Tuesday, May 5, 2026

व्यक्तित्व (अङ्क ३४ मा प्रकाशित)

आधुनिक नेपाली कथा–परम्पराको 'नवचेनाको युग’ (सं. २०२०–३९) मा कथाकार हिरण्य भोजपुरे (सं. २००१) देखा परेका हुन् । नेपाली र राजनीतिशास्त्र विषयहरूमा स्नातकोत्तर उपाधि प्राप्त गरेका उनको अभिरुचिको अर्को क्षेत्र हो सङ्गीत कला । उनी धेरै वर्षसम्म सरकारी सेवाअन्तर्गतका विभिन्न निकायहरूमा कार्यरत रही हाल सेवा निवृत्त भई साहित्य साधनामा लागेका छन् । उनले पहिलो कथा हो 'चौबाटोको चारैतिर’ (सं. २०२८) जुन 'गोरखापत्र’ को वर्ष ७१, अङ्क २४८ मा छापिएको थियो । उनी 'लेकाली समूह’लगायत अरू विभिन्न कलासम्बन्धी सङ्घ–संस्थाहरूसँग संलग्न रहे । उनी कविता प्रतियोगिता (सं. २०१९ : हेटौंडा) मा प्रथम पुरस्कार र कथा–प्रतियोगिता (सं. २०२२ : नेसनल कलेज) मा प्रथम पुरस्कार, सङ्गीत प्रतियोगिता (सं. २०२५ः त्रि.वि.) मा प्रथम पुरस्कार, राष्ट्रिय आधुनिक गीत प्रतियोगिता (सं. २०२५ र २०२६ रेडियो नेपाल) मा रचनातर्फ सर्वोत्कृष्ट पुरस्कार, कविता महोत्सव (सं. २०२७) मा तृतीय पुरस्कार, शुभराज्याभिषेक पदक (सं. २०३१), गोरखा दक्षिण वाहु (सं. २०३४ः चौथा) आदिद्वारा सम्मानित भइसकेका छन् । उनका प्रकाशित कथासङ्ग्रहहरू हुन् : (१) चौबाटोको चारैतिर (सं. २०५६ : कथा र लघुकथाहरूको सङ्ग्रह), (२) जँघारहरू (सं. २०६०ः लघुकथासङ्ग्रह), र (३) रङ्गहरू (सं. २०६२) । उनी उपन्यास, गीत, बाल साहित्य, निबन्ध र संस्मरण विधाका पनि स्रष्टा हुन् । उनी गायक र सङ्गीतकारका रूपमा पनि प्रसिद्धि पाएका व्यक्तित्व हुन् ।

हिरण्य भोजपुरे

हिरण्य भोजपुरेका लघुकथाहरू आख्यानात्मक भएर पनि नितान्त आत्मपरक शैलीका छन् । उनले निजी अनुभूति, संवेदना र रागात्मक भावनाहरूलाई आफ्ना लघुकथाहरूमा संयोजन गरेका छन् । विशेष गरेर उनले 'हिँडाइहरू, 'जंघार’, 'विज्ञापन’, 'मौरी’, 'पैयाँ’, 'अग्लाइ’, 'भगुवाहरू’, 'बहुलाहरू’, 'औडाहा’, 'हंसराज’, 'कीर्षि’, 'मेरो साने’, 'उमेरहरू, 'बलात्कार’, 'वाहियात’ र 'मान्छेहरू’ मा कथात्मकतालाई नेपथ्य वा पृष्ठभूमिमा राखेर सोझै कवितात्मक शैलीद्वारा अन्तर्विषयको प्रक्षेपण गरेका छन् । त्यसैले उनका कथाहरू भावनात्मक उच्चता र रागात्मक अभिव्यञ्जनाद्वारा रङ्गिएका छन् । 'मौरी’ कथाको यो उद्धृतांश हेरौं :

बिहानको बेला छ । बिहान पनि छिप्पिएको बिहान होइन, कलिलो बिहान । कलिलो बिहानीमा कलिलै सूर्य छ । बिहानीपख म बिहानको सूर्य बनेर ओलिएँ । म ओलिंदा घाम बनेर ओर्लिएँ । मन न्यायो भयो ।

यहाँ आएपछि म राप बनेर आएँ । ताप होइन सन्ताप बनेर पसें । अन्तरकुन्तर असिनपसिन भए । पसिनाले ती तरबतर बने । ओहो ताप आगो बन्यो । आगोमा बन उड्यो, मन उड्यो, घर र वस्तीहरू बले । म सुरिएर झरिलो आगोमा पसेको सुइरो बनें । म भाँचिन्छु तर कदापि वाङ्गिन जान्दिनँ भन्ने भ्रम बोकेर बढे । म बहादुर, झन् बहादुर बन्न खोज्दै थिए । मेरो बहादुरीलाई इतिहासले झन् उकासिदियो । इतिहासका अगाडि भूगोल छ्यान्नछ्यान्न हुन खोज्दै थियो । संस्कार र संस्कृति दुलोभित्र पसे ।

आत्माभिव्यञ्जनाको सुन्दर रूप उपर्युक्त अंशमा पाउन सकिन्छ । यस कथामा प्रथम पुरुष 'म’ पात्रभित्रको संवेदना र संवेगको तरङ्गलाई समातिएको छ । ।औडाहा’ कथामा पनि आत्मानुभूतिका स्पन्दनहरूलाई यसरी व्यक्त गरिएको छ :

कहिलेकाहीँ लाग्छ, मान्छे अचम्मको जन्तु हो। उसलाई एउटा सानो ओत भए पुग्नुपर्ने हो, सानो स्रोत भए पुग्नुपर्ने हो । ओतमा ऊ सुत्न सक्छ, स्रोतमा ऊ उठ्न सक्छ । उसलाई एउटा सानो सम्भावनाको आकाश भए पुग्नुपर्ने हो र पनि ऊ अरूको अग्लो–अग्लो र सग्लो–सग्लो चुली चाहन्छ र पनि ऊ अरूको ठुलो–ठुलो घर खोज्छ । आखिर उसलाई सुखले दौडन एउटा सानो सुरुङ भए पुग्नुपर्ने हो। तर ऊ मान्छे हो । मान्छे भएकै नाताले ऊ अँध्यारोमा पनि घाम, जून र ताराहरूको आकाश खोज्छ र ऊ दिनमा नै रात पार्छ ।

उपर्युक्त पक्तिहरूमा व्यक्ति सापेक्ष अन्तहृदयका भावोदगारहरू पाउन सकिन्छ। कथाकार हिरण्य भोजपुरेले आत्मानुभूतिकेन्द्री आफ्ना कतिपय लघुकथाहरूमा व्यक्तिनिष्ठ रुचि र दृष्टिलाई मूल विषय बनाएका छन् । ।कागजमा कुद्दा’ कथाका यी हरफहरू हेरौं :

मलाई सधैसधैं भोक लाग्छ । भोक लाग्दा गीत मिठो लाग्दैन, समयले पस्केको खाना मिठो लाग्छ । हरेक भोक खाँदैखादै मैले जिन्दगीलाई खाइसकेको छु । यो खानुमा आफूलाई हराइरहेको छु । जिन्दगीमा आफूलाई हराउँदै जाँदा मलाई जिन्दगी मिठो लाग्छ ।

बिहान एक दिन आँखा चिम्लन थालेको छु । चिम्लंदा आँखा, अनेकन् चिन्मय देख्न थालेको छु । आँखा देख्छु, अन्धकार देख्छु, अन्धकारमा एउटा दीप्ति देख्छु । त्यो दीप्ति तिम्रो हो, तिमीलाई दिन्छु । तिमीलाई तिम्रो दीप्ति दिँदा म अचम्मसित रमाउँछु । अनि मलाई म नै मिठो लाग्छ । मलाई जिन्दगी मिठो लाग्छ ।

+ + + 

फेल शब्द सुन्दा पनि मलाई जिन्दगी नमिठो लाग्दैन । म खाली कागज हेर्दै गरेको हुन्छु । म कविता कोर्दै गरेको हुन्छु ।

सिर्जनाको क्षणमा हुने आनन्दानुभूति कति सुखद हुन्छ भन्ने कुरो यी पङ्क्तिहरूमा देखाइएको छ । कथाकार भोजपुरेले के कुरो स्पष्ट पारेका छन् भने व्यक्ति आफ्नो स्वतन्त्रवरणमा रमाउन खोज्छ ('हिँडाइहरू’ कथा), आफ्नो वैयक्तिक रुचिअनुसार आफूलाई परिवर्तन गर्दछ ('जँघार’ कथा), आफ्नो स्वेच्छामाथि विश्वास गर्दछ अथवा आफ्नो इच्छामाथि आफ्नो पूर्ण अधिकार जमाउन चाहन्छ ('विज्ञापन’ कथा), आफ्नो कमजोरीबाट पलायन हुने प्रयास गर्छ ('भगुवाहरू’ कथा), आफूले गरेको गल्ती आफैँ अनुभव गरेर भावुक बन्न पुग्दछ ('बहुलाहरू’ कथा) र आफ्नो जिजीविषालाई जति सक्दो लम्ब्याउन चाहन्छ ('बलात्कार’ कथा)। यसको अर्थ के हो भने मान्छे बाधा बन्धनहरूबाट सर्वथा मुक्त भई आफू स्वतन्त्र भएर बाँच्ने उपक्रम गर्दछ । तसर्थ मान्छेले आफ्नो मनको दूरीले राम्रो नराम्रो कुराको निर्णय गर्दछ । 'उमेरहरू’ कथाका यी पङ्क्तिहरू हेरौं :

रात हल्लिरह्यो पात हल्लिरहे । उता भयालमा रात र पातसँगै तिमी हल्लिरह्यौ । अब भने मलाई लाग्दै छ हल्लिनु निको हुँदो रहेछ । तिमी यसरी नै मिठो हल्लिरहन् । मलाई मिठो मन पर्छ ।

आज मलाई कस्तोकस्तो लागिरहेछ तिमी हल्लिदिँदा । तिमी हल्लिएको हेर्दाहेर्दै मेरो कपाल पाकेछ । तिम्रा पनि दाँतहरू झरिसकेछन् । अब भने मलाई तिमी हल्लेको हेर्न निको लाग्दैन । अब तिमी नहल्लिन् है।    म पनि तिमी हल्लेको हेर्दिनँ ।

व्यक्तिनिष्ठ प्रतिक्रिया र दृष्टिको राम्रो प्रस्तुति 'वाहियात’ कथामा छ। कथाकार भोजपुरेले मान्छेभित्रको नितान्त एक्लो ’म’ तङ्खवले कसरी आफ्नै पनि मूल्याङ्कन गर्दा केही कुराको लाज र डर मान्दैन भन्ने कुरो ’वाहियात’ कथामा यसरी व्यक्त गरेका छन् :

म कलम समात्छु व्यावहारिक छैन । म जस्तो 'वाहियात’ का बाबु–बराजुलाई मन परायौ जिन्दगीमा । मैले त्यसै राखेको हो र मेरो उपनाम 'वाहियात’ जिन्दगीमा । वाहियात उपनामबाटै बुझ्नुपर्ने थियो तिमीले म वाहियात छु भनेर ।

म उता भ्यालमा उसलाई नै हेरेर 'वाहियात’ खोज्दै थिएँ, उसले त मलाई हेर्दै धमाधम आफ्नो लुगा पो फुकाल्न थाल्यो । मलाई लाग्यो म साँच्चै नै 'वाहियात’ रहेछु जिन्दगीमा ।

यसरी कथाकार हिरण्य भोजपुरेले मान्छेलाई उसैको मनको दूरीबाट अवलोकन गर्दा देखिने सकारात्मक नकारात्मक रूपको अमूर्त चित्र बनाएका छन् । उनले मान्छेका भावना, संवेदना र अनुभूतिलाई एकीकृत गरेर यस्ता आत्मपरक चित्रहरू कोरेका छन् जसमा हामी आफ्नो भावलोकको प्रतिच्छवि अङ्कित भएको अनुभूत गर्दछौं ।

