Wednesday, April 17, 2024

लघुकथा (अङ्क ११ मा प्रकाशित)

आमा

-वीरेन्द्र ढकाल
नाग्रिजुली, असम   


दुई/चारदिनमा फर्केर आउलिन्, त्याँ ! कहिल्यै नआउनु भन्नु । राम्ररी सम्झाएर आउनु ।’’ महिला वृद्धाश्रमको मूल प्रवेशद्वारबाट फर्कंदै गर्दा श्रीमतीले फोन गरेर पति सुबोधलाई अह्राइन् ।

सुबोध पुनः फर्कन्छ । ऊ अशोचनीय दृश्य देखेर आत्तिन्छ । महिला इन्चार्ज र आमा हाँसीहाँसी कुरा गरिरहेका हुन्छन् । मानौं उनीहरू एकअर्कामा वर्षौँदेखि परिचित हुन्छ । केहीक्षणपछि आमा आफ्नो कोठातिर पस्छिन् । 

सुबोध इन्चार्ज सामु पुग्छ र भन्छ, “मेडम, म केही भन्न चाहन्छु ।’’
“भन न, निष्फिक्री ।’’ 

“हजुरहरू एकअर्कालाई कसरी चिन्नुहुन्छ?’’ सन्देह व्यक्त गर्‍यो सुबोधले ।
“सुन्न सक्छौ?’’ 

“अँ, हजुर !’’ आतुरिएको छ ऊ ।

“बिहे भएको एक महिना नहुँदै देशको सेवामा कार्यरत उहाँको पति आफ्नो कर्ममा जानुपर्‍यो । दैवको लीला ! देशको निम्ति उहाँ सहिद हुनुभयो । अनाथ आश्रमबाट तिमीलाई मैले.......!

सुबोधले धैर्यको सीमा गुमायो । ऊ दौड्दैँ आमा सामु पुग्छ । भिजेका आँखा पुछ्दै, निधार आमाको दुवै गोडामाथि राखेर भन्छ, “मलाई माफ गर्नुहोस्, आमा ! लु, छिटो घर जौँ’’ 

आमाले सबै बिर्सिएर न्यानो हातले, ममताको प्रतीक साडीको आँचलले सुबोधको आँसु पुछिदिदैँ   भन्छिन् “नरो छोरा ! भैगो अब । उठ् । मेरो, यो संसारमा तिमीहरू बाहेक अरू को छ र !’’


..साथ सहयोगको खाँचो

No comments:

Post a Comment