चैत्र, २१ गते शनिवार भक्तपुरमा सिर्जना अभियान समाजद्वारा आयोजित विमोचन कार्यक्रमका सभाध्यक्ष ध्रुव मधिकर्मी, प्रमुख अतिथि डा. पुष्करराज भट्ट, विशिष्ट अतिथिद्वय डा. हरिप्रसाद भण्डारी र लता के. सी. एवं कृतिकार नेउपानेले लघुकथा गान बजाउँदै कृतिको सामूहिक विमोचन गर्नु भयो ।
कार्यक्रममा प्रमुख अतिथि भट्टले वर्तमान समयमा देखा परेका लघुकथाको प्रवत्तिबारे चर्चा गर्दै हिजोआज एकल विषयमा लघुकथाकृति लेखिने प्रचलन बढेको बताउनु भयो साथै यस्ता कृतिले वर्तमान समयको अभिव्यक्ति प्रवाह गर्ने विश्वास व्यक्त गर्नु भयो ।
कृतिको विमोचनपश्चात् विशिष्ट अतिथि डा. भण्डारीले कृतिकारलाई शुभकामना दिँदै विमोचित कृतिमाथि संक्षिप्त समीक्षा गर्नु भयो । चुनावी सेरोफेरो लघुकथाकृतिको नाम सार्थक रहेको, निर्वाचन २०८२ को दौरानमा घटेका यावत् घटना र विषयलाई कृतिकारले संक्षिप्तरुपमा रोचक र मिठासपूर्णरूपमा लघुकथाहरू उनेको, लघुकथाका शीर्षकहरू सन्दर्भिक रहेको, आवश्यक पात्रहरूको सिर्जना गरिएको बताउनु भयो । विमोचित कृतिमा समेटिएका लघुकथाहरूमा लघुकथाका नवीतम् मान्यतामा आधारित रहेको बताउनु भयो । व्यङ्यभाव, प्रतीक, स्वैरकल्पना र संवादको प्रयोग मीठो र सरल भाषा, राम्रो परिवेशमा लघुकथाहरू बुनिएको भाव व्यक्त गर्नु भयो ।
कार्यक्रममा विशिष्ट अतिथि के.सी.ले कृतिकारको लेखनकला र शैलीलाई नजिकबाट हेरिरहेको बताउँदै छोटो समयमा दुईवटा कृति प्रकाशन गर्नु महत्वपूर्ण कार्य हो भन्नु भयो साथै कृतिकारलाई शुभकामना तथा बधाई दिनु भयो ।
कृतिकारले कृतिको गर्भ र पृष्ठभूमिबारे औँल्याउनु भयो। चुनाव घोषणा भएदेखि मतदानको दिनसम्म ५५ दिनमा लेखिएका ५९ लघुकथाहरू भविष्यका लागि दस्तावेज बनुन् भन्ने अभिप्रायले कृति प्रकाशन गरेको बताउनु भयो र पाठक प्रतिक्रियाको अपेक्षा राख्नु भयो साथै लेखन, प्रकाशन र विमोचनसम्मको यात्रामा साथ र सहयोग दिने सबैलाई धन्यवादसहित् मायाको चिनो प्रदान गर्नु भयो ।
सो विमोचन कार्यमा विमोचित कृतिबाट शान्ता तिम्सिनाले मातृभूमि र प्रार्थना खनालले वेदना शीर्षकको लघुकथा वाचन गर्नु भयो । कार्यक्रमको अन्त्यमा सभाध्यक्ष मधिकर्मीले कृतिभित्र समेटिएका लघुकथाहरू चुनावी माहौलसँग मात्र नजोडिएर आज र भोलिको समय पनि जोडेको विश्वास व्यक्त गर्नु भयो ।
आयोजक संस्थाका सदस्य लक्ष्मी वैद्यले सञ्चालन गर्नु भएको छोटोमीठो सो कार्यक्रममा कृतिकारका आफन्तजन , साहित्यकार र लघुकथाप्रेमीहरूको उल्लासमय उपस्थिति रहेको थियो ।

No comments:
Post a Comment