थाहा हुँदैन थियो । कलेज छुट्टी भएपछि उहाँ सरासर आफ्नो कोठामा पस्नुहुन्थ्यो । उहाँलाई तरकारी किन्ने सौख थियो, हप्ताको शुक्रबार कामत जाने बानी थियो । उहाँ कामतमा जाँदा र तरकारी किन्न जाँदा आफू बसन्त बनेर लेख्ने उपन्यासका पात्रहरू र उनीहरूको चरित्र लिएर आउनुहुन्थ्यो । उहाँ किताबको कीरा हुनुहुन्थ्यो । बुवाको बानीसित आमाले सम्झौता गर्नुभएको थियो । तर हामीलाई बुवाको साथ र डोर्‍याउने हात चाहिएको थियो । जुन कुरा बुवाबाट नपाउँदा मैले साहित्यको 'स’ को नाम पनि नलिने कसम खाएँ । 

म सानैदेखि कविता लेख्थ्यें, चित्रहरू पनि कोर्ने गर्थे । कलेजमा कविता पाठ गरेर सान्त्वना पुरस्कार पनि पाएकी थिएँ । तर बुवाले किताब, कपी र कलमलाई माया गरेर हामीलाई टाढा राखेको देख्दा मलाई पीडा हुन्थ्यो । यिनै कारणले गर्दा मैले साहित्यलाई मेरो दिमागबाट हटाएँ । ममा साहित्यप्रति नैराश्यता छाएर पनि होला झण्डै तीनवटा किताबलाई पुग्ने मेरा कविताहरू हराएँ । मैले बुवासँगै लागेर साहित्यको सेवा गरेकी भए…? भन्ने प्रश्नले मलाई पछुताउन बाध्य गराउँछ । यदि त्यतिबेला बुवाको बाटो समातेकी भए म अहिलेसम्म स्थापित लेखक  भइसक्थें । यति खेर पछुताएर के गर्नु सबै आफ्नो कर्मको खेला हो ।

साहित्यिक माहौलमा जन्मिएर पनि साहित्य लेखनमा किन ढिलो गर्नुभयो भनेर सोध्नुभयो । यसको जवाफ मैले माथि नै दिइसकेकी छु । मैले किन मेरो जोवन ढल्किएपछि साहित्यिक संसारमा प्रवेश गरें त्यसबारे तपाईंलाई बताउँछु । बुवा बित्नुभन्दा एक वर्ष अघि भाइ मुनाल पोखरेल र मलाई छेउमा राखेर, तिमीहरूले केही लेख भनेर भन्नुभयो । पहिले त मैले उहाँको कुरा मानिंन । फेरि उहाँले म मरेपछि मेरो लागि बोलिदिने पनि कोही नहुने रहेछन् भन्नुभयो । बुवाको कुराले मेरो मन चिसो भयो । त्यही दिनदेखि  मैले बुवाकै लागि कविता रच्न थालें ।  बुवा हामीलाई छोडेर यस  धराबाट जानुभन्दा एक महिना अघि मैले पचास वटा कविताको प्रूफ उहाँलाई देखाएँ । उहाँ खुसी हुनुभयो । बुवाले मेरो कविता सङ्ग्रहको प्रूफ हेर्नुभयो । यसपछि मेरो किताबमा आफ्नो मन्तव्य लेखिदिनुभयो । उहाँको लेखोट अन्तिम पनि हो । मैले मेरो जीवनको उत्तरार्धमा आएर किन लेख्न शुरु गरें त्यसबारे मेरो कवितासङ्ग्रह 'मेरी कविता’मा बताएकी छु ।

त्रिपुरा पोखरेल 'खरेल’का प्रकाशित कृति
...............................................................................................................................................

तपाईं लघुकथामा आकर्षित हुनुको कारण के हो ?