हिरण्य भोजपुरे मानव जीवनका पीडालाई व्यक्त गर्न सक्ने क्षमता भएका संवेदनशील कथा–स्रष्टा हुन् । उनले 'रोएकी मर्स्याङ्दी’, 'खरानी’, 'फन्को’, 'जुम्राहरू’, 'चमत्कारलाई नमस्कार’, 'भिजाइहरू’ जस्ता कथाहरूमा जीवनका विडम्बना, निराशा, उदासीनता र अर्थहीनतालाई स्पष्ट पार्ने काम गरेका छन् । मानिसका आ–आफ्ना व्यथा र वेदनाहरू हुन्छन् जुन अनुकूल समयको मौकामा आफैँ बाहिर आँसुमा व्यक्त हुने कुरो उनले 'रोएकी मर्स्याङ्दी’ भन्ने कथामा यसरी भनेका छन् :

मैले गीत गाएँ । मैले गीत कसका लागि किन गाएँ, मलाई थाहा छैन । तर पनि गाएँ । गीत गाउनुअघि निर्मली निरपेक्ष थिई । पैसा तिरेर यो बेसुरा गायक मर्स्याङ्दीको स्वरसँगै कुन बेला स्वरहीन भएर मिसिएर जाला जस्तो लागेको थियो होला त्यसलाई । हो, मर्स्याङ्दीको स्वरसँग मिलेपछि कुनै पनि बेसुरा स्वर बेसुरा रहँदैन । तर मैले गाउँदै जाँदा निर्मली स्थिर बनी । त्यसका आँखामा आँसु टिलपिलाए । मर्स्याङ्दीका आँखामा पानी देख्ता मन मिठो भयो। त्यसले तरक्क आँसु काढी । त्यो मलाई झन् मन पर्यो । रेडियो नेपालको भ्वाइस टेस्ट पास गर्न नसकेको स्वरले कसैलाई रुवाइरहेको थियो । त्यो पनि आफैलाई मन पर्ने निर्मलीलाई ।

'खरानी’ कथामा भनिएको छ, “अनि सबै जिउनुहरू खरानी हुनुहरू हुन्, मात्र खरानी ।’’ कथाकार हिरण्य भोजपुरेले मान्छेको बाँच्नुका पीडालाई खरानीको उपमाद्वारा स्पष्ट पारेका छन् । उनी के ठान्दछन् भने मान्छे पीडित बन्छ भोग्न बाध्य विडम्बनाले र सामना गर्नेपर्ने प्रतिकूल परिस्थितिले । उनले यो कुरो 'फन्को’ कथामा यसरी व्यक्त गरेका छन् :

आमा ! तिमीले मलाई जन्म दियौ । तिमीले कुन ठुलो काम गर्यो ? सबै आमाहरूले छोराछोरी जन्माउँछन् नै ।

आमा ! तिमीले मलाई हुर्कायौ, बढायौ । तिमीले कुन ठुलो काम गर्‍यो ? सबै आमाहरूले छोराछोरीलाई हुर्काउनैपर्ने हुन्छ, बढाउनैपर्ने हुन्छ ।

आमा ! तिमीले मलाई पढायौ, बढायौ र चढायौ । तिमीले कुन ठुलो काम गर्‍यो र ! सबै आमाहरू त्यस्ता हुनैपर्छ ।

आफू आएर मेरा छोराछोरीले तिनै कुरा भन्दैछन् । यति बेला आएर म जिल्ल पर्दै छु ।

अभिशप्त जीवनका पीडाहरू यसभन्दा अरू असह्य के हुन सक्तछ ? जीवनमा यस्तै जटिलताको प्रसङ्ग 'चमत्कारलाई नमस्कार’ कथामा निकालिएको छ “हो, खोपा पार्ने जिन्दगी, यदि त्यहाँ बत्ती बाल्न सकिन्छ, भने ओखती राख्न सकिन्छ भने ।’’ कथाकार भोजपुरेले 'भिजाइहरू’ कथामा पनि व्यथित जीवनका वेदनालाई नाटकीय शैलीमा प्रस्तुत गरेका छन् । उनको दृष्टिमा मान्छेले आफ्नो जीवन बाँच्नुको सिलसिलामा दुःखसँग मात्र जुध्दै अगाडि बढ्दछ । मान्छेले जति धेरै जीवन बाँच्दछ, त्यति नै धेरै दुःखसँग सामना गर्नुपर्दछ । यसै कुरालाई उनले प्रतीकात्मक भाषामा यसरी भनेका छन् :

सचिवको जागिर छाडेको दिनदेखि लाग्छ मैले धेरै कुरा गुमाएँ । धेरैजसो गुम्न नहुने कुरा गुमाएँ । तर एउटा कुरो गुमाएकोमा भने मलाई दुःख लागेन । मैले जागिर छाडेको दिनदेखि जुम्राहरू मकहाँ आउन छाडे । उपियाँ उफ्रिदै कहिलेकाहीँ आइपुग्नु बेग्लै कुरा हो ।

'जुम्रा’ र 'उपियाँ’ का प्रसङ्गहरू प्रतीकात्मक हुनु नै लघुकथा हुनुको यस गद्य रचनाको सौन्दर्य हो । जुम्रा र उपियाँ मान्छेलाई टोकेर रगत खाने परजीवी हुन् । यी दुवै जीवको टोकाइ भनेको पीडा हो जीवनमा आफूमाथि बारम्बार आइलाग्ने चिन्ता, दुःख वा वेदना कथाकारले यसै कुरालाई यस लघुकथामा अभिव्यन्जित गरी जीवनलाई निराशावादी दृष्टिले हेरेका छन् ।

मानवीय यौनाचारमा पनि दृष्टि पुर्‍याएका कथाकार हिरण्य भोजपुरले मान्छेका यौनिक क्रियाकलापलाई स्पष्ट रूपमा प्रस्तुत गरेका छन् । उनका 'पात्तिएको बुढो’, 'काम्दै गरेका पाखाहरू’, 'हिर्दोक पारा’, 'बन्द व्यापार’, 'तुयु दाइ’, 'हाँसो’, 'जाँचपास’, 'हंसराज’, 'फोर्स ल्यान्डिङ’ र 'हिरिक्क बन्नेहरू’ कथाहरूमा यौनलाई अत्यन्त नाटकीय विषय बनाइएको छ । विपरीतलिङ्गीप्रति स्वाभाविक रूपमा हुने यौनाकर्षणलाई उनले 'काम्दै गरेका पाखाहरू’ कथामा यसरी प्रस्तुत गरेका छन् :

एकछिनपछि उही भाइटीकाको भाइ आइपुग्यो । उसलाई मैले सबै बेलीविस्तार लगाएँ, अँगालोमा च्याप्प च्यापेर रोइरहें । भाइ भने निर्वन्ध बन्न थाल्यो । ऊ मेरो कपडा उधिन्दै गयो । उसका हातहरूले लाखापाखा भनेनन् । निर्जनताहरू बिउँझन थाले । ऊ धामी बस्यो । मेरा राखापाखाका बोक्सीहरू भकाभक बौरन थाले । मेरो ॅम’ मर्जा जस्तो भयो । उसले मलाई उठायो । म उठिदिएँ । उसले मलाई सुतायो । म सुतिदिएँ ।

कथाकार भोजपुरेले ’हाँसो’ कथामा पनि एक जोडी युवक–युवतीको यौन समागमको एउटा दृश्य यसरी देखाएका छन् :

हिँड्दाहिँड्दै समय भएछ र म साइड लागें। पोथ्रा पछाडि आडमा एक जोडी घम्साघम्सी गर्दै थियो । मेरो अवतरणले पनि ती तर्सिएनन् । लडाइँ लडिरहे । 

चुम्बकका दुई विपरीत ध्रुवहरू आपसमा आकर्षित भएझै पुरुषहरू नारीप्रति आकर्षित हुनु स्वाभाविकै हो । तर त्यसको अन्त्य बेस्वादमा परिणत हुनु पनि अचम्मको कुरो होइन ('हिर्दोक पारा’ कथा) । त्यसैले तरुनी छोरीलाई पसलमा राख्दा ग्राहकहरू (पुरुष ग्राहकहरू) को ओइरो लाग्नु स्वाभाविक हो भने त्यही छोरी पोइल गई भने पसल सुक्नु कुनै अचम्मको कुरो होइन ('बन्द व्यापार’ कथा)। त्यसरी नै एउटी विवाहिता नारी (कसैकी पत्नी) कुनै अर्की विवाहित नारीका पतिको सुन्दरता देखेर मन्त्रमुग्ध हुनु स्वाभाविकै हो भने यथार्थको धरातलमा टेकेपछि भने ती मुग्ध नारीको मोहभङ्ग हुनु अचम्मको कुरो होइन (’हंसराज’ कथा) । कथाकारले मानवीय यौनानुभूतिका मिठा सन्दर्भहरू दिएर यसका मानसिक प्रतिक्रियाहरूसमेत दिएका छन् । यस क्रममा उनले यौन क्रियाकलापका नेपथ्यका अमूर्त दृश्यहरूको समेत अङ्कन यसरी गरेका छन् :

पछाडि केले हो मेरो कम समात्छ । पतिका हातले मेरो जिउ हल्लाएकोमा म भित्रैदेखि हल्लिन्छ । हो, हियारा नै हल्लिन्छ मेरो ।

“हिजोकै समय हो र यो ?“ पतिको प्रश्नले म पछारिन्छु ।

तर उता बच्चा एकतमासले रोइरहेको छ र मलाई लाग्छ, समय सधैं एकतमासको हुँदो रहेनछ । पतिले पनि सायद यस्तै कुरा सोचिरहेका छन् । मेरो जवानी वितिसकेको छैन र मलाई थाहा छ, आफू बुढो भएकोमा पतिले ग्लानि पालिरहेका छन् ।

“म तिमीलाई सन्तुष्टि दिन्छु, आऊ ।’’ पतिले मेरो पाखुरो समातेर ओछ्यानतिर लैजान्छन् । उता बच्चा हुरुक्क हुने गरी रोइरहेको छ । बाबुआमालाई त्यसको वास्ता छैन । भयालको पर्दाले छेकेको पाटोपट्टि भित्र थाहा छैन ती के काममा हिरिक्क हुँदै छन् । यता पनि बुढो हिरिक्क हुँदै छन् र म पनि । ('हिरिक्क हुनेहरू’ कथा)


कथाकार हिरण्य भोजपुरेले ’जाँचपास’ कथामा पनि यौनसम्बन्धी यस्तै नेपथ्यका कुराहरू यसरी गरेका छन् :

आखिर सँगै सुत्ने समय र याम पनि आयो । स्वास्नीले मलाई च्याप्प करेप्ता मेरा करडहरू काक्राककुक्रुक भए । करडले क्याङर्‍याङ र कुङरुङ आवाज निकाले । केही नलागेर मैले मुख फोरें । स्वास्नीलाई मैले मेरा विवशताका बारेमा बेलीविस्तार लगाएं । ऊसित मैले मेरो निस्पन्दताका लागि माफी मागे ।

'स्वास्नीले मलाई झपार्छ’ कान ठाडो पारें ।’ लाई नामर्द भनेर आँखा तर्छ’ म तम्तयार परेर बसें । ’त्यसले चड्कन लाउन पनि बेर छैन’ म जे गरे पनि ॅहस्‌’ को मुद्रामा बसिरहें । तर त्यसले मलाई झन् माया गरी ॅमायाले निकै बेर जिउ सुमसुम्याइरही र भनी ॅत्यो जाबो के हो र ? तिमी भए मलाई पुग्छ, अरू केही चाहिँदैन ।’

स्वास्नीको मायाका त्यति बोलीले म अचम्मसित सन्केछु । जिउ अरद्व भएर आयो । मैले आफूलाई वात्स्यायनको बाबु बनाएछु । अचम्मै भयो। अचम्मलाई सोच्ने समय पनि भएन मसित । त्यो रात मेरो जिन्दगीको सबैभन्दा मिठो रात थियो । अनि म पछि जाँचमा कहिल्यै फेल भइनँ । अब त लाग्छ, कसैले मलाई जाँच लिइदेओस्, म पास हुन्छु । खालि कति भने जाँच लिनेको थुतुनो पनि जाती हुनुपर्दछ ।

कथाकार भोजपुरेले अत्यन्त अन्तरङ्ग कुराहरू माथिका हरफहरूमा गरेका छन् । उनले 'फोर्स ल्यान्डिङ’, 'तुयु दाइ’ र 'पात्तिएको बुढो’ कथाहरूमा पनि यौन प्रतीकहरूको प्रयोग गरेर भित्री कुराहरू बताएका छन् ।

हिरण्य भोजपुरेले “गल्ती गर्नु मान्छेको आफ्नोपन हो’’ (To error is human) भन्ने कथनलाई 'पानी आएन’, 'म भाग्न खोज्दै बैं’, 'पैयाँ’, 'उड्दै गएको आकाश’, 'औडाहा’ जस्ता कथाहरूद्वारा स्पष्ट पारेका छन् । उनले मान्छेभित्रको वर्बरता, रहस्य र विस्मयकारी लक्षणहरूलाई पनि लक्षित गरेर 'पुस्ताहरू’, 'अग्लाई’, 'वीभत्सता’, 'मेरो साने’, 'मान्छेहरू’ जस्ता कथाहरू लेखेका छन् ।

कथा–शिल्पी हिरण्य भोजपुरे व्यङ्ग्य तथा प्रतीकमा पनि अभिरुचि राख्दछन् । मुख्य गरेर कथामा उनले प्रयोग गरेको विवृत रूपविन्यास (Open Texture) अत्यन्त सशक्त छ । आत्माभिव्यक्तिको तीव्रता र गम्भीरताले गर्दा उनको गद्य–शैलीमा काव्यात्मक लय सिर्जना भएको हो, जस्तो :

यहाँ आएपछि म राप बनेर आएँ । ताप होइन सन्ताप बनेर पसें । अन्तरकुन्तर असिनपसिन भए । पसिनाले तरबतर बने । ओहो, ताप आगो बन्यो …. (’मौरी’ कथा)

कहिलेकाहीँ लाग्छ – मान्छे अचम्मको जन्तु हो। उसलाई एउटा सानो ओत भए पुग्नुपर्ने हो, सानो स्रोत भए पुग्नुपर्ने हो । ओतमा ऊ सुत्न सक्छ, स्रोतमा ऊ उठ्न सक्छ ('औडाहा’ कथा) ।

म आँखा चिम्म गर्दछु । फुलेको हंसराजभरि उसको लोग्ने फक्रक्क फक्रिन्छ । म मुग्ध बन्छु फुलेको हंसराज हेर्दै । पत्नी बेपत्ता बन्छे । हंसराजको फूलमा सुन्दरता र सुगन्ध थपिंदै जान्छ । बहाना वहना बन्छ अनि मन ढुङ्गा । हंसराज मनकै गहना बन्छ । (’हंसराज’ कथा)

जीवन र मृत्युको दैत्य दैनन्दिनी त्यहाँ छ । त्यहाँ भएका सयौं किसिमका तत्सम र तद्भवलाई सँगै लिएर हिँड्न ठुलो दुस्साहसिक कर्म पनि हो र पर्वतारोही जस्ता साहसिक संस्कार बोकेर हिँड्ने हिमानी र हिमाद्री अरू हुन सक्दैनन् । (’अग्लाई कथा)

यसरी हेर्दा हिरण्य भोजपुरे लघुकथाका नाममा गद्यमा कविता (एयझ ष्ल एचयकभ) पो लेख्दै छन् कि जस्तो आभास हुन्छ । उनमा ’मौरी’, ’भगुवाहरू’, ’औडाहा’, ’मेरो साने’, ’मान्छेहरू’ लाई कविता नै भनिदिए झुट्टो बोलेको ठहरिंदैन ।

निष्कर्षमा के भन्न सकिन्छ भने हिरण्य भोजपुरे आत्माभिव्यक्तिका सौन्दर्यहरूलाई आत्मसात् गर्ने संवेदनशील कथा प्रतिभा हुन् । उनले आत्मनिष्ठ अनुभूति, भाव र संवेदनालाई आख्यान बनाएका छन् । उनले मानवीय यौनाचारका तरङ्गहरूलाई शब्दमा व्यक्त गरेका छन् ।

............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment