चैत्र, २१ गते शनिवारका दिन ग्रीनलिफ रेस्टुरेण्ट पुतलीसडकमा एक समारोहका बीच साहित्यकार योगेन्द्र तिमिल्सिनाको लघुकथासङ्ग्रह 'बोकेदाह्री' को लोकार्पण भयो । समारोहमा समीक्षकद्वय प्रा.डा. भरतप्रसाद भट्टराई तथा महेश प्रसाईले लघुकथासङग्रहका लघुकथाहरुको समीक्षा प्रस्तुत गर्नुभएको थियो ।
विशेष अतिथि लघुकथाकार ध्रुव मधिकर्मीले साहित्यकार योगेन्द्र तिमिल्सिनाको कथाको क्षेत्रमा लामो पृष्ठभूमि रहेको उल्लेख गर्नु हुँदै बोकेदाह्रीमा समावेश केही लघुकथाहरु बारे चर्चा गर्नु भयो । त्यस्तै अर्का विशेष अतिथि लघुकथा समाजका सचिव तथा मधुपर्क मासिकका सम्पादक तुलसीहरि कोइरालाले लघुकथाको ऐतिहासिक पृष्ठभूमि केलाउँदै यसको लोकप्रियता बढ्दै गएको र लघुकथा लेखन पनि विस्तार हुँदै गएको कुरा उल्लेख गर्नु भयो ।
महेश प्रसाईंले कथाकार योगेन्द्र तिमिल्सिनाको २०२८ सालदेखिको लामो साहित्यिक पृष्ठभूमि केलाउँदै उतिबैलैदेखिका स्थापित सम्पादक र साहित्यिक अध्येता तिमिल्सिनाको लघुकथा कृतिले राम्रो साहित्यिक मूल्य बोकेको बयान गर्नु भयो । प्रा.डा. भरतप्रसाद भट्टराईले लघुकथासङ्ग्रह बोकेदाह्रीमा प्रकाशित चालीस लघुकथाहरुको प्रवृत्तिगत समूहमा विभाजन गरी विस्तृत समीक्षा प्रस्तुत गर्नु भएको थियो । मानवीय समवेदना, समकालीन राजनीतिप्रतिको व्यङ्ग्य, अन्धविश्वास, सामाजिक र साँस्कृतिक विचलन आदि विषयमा कथाहरूको वर्गीकरण गरी उहाँले लघुकथासङ्ग्रहको समीक्षा प्रस्तुत गर्नुभएको थियो । लघुकथाकारले मुसाको इजलास, मान्छे, नाठो, आश्वासन जस्ता कतिपय लघुकथामा स्वैरकल्पनाको प्रयोग गरी सुन्दर प्रस्तुती गरेको कुरा डा.भट्टराईले उल्लेख गर्नु भयो ।
कार्यक्रममा लघुकथाकार योगेन्द्र तिमिल्सिनाले आफूलाई उत्कृष्ट लागेको २०२८ मा प्रकाशित 'मान्छे' शीर्षक लघुकथा वाचन गर्नु भएको थियो । उहाँले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
कार्यक्रममा रासा, भीष्म उप्रेती, विमल भौकाजी, सुधा भट्टराई, जसध्वज गुरुङ, गङ्गाप्रसाद भेटवाल, त्रिचन्द्र श्रेष्ठ, आनन्द पौड्याल, प्रवीण जोशी, कृष्ण न्यौपाने, हेमन्त गौतम, सञ्जय श्रेष्ठ आदि साहित्यकारहरुको उपस्थिति रहेको थियो ।
ओरिएण्टल पब्लिकेशनका श्रीहरि गौतमले सञ्चालन गर्नु भएको सो कार्यक्रमको अन्त्यमा सभापति डा. तुलसी भट्टराईले २०३२ सालदेखिको आफू र डा. गोविन्दराज भट्टराईको लेखकसँगको साहित्यिक सम्बन्धको चर्चा गर्दै कथाकारलाई अझ उर्जाशील भई साहित्यिक कर्ममा लाग्न शुभकामना दिँदै कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिनु भएको थियो ।

No comments:
Post a Comment