त्रिपुरा खरेलः कवितापछि मेरो रुचि आख्यान नै हो । म बुवा नभएको बेला लाइब्रेरीमा बसेर आख्यानका किताबहरू पढ्ने गर्थें । उहाँलाई सन्तानभन्दा प्यारो लाग्थे किताबहरू । उहाँको किताब छुनु भनेको उहाँसँग दुश्मनी मोल्नु थियो । यसरी दिनहुँ लुकेर किताब पढ्दा मलाई कथामा रुचि हुन गयो । कोरोना कालमा जुममा दीपक लोहनी, विराज आचार्य, विश्वराज अधिकारी आदि साहित्यिकहरूसँग परिचय भयो । उहाँहरूमध्ये कसैले मलाई लघुकथा लेख्ने सल्लाह दिनुभयो । मलाई पनि आख्यानको छोटो विधासँग खेल्न मनपर्‍यो । लघुकथाले पाठक र सर्जकको समय बचत गराउने र छोटोमा धेरै बुझाउने भएकाले मलाई लघुकथा लेख्ने जाँगर चल्यो । त्यतिबेला मेरो बुझाइमा लघु भनेको छोटो थियो । म पनि लघुकथा लेख्न कम्मर कसेर बसें । साठीवटा सानो आकारका कथाहरू  लेखिसकेपछि, मैले लेखेका छोटा कथाहरू लघुकथा होइनन् भन्ने थाहा पाएँ । म हतोत्साही भइनँ, बरू मलाई यसले लघुकथा लेख्ने थप ऊर्जा थपिदियो । 


'सिक्किमेली लघुकथा समाज’ किन जन्माइयो ? र यसको उद्देश्यहरू के के छन् ?

त्रिपुरा खरेलः 'सिक्किमेली लघुकथा समाज’ फेसबुक पेज कोरोना कालको वरदान हो । कोरोना भाइरसले विश्वका मानवहरूलाई भयभीत तुल्याएर घरभित्र लुकेर बस्न बाध्य बनाएको थियो । मान्छे देख्दा मान्छेलाई डर लाग्ने स्थितिबाट म पनि अछुत रहन सकिन । आफूलाई कोरोनाको भयबाट मुक्ति दिलाउन र मृत्युको भयले त्रसित भएको आफ्नो कमजोर मानसिकतालाई सुदृढ बनाउन साहित्यको सेवा गर्ने अठोट गरें । त्यतिखेर नेपालका विभिन्न फेसबुक पेजमा लघुकथालाई अघि बढाउनका लागि होडबाजी चल्दै थियो । मलाई पनि सिक्किम लगायत भारतका नेपाली बाहुल्य भएका राज्यहरूमा नेपाली 'लघुकथा’ विधाको प्रचारप्रसार गर्ने लहड चल्यो । फलस्वरूप मैले ११ जुलाई सन् २०२१ सालमा 'सिक्किमेली लघुकथा समाज’ नामक फेसबुक पेज खोलें । यो  पेज खोल्नुको मुख्य उद्देश्य थियो नेपाली लघुकथाको उन्नयन गर्नु, आख्यान विधाको लघुतम रुपबाट पाठक तथा समाजलाई नैतिक शिक्षा दिनु, राम्राराम्रा सन्देशद्वारा समाजमा भएका विकृति र विसंगतिलाई निर्मूल गर्नु अनि यस पेजलाई तुइन बनाएर लघुकथाको माध्यमबाट सिक्किम, भारतका राज्यहरूका लघुकथा सर्जकहरूलाई  नेपाल र विदेशका साहित्यकारहरूसँग जोड्नु । सिक्किमेली लघुकथा समाज खोल्दा प्राइभेट ग्रुपमा खोलिएको थियो पछि एडमिन साथीहरूको सल्लाह बमोजिम ३ अप्रिल २०२२ मा यसलाई पब्लिक ग्रुपमा राख्यौं । अहिले यसले वसुधैव कुटुंबकम सिद्धान्तलाई आत्मसात गरेको छ । भारत, नेपाल र तेस्रो मुलुकका साहित्यकार, पाठक र स्रोताहरूको साथ र सहयोगले यो समाज द्रुतगतिमा अघि बढ्दैछ ।


भारतीय नेपाली लघुकथाको अवस्था कस्तो छ ?

त्रिपुरा खरेलः भारतीय नेपाली लघुकथाको अवस्था कस्तो छ? भनी प्रश्न राख्नुभयो । यसको सटीक उत्तर दिन म असहज महसुस गर्दैछु । मेरो विचारमा स्नातकोत्तरका छात्रहरूको उत्तरपुस्तिकाको मूल्याङ्कन गर्नु र लघुकथाको अवस्थालाई लिएर बोल्नु बराबर हो । हिन्दी साहित्यमा थुप्रै लघुकथाकारहरूले अनगिन्ती लघुकथा सङ्ग्रहहरू निकालेका छन् तर नेपाली लघुकथाहरूलाई भने औँला भाँचेर गन्दापनि संख्या सीमित नै पाइन्छ । सिक्किमेली लघुकथा समाज  फेसबुक पेज खोलेपछि भने अहिले सिक्किम, कालेबुङ, दार्जिलिङ, खरसाङ्, सिलिगुडी, असम, मणिपुर, अरुणाचल प्रदेश आदि ठाउँबाट लघुकथाकारहरूले यस पेजमा आफ्ना लघुकथाहरू पोष्ट गर्दै हुनुहुन्छ । कतिपय लघुकथा सर्जकहरूले नेपाली लघुकथा सङ्ग्रहहरू पनि निकालिसक्नु भएको छ । उहाँहरूका लघुकथाहरू के कस्ता छन् त्यसलाई खुट्याउने जिम्मा समालोचक र पाठकको हो ।


तपाईंको बिचारमा लघुकथा के हो ? के होइन ?

त्रिपुरा खरेलः मेरो विचारमा लघुकथा कथातत्वले पूर्ण भएको आख्यान विधाकै एउटा लघुतम रुप हो । लामो कथाभन्दा यसको छुट्टै विशेषता चाहिँ के हो भने, लघुकथा एक विषय, एक घटना, एक स्थान,  एक क्षण र एक समयमा आधारित र पूर्ण संरचनायुक्त हुन्छ । लघुकथा लेखनको मूल उद्देश्य हो कल्पनाशीलताको विकास, सोचको विकास, मनोरञ्जन र नैतिक शिक्षा दिनु । यो सानो आकारको भएपनि आफैंमा पूर्ण र प्रभावशाली हुन्छ । यसले संक्षेपमा थोरैमा धेरै बुझाउँछ । यसले अन्त्यमा चट्याङले जस्तै झसङ्ग पार्दै अथवा विद्युतीय तरङ्गलेझैँ पाठकलाई झड्का दिंदै सन्देश र शिक्षा दिन्छ । यसको तीक्ष्ण र सोझो लक्ष्य रहेको हुन्छ । मैले माथि भनेझैं यो आख्यान विधाकै एउटा रुप भएपनि यसमा कथाको झैँ भूमिका, उपसंहार, चरित्र चित्रण, घटना र स्थानको वर्णन भने हुँदैन । लघुकथामा जीवनको कुनै खास क्षण र अभिव्यक्ति, थोरैभन्दा थोरै, घटना, कम्ती पात्र, कम परिवेश हुनु अत्यावश्यक छ । नेपाली लघुकथा ज्ञाताहरूले नेपाली लघुकथाको संख्याको हिसाबले धेरैमा तीन सय शब्दसम्म हुनुपर्छ भनेर तोक लगाएका छन् । तर कथालाई छोटो बनाएर लेख्दैमा त्यो लघुकथा बन्दैन । लघुकथाको आख्यन विधामा छुट्टै अस्तित्व रहेको छ । उहाँहरूको भनाइ अनुसार लघुकथाको महत्वपूर्ण अंग शीर्षक भएकोले यसलाई प्रभावशाली र सशक्त बनाउनुपर्छ । शीर्षक एक शब्द वा एक पदात्मक हुनुपर्छ । प्रतीकात्मक, बिम्वात्मक र लक्ष्यार्थ लघुकथा विधाका विशेषता हुन् ।

कतिपय लघुकथाविद्हरूले लघुकथालाई आख्यान विधादेखि अलग मानेका छन् । तर म उहाँहरूको मतमा सहमत  छैन । म यसलाई कथाको एउटा लघुतम रुप मान्दछु, जुन छोटो भएर पनि आकस्मिक उठानको उडान भर्न सक्छ, बिचमा विकास अथवा द्वन्द्वको सृजना गर्छ र अन्त्यमा अपत्यारिलो किसिमले पाठकहरूलाई झड्का दिन्छ । लघुकथा एउटा सानो छेद हो जसबाट विशाल संसार देख्न सकिन्छ । लघुकथा सर्जकले लघुकथा सृजना गर्दा यसभित्र पसेर निस्किहाल्नुपर्छ । लघुकथामा विद्युतीय तरङ्गसहितको अन्त्य  दिइसकेपछि फेरि तन्काउनु हुँदैन । हठात् समापन हुनु लघुकथाको विशिष्टता हो । लघुकथाको अन्त्य चट्याङजस्तो हुनुपर्छ । लघुकथा लेख्दा पाठकले बुझ्ने हिसाबले सरल, सघन, ओजिलो र सभ्य भाषाको प्रयोग गर्नुपर्छ । लघुकथा सर्जकहरूले लघुकथाको सिद्धान्त पढेर लघुकथा लेख्नु आवश्यक छैन । आफ्नै  घर, समाज, देश, परदेशमा घटेका राम्रा  नराम्रा घटनाहरूको गहिरो छाप लेखकको हृदयमा पर्न जान्छ र ऊ एउटा सुन्दर लघुकथा गुँथ्न सफल हुन्छ ।

लघुकथा के होइन भन्ने प्रश्नको सिधा उत्तर हो, यो कथाझैं देखिए पनि यसलाई कथा मान्न सकिदैन । अर्थात् यो आख्यान होइन । सबै चम्किलो वस्तुलाई सुन भन्न नमिलेझैँ यसलाई कथाको लहरमा राख्न मिल्दैन । यसको आफ्नै आयाम छ । यसको ओजिलो मानक छ । यसको शीर्षकदेखि अन्त्यसम्म आफ्नै छुट्टै अस्तित्व र विशेषता रहेको छ । 


लघुकथाको सिद्धान्त र बाटो कस्तो हुनुपर्छ ?

त्रिपुरा खरेलः अबको हाम्रो लघुकथाको सिद्धान्त र बाटो कस्तो हुनुपर्छ भन्ने तपाईंको जस्तै प्रश्न मेरो मस्तिष्कमा पनि धेरै अगाडिदेखि नै आइरहेको थियो । म सिक्किमेली लघुकथा समाजबाट फुर्सद पाएपछि अन्य लघुकथाका पेजहरू चाहार्ने गर्छु । यही चहार्ने क्रममा कहिले दर्शक भएर हेर्ने गर्छु, पाठक भएर पढ्ने गर्छु अनि स्रोता भएर सुन्ने गर्छु । लघुकथाविद्हरूले गर्नुभएका समीक्षालाई तौलिने पनि गर्छु । मेरो आफ्नो विचारमा लघुकथाको सिद्धान्तलाई नियम कानुनको बलियो डोरीले बाँध्नु हुँदैन । जतिजति यसलाई कस्दै गयो त्यति त्यति सर्जकको भावना ह्रास हुँदै जान्छ । लघुकथा सर्जकलाई लघुकथा लेख्न स्वतन्त्र छोडिदिनुपर्छ । लघुकथाको शीर्षक, उठान, द्वन्द्व, स्थान, समय, संख्या र अन्त्यको ज्ञानभन्दा ज्यादा अरु केही नियमहरू सर्जकको टाउकोमा थोपर्नु हुँदैन । लघुकथाको सिद्धान्त र नियम कानुन भौतिक विज्ञान, रसायन शास्त्र, गणित र छन्दको फर्मुला जस्तो कहिले पनि नबदलिने कुरा होइन । साहित्यमा विद्वानहरूको विचारको टक्करले नयाँ नयाँ धाराहरूको जन्म भएको कुरा सर्वविदित छ । भाषा साहित्यमा परिवर्तन हुनु भनेको भाषा साहित्यको विकास हुनु हो । लघुकथाको सिद्धान्तलाई लिएर विद्वानहरूको मतमा टक्कर भएर अर्को सिद्धान्तले जन्म लिने कुरामा म विश्वस्त छु । मैले यति लामो मीमांसा छाँट्नुको मतलब हो हामीले लघुकथाको सिद्धान्तलाई लिएर मेरो गोरुको बाह्रै टक्का भन्नु भएन् ।  

मलाई सम्झिएर यो अवसर दिएकोमा तपाईं लगायत लघुकथा संसार अनलाइन मासिक परिवारलाई धेरै धेरै धन्यवाद !

प्रस्तुतकर्ताः दीपक लोहनी, काठमाडौँ

.............................................................................
.‍..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment