एउटा कथाकारको मुखबाट मार्मिक कथा सुनेर भावुक भएकी थिएँ । उसको आसय थियो, “कोही हुँदैन, केवल एकान्त हो ।” लेखेका थिए उनले, रुने ठाउँ नपाएर जंगल भिजाएको कथा । त्यसमा पोखिएको भावनाले मेरो मन छोएको थियोे ।
'धेरै लेखियो । संगृहीत गर्न हामी सहकार्य गरौँ है म्याम ।’
त्यसैबेला उनै लेखकले प्रस्ताव गरेका थिए मलाई ।
उनका शब्दले आत्मीयताको थाप्लो थिचेको थियो ।
मैले वचन हार्न सकिँनँ । म पुगेँ उनकै पसलमा ।
'जोईका साथमा भेट्न पाए अरु आत्मीयता थपिन्छ ।’
सोच्दै गएथेँ, सोही पाएँ ।
अर्का कथाकार पनि त्रिकोणात्मक सहकार्यबाट अघि बढ्ने सल्लाह बमोजिम आइपुगे । कथाकारसहित जोईपोइलाई एकमुष्ट अभिवादन गरेँ ।
उनी मौन रहे । मानौँ हामी अपरिचित हौँ ।
मलाई होइन, उनले पुरुष कथाकारलाई चाहिँ करले समय दिए ।
मैले उनका आँखा हेरेँ, त्यहाँ 'जंगल’ थिएन, थियोे त केवल जोईको बन्धन । औपचारिक मुस्कान समेत देखाउन नसकेका उनको मुण्टो ठाडो भएन ।
त्यही बेला मेरो मनले सोध्यो, “जुन कथा रुन्छ, त्यसका सर्जक किन रुँदैनन् ?’’
अनि अहिलेसम्म म रुने ठाउँलाई आकाश सम्झन्थेँ, जहाँ मुक्त आँसु वर्षन्छन् ।
तर त्यो दिन बुझेँ, 'आँसु पनि भुँईमा खसेर नबिलाओस् ।’
जोई भएको मानिसले साहित्यमा नुहाएपनि, एकान्त बाँड्न नसक्ने रहेछ ।
पसलको भित्तामा आँखा पुग्यो । भर्खर लेखेर झुण्ड्याएका रहेछन्, एकातिर बहुलाएको पात्र, अर्कातिर मौन लेखक ।
- मोरङ


No comments:
Post a Comment