Pages

Friday, December 5, 2025

भागीरथी ज्ञवालीका दुई कविता


 रफ्तार

हो तिमीलाई हतार छ, गतिशील बन्ने नौलो रफ्तार छ, बेफुर्