Sunday, September 22, 2024

लघुकथा (अङ्क १६ मा प्रकाशित)

 करेलिएको यथार्थ

- अंशु भट्ट
नयाँ बानेश्वर, काठमाडौँ


(असारमासाको समय सबै किसानहरू खेतमा धान रोप्न व्यस्त, कति खेतहरु रोपिसकिएकोले हराभरा वातावरण, पृष्ठभूमिमा “हरियो डाँडा माथि हलो जोत्ने साथी हो हो माले हो हो संगीतको धुन बज्दै’’ एउटा हट्टाकट्टा जवान करिब ३० वर्षको व्यक्ति हातमा बाँसको मोटो छडी बोकेर रिसमा रन्किदै आगाडि बढ्दै अलिकति अगाडि सानी नानी करिब ४ बर्षकी चिच्याउँदै रुँदै सकिनसकी भर्खर लगाएको बारीको डिलमा दौँडदै ।)

“ए ए लडि नानी हिलोमा’’ - माथिल्लो घरे माइला बा (जवान पुरुष -स्याने वास्तविक नाम हरिहर पन्डित, दह्रो स्वभावमा बच्चीलाई हिलोबाट हावामा तान्दै छडीले बेजोडसँग खुट्टामा हाँन्दै)

“अझ रुँन्चेस चुप लागेर हिँड’’ - स्याने 

“हैन हे सानो पण्डित कतिसारो हानेको त्यो कलिलो, निमुखो बच्चालाई, हड्डी भाँचिएला नी’’ - सानी

(बच्ची अघि अघि रुँदै, अश्रुधारा चुहाउँदै, सिंगानको लर्को मुखमा तर स्याने रोकिएन उ पछि पछि लौरोको झटारो माथि झटारो हान्दै घरसम्म पुग्यो)

सानी - “हैन हो माइला बा के गरीछ त्यो बच्चीले त्यस्तो गल्ती, रामेले गोरु चुटे झैं चुट्यो त आफ्नै भान्जीलाई पण्डितले आज ।’’

माथिल्लो घरे माइला बा - “के हुनु मंगली बीउ नपुगेर पण्डितको मा बीउ माग्न गाकी थिई, सानी बच्ची आन्टी भन्दै पछ्याईछ त्यसैले आउ जाम नानी मेरो घर भन्दै मंगलीले ल्याइछ । बच्ची पनि पछ्याउँदै आई मंगलीलाई अनि रोपाइँको लागि तयार पारेको खाना बटुकीमा खान दिँइछ । अब पण्डितकी नातिनी सार्कीकोमा खाना खाए पछि पर्दैन त झटारो ।’’

पौडेल बा - (कम्मरमा हात लाउँदै कान थाप्दै माथिल्लो बार बाट)

“सही गर्‍यो पण्डितले आजैदेखि संस्कार, संस्कृति पुस्तैदेखि चल्दै आइरहेको चलन मान्न छाडे भने के गर्छन् भोलि? केटाकेटीलाई तहलाउने नै चुटेर हो, देखेसी थरर काँप्ने बनाउनु पर्छ ।’’

सानी - “केटाकेटीलाई तहलाउने त हो बुबा तर पनि त्यो चार वर्षको बच्चालाई के थाहा जातपात, थाहा नै भएकालाई पनि त्यति साह्रो अमानवीय पाराले चुट्ने त होइन नि । मंगलीले बच्चालाई मायाले दिई, बच्चाको आत्माले माग्यो खायो, जतिसुकै मेरो बच्चाको भन्दा बढी माया लाग्छ दिदीको छोरीको भनेर गफ चुटे पनि आज त्यो बच्चीको ठाउँमा उसको छोरा भएको भए हात उठ्यो त? बरु खान नपाउन आफ्नो बच्चा अरुकोमा पाल्ने त होइन रहेछ ।’’

(साँझको समय, बच्ची आँगनमा खेल्दै, स्याने खाटमा बसेर आँप चुस्दै, त्यतिकैमा डाक्टर गोविन्दको उपस्थिति)

डाक्टर - के छ हो लेक्चरर साहेब, कस्तो छ त कलेजतिरको हाल खबर ? के को उपलक्ष्यमा हो निधारमा रातो अबिर कडा देखिन्छ त?“

पण्डित - “के हुनु डाक्टर साब, आज जिल्ला स्तरिय निबन्ध ॅस्वतन्त्रता, समानता र मौलिक हक’ मा प्रथम भइयो पचास हजार नगद अनि यी हेर्नुस् सम्मानपत्र, (गर्वले छाती तन्काउँदै भित्र छिरेर सम्मानपत्र निकालेर देखाउँदै) । बाआमाले आँट नदिएर हो नत्र म नि हजुर झै डाक्टर भएर हिँड्ने योग्यताको मानिस पो त ।’’

(कोलाहलको हाँसो गुन्जिन्छ, भर्खरै एस.ई.ई. दिएको मंगलीको छोरो रामे काँधमा बोकेको हलो लिएरै आँगनमा सबै कुराहरु सुन्दै वाल्ल पर्छ, सानी नानीको राता डाम बसेका खुट्टामा निहार्छ अनि पुरुषार्थ साथ उभिएको स्याने र त्यो सम्मान पत्र खै कता हराउँछ............)


...साथ सहयोगको खाँचो

No comments:

Post a Comment