वास्तवमा भन्नुपर्दा म किन लेख्छु ? भन्ने प्रश्न आफैंमा मननयोग्य छ । मान्छे जब यो धर्तीमा आउँछ । त्यसमा माया, प्रेम, क्रोध, घृणा, रिस कल्पनाशक्ति, कला, रुचि, क्षमता यी सबै गुण जन्मजात आउँछन् । कसैमा यो धेरै हुन्छ त कसैमा अलि कम, तर सबैमा यस्ता गुणहरू हुने गर्दछन् । त्यो आफ्नै ठाउँमा छ ।
किन लेख्न मन लाग्छ त ? आहा ! यो प्रश्नको उत्तर चाहिँ जो कोही साहित्यप्रेमी महानुभावहरूलाई दिन अलि कठिन हुन्छ । तर यस किसिमको प्रश्नले मान्छेको मनसपटलमा कुतुहलता मच्चाउँछ । सोच्न बाध्य बनाउँछ, एकछिन मजाले गहन भएर ज्ञानरूपी सागरमा पौडन्छन् । अनि आफैँले मौलिक तवरमा विचारशील भएर जवाफ दिन्छन् । सबैका विचार, भावना लेखनशैलीप्रतिको प्रेम शब्दमार्फत बाहिर निस्कन्छ । वास्तवमा भन्नुपर्दा यो प्रश्न नै मौलिक, सोचयोग्य, हृदयस्पर्शी, कुतुहलताले भरिएको छ, अनि विशेष पनि ।
ममा सानैदेखि निडरता, तर्कसंगतले लेख्ने, बोल्ने क्षमता, सिर्जनशीलता, थियो । सायद त्यसैको प्रतिफल होला, अहिले म फुटकर कविता, लघुकथा, कथा, नियात्रामा कलम चलाएकी छु । मनका भावना, विचारहरू शब्दमार्फत अभिव्यक्त गर्न थाले ।
किन विचारहरू उब्जन्छन् त ? अनि किन कलमको निब एक रफ्तारमा दौडन्छ ? मनमा गुम्सिएका भावनाहरू शब्दमा व्यक्त गर्न पाउँदा आनन्दको अनुभूति हुन्छ ।
भनिन्छ नि कि त पढेर जानिन्छ कि त परेर जानिन्छ । हो, त्यसैगरी मैले पनि आफ्नो जीवनमा जब आमा गुमाए । ममा अनेक किसिमका भावनाहरू उब्जन थाल्यो । जब हदभन्दा बढी पीडा पर्छ नि ! हो, त्यतिबेला त्यो शब्द बनेर बाहिर आउँदो रहेछ । त्यसपछि विस्तारै लेख्न थालेँछु अनि पीडा भुल्न पनि । मैले लेख्ने विषय कुनै वृहत् हुँदैनन् । यी त समाजमा देखेका, भोगेका, सुनेका, विकृति, विसङ्गति, कुरीति, सत्य घटनालाई आधार बनाएर लेख्ने गर्छु, त कतिपय कपोलकल्पित हुने गरेका छन् ।
मनका भावहरू कुनै न कुनै रूपमा बाहिर निस्कन खोज्दो रहेछ । किन लेख्छु ? भन्ने प्रश्नमा म आफ्नो आत्मसन्तुष्टिका लागि लेख्ने गर्छु । न कुनै नाम, दाम र सम्मानको लागि नभएर यो नितान्त आफ्नो खुसी अनि पाठकलाई सन्तुष्टि दिने अभिप्रायले लेख्ने गर्दछु ।
लेख्नु केवल लेखाइ मात्र नभएर घरपरिवार, समाज राष्ट्रमा व्यक्त रहेका वेथिति, विसङ्गतिप्रति प्रश्न गर्नु पनि हो । निदाएकालाई ब्युझाउनु वा देखेर पनि नदेखे जस्तो गर्ने प्रवृतिप्रति गतिलो झापड हो । मौन अभिव्यक्ति भएतापनि समाज राष्ट्रलाई झक्झक्याउने, खबरदारी गर्ने, सचेत बनाउने एवम् चेतना जगाउने कला पनि हो ।
शब्द कम भए पनि भाव गहिरो हुनुपर्छ, जसले पाठकलाई सोच्न वाध्य तुल्याओस् । कुनै साहित्यकारका कृति, लेख पढ्दा लाग्छ कि समग्रमा उसैलाई पढनु, बुझ्नु हो । त्यो कस्तो किसिमको व्यक्ति हो भन्ने कुरा उसका कृति, लेख, रचनाबाट स्पष्ट रूपमा उसको प्रवृति र व्यक्तित्व छुट्याउन सकिन्छ ।
आफूले आफैलाई बुझ्न, समाजलाई स्पष्ट ऐना देखाउन, सरल भाषाशैली प्रयोग गरेर यथार्थता देखाउने प्रयत्न गर्छु । लघुकथामार्फत समकालीन परिवेश, संस्कार, संस्कृति, प्रकृतिलाई पनि विशेष महङ्खव दिने गरेकी छु । अन्त्यमा नाम, दाम, पद, सम्मानका लागि नभएर देश, काल, परिस्थिति अनुसार लेख्दै जान सकूँ । आगामी दिनमा पनि मेरो लेखनीले पाठकलाई सन्तुष्टि दिन सकोस् ।
– गैंडाकोट ४ नवलपुर
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


No comments:
Post a Comment