"ए बाबा ! यो पुरानो झोला किन अझै पनि राख्नु भएको ?” त्यो च्यातिएको र माटोको गन्ध लागेको झोलातिर हेर्दै छोरो मनिषले सोध्यो ।
– बाबुले मुस्कुराउँदै भने, “यो झोलामा मेरो आधा जीवन छ, छोरा ।”
– “जीवन झोलामा ?” मनिष हाँस्यो, “बाबा, अहिले त सबै कुरा मोबाइलमा हुन्छ, कागज, पत्र, फोटो सब डिजिटल ।”
– बाबाको अनुहारमा सम्झनाको बादल मडारियो – “त्यो झोलामा मेरो पहिलो नियुक्ति पत्र छ, तिम्रो जन्मको खबर आएको पत्र छ, आमाको अन्तिम सम्झना छ छोरा ।”
– मनिष फेरि केहीबेर मौन रह्यो – “तर बा, अब त तपाईंलाई यी पुराना कुरा बोक्नु पर्दैन नि ।”
– बाबा हाँसे, “तिमीहरूले भन्ने कुरा यही हो पुराना मान्छे, पुराना मूल्यहरू, पुराना कुरा … सबै फाल्नुपर्छ भनेर । त्यो झोला म फाल्दिन, छोरा ।”
– “किन बाबा ?”
– लामो सास फेर्दै बाबा बोल्नुभयो, “किनभने म आफैँ पनि अब त्यसैसँग फालिने पुरानो झोला बन्दै छु ।”
– मनिषको नजर झोलाबाट बाबातिर र बाबाबाट झोलातिर गएर रोकियो । मनिषलाई लाग्यो, झोलामा माटोको गन्ध होइन, मनको न्यानोपन पो बाँकी रहेछ ।
– मनिषले भन्यो, ”बाबा ! ‘झोला’ त केवल वस्तु होइन, हजुर स्वयंको जीवन रहेछ है !”
- कमलविनायक, भक्तपुर


No comments:
Post a Comment