Friday, November 8, 2024

लघुकथा (अङ्क १७ मा प्रकाशित)

ए ! कता ?

- भिम प्रज्ज्वल
नयाँबस्ती, जोरपाटी 


भगवानपाद । सायद उनलाई आफ्नो नाम प्रति पनि वितृष्णा होला । भगवान त उनको विश्वास बाहिरको कुरा भयो ।

उनी आधुनिक युगका आधुनिक व्यक्ति हुन् । विज्ञानलाई ज्ञानको परिधिभित्र समेटन खोजेका हुन तर वैज्ञानिक चेत विहिन ।

उनी शिक्षक बने । शिक्षकमा ज्ञान र बौद्धिकता, सीप, व्यवहार, अभिवृद्धि, प्रयोग लगायतका गुण जरुरी मान्ने गर्छन् ।

यो केलाएर हेर्नुपर्ने अवस्था बनेकोमा अज्ञात रहेका छन उनी । परिस्थितिसँग खेल्न भने माहिर । मौकामा प्रधानाध्यापक बन्न पाए । अब उनको परीक्षा सुरु भयो ।

एक दुई महिना ठिक ठिकै चल्यो । बिस्तारै खटपट सुरु भयो । शिक्षकबाट प्रधानाध्यापक जो भएका थिए । शिक्षकहरु, विद्यार्थीहरु, अभिभावकहरु अपहेलित हुँदै गए । काममा नैराश्यता आए पनि स्थगन भएको थिएन ।

नयाँ योजना बने । वार्षिक कार्यतालिका बनाए शिक्षकहरुले । भगवानपादले ठिक छ भनेर हस्ताक्षर गरे । शिक्षकहरुले मन मैलो बनाएकोमा माफी मागे । सबैले आ—आफ्नो जिम्मेवारी लिए । विद्यार्थीहरुको भर्ना दर घट्यो । शिक्षकको दरबन्दी कट्यो । छोएन भगवानपादलाई । एक दिन कार्यतालिकामा बिदा भएको दिनमा विद्यालय सञ्चालन गर्ने उर्दी जारी गरे ।

उनको मस्तिष्कमा नकरात्मकताले जरा गाड्न थालेको प्रतीत हुन्थ्यो । शिक्षकहरु अनुपस्थित हुनेकुराको हेक्का हुँदाहुँदै उनले वास्ता गरेनन् । भोलिपल्ट व्यवस्थापन समितिको बैठक बस्यो । अभिभावकको रोहवरमा त्रिपक्षीय बैठक बस्ने र विद्यालयमा यस्ता क्रियाकलाप नदोहोर्‍याउने निणर्य भयो । शिक्षकहरु विद्यालयको हितमा काम गर्न पछि हटने कुरा भएन ।

अभिभावक भेला एकताको लागि आयोजना गरिएको थियो । शिक्षकहरु तथा प्रधानाध्यापकमा एकता भए मात्र विद्यालयको दैनिक कार्यव्यबहार राम्रो हुन जान्थ्यो । सबै जनाले कुरा राखे । विचारको साटासाट भयो । सतहमा आएका विवाद सामाधानको बाटो निस्कियो । सबैजना एक भए । विद्यालयको स्तर सुधार गर्ने, विद्यार्थीको सिकाइ उपलब्धिको स्तर बढाउने । राम्रो शैक्षिक वातावरण तयार गर्ने ।

भगवानपाद बैठकको माइन्युट लेख्दै थिए । सबैको बोल्ने पालो पश्चात उनले तेस्रो भाषण सुरु गरे । पहिलो सुरुवातमा, दोस्रो थप कुरा प्रष्ट पार्न र अन्तिममा निणर्य सुनाउन । सबैबाट भुल भएको सुधार गर्ने र फेरी यस्तै

गल्ती नदोहोर्‍याउने । ताली बज्यो । अभिभावकमा कुनै प्रतिक्रिया देखिएन । शिक्षकहरु खुसी हुन खोज्दै थिए तर रोकिए । भगवानपाद निणर्य सुनाउँदै थिए, ॅॅस्कुलमा प्रष्ट दुई गुटमा एकता गर्नु पर्ने देखियो — एक शिक्षकहरुको

गुट, अर्को प्रधानाध्यापकको एक्लो गुट ।’’ बैठक सकियो । शिक्षकहरु बाहिर निस्किँदै भन्न भ्याए,  "ए ! कता ?"


.‍..‍.साथ सहयोगको खाँचो

No comments:

Post a Comment