"विजय ! हेड सर आउनु भएको छैन अझै ?" – अर्जुनले सोधे ।
“अझै फर्किनु भएको छैन, मलाई आउन ढिला भैहाल्यो भने उतैबाट जान्छु भनेर फोन आएको थियो उहाँको ।’’ – विजयले बतायो ।
“बिहानैदेखि घर–घर हिंड्दा थकाई लाग्यो ।’’ – अर्जुनले अफिसमा बस्दै भने ।
“सबैका घरघरै पुग्नु भयो त हजुर एक्लै ?’’ – विजयले सोध्यो ।
“म मात्र होइन दुइटी म्याडमहरू पनि सँगै गएका थियौँ । दुईटा ग्रुप बनाएर एउटाको अगुवा हेड सर एउटाको म थियौँ ।’’ – अर्जुनले जानकारी गराए ।
विजयले स्टाफको काम गर्दथ्यो र अफिसमा कम्पुटरमा पनि अपरेटर नहुँदा उसैले समाल्दथ्यो । ऊ लामो समयदेखि यही स्कूलमा काम गरेको इमान्दार पढेलेखेको र सबै जानकारी राख्ने कर्मचारी मध्येको हो ।
अर्जुन यो गाउँमा आएको धेरै भएको थिएन । नजीकैको सहरमा डेरा लिएर बसेको थियो ।
“हेड सर न फर्किने भए त म पनि जान्छु साँझको पाँच बज्न आँट्यो ।’’
– अर्जुनले बिदा लिन खोज्यो ।
“हस् सर जानुहोस् अब हेड सर फर्किनु हुँदैन म पनि स्कुलमा ताला लगाएर जान्छु ।’’
– विजयले पनि अर्जुनको समर्थन् गर्दै भन्यो ।
दुवैजनाले स्कूलबाट छुट्टाछुट्टै दिशातिर हिंडे । अर्जुन यताउता नियाल्यो र अलिपर एउटा होटेलमा पस्यो ।
“साहुजी एउटा अधिया खाउन ।’’ – अर्जुनले कुर्चीमा बस्दै अर्डर दियो ।
“लिनुहोस् सर !’’ – एउटा गिलास र अधिया टेबुलमा राख्यो र अर्जुनतिर हेर्दै मुसुमुसु हाँसिरहेको थियो ।
त्यो देखेर अर्जुन झसङ्ग भयो । त्यो उही व्यक्ति थियो जसले बिहान नशामुक्ति अभियान सम्बन्धी बैठकको अध्यक्षता गरेको थियो ।
- दाङ घोराही १८


No comments:
Post a Comment