Showing posts with label डा. हरिकुमार श्रेष्ठ 'शिखर'. Show all posts
Showing posts with label डा. हरिकुमार श्रेष्ठ 'शिखर'. Show all posts

Wednesday, May 6, 2026

लघुकथा (अङ्क ३४ मा प्रकाशित)

बिर्खे—पहाडको कठोर जीवन बोकेर हुर्केको एक युवक । बाआमासँगै डाँडाकाँडा पसिना चुहाउँदै, उसले बाल्यकालदेखि नै जिन्दगीको पाठ सिकेको थियो । दाउरा, घाँस, ढुङ्गा जे पायो, त्यही भारी बोकेर पेट पाल्ने उसको दिनचर्या थियो । तर उसको मनभित्र एउटा अदृश्य ज्वाला दन्कियो— “कहिले म पनि उक्लिएर माथि पुग्छु ?”

गाउँकै धनीराम मन्त्री बनेर ऐश्वर्यमा पौडिएको दृश्यको सपना देख्न थाल्यो । त्यसैले ऊ किताब र समाज दुबै पढ्न थाल्यो— अन्यायका विरुद्ध स्वर उठाउँदै, गरिबका पीडामा आफ्नै प्रतिविम्ब देख्दै । जनताको विश्वास उसमा हिउँदे हिमालझैँ अग्लिँदै गयो । वडाअध्यक्ष, पालिका प्रमुख हुँदै ऊ संसदसम्म पुग्यो । उसको प्रत्येक जितमा जयजयकार गर्दै सबैले उसलाई निरन्तर शिखरतिर धकेल्दै लगे । तर उचाइसँगै उसको दृष्टि धमिलिँदै गयो ।

मन्त्री बनेपछि पनि ऊ ‘भारी बोक्ने’ मान्छे नै रह्यो— तर स्वरूप फेरियो । अब ऊ एयरपोर्टतिर हिँड्ने भयो । तर उसका थाप्लोमा डोको–नाम्लो थिएन, त्यहाँ लोभको लप्का नाचिरहेको थियो । नियमहरू फिक्का हुँदै र कर्तव्यहरू मौन बन्दै सुनको भारी उसको घरभित्र ओइरियो— पसिनाले होइन, शक्तिले ।

गाउँलेहरू उस्तै थिए—त्यही भोक, श्रम र अपमान । उनीहरू भन्थे—“हामी अझै पनि पेटका लागि भारी बोक्छौँ,ऊ त घरलाई भारी बोकाउन भारी बोक्दो रहेछ ।”

अन्ततः सुनको चमकदार भारी उसको आत्मामा अन्धकारको तुफान बन्यो । त्यही समयमा बिर्खेका बाआमाको सास सकियो, साथीहरूको साथ टुट्यो र जनताको भरोसा भत्कियो । अब बिर्खे एक्लै छ— सुनको गह्रौँ भारीले थिचिएको र पछुतोको सिस्नुले पोलिएको अवस्थामा । उसले बल्ल बुझ्यो—साग र सिस्नु खाएको वेश आनन्दीमनले ।

- नागार्जुन–१०, काठमाडौँ

...........................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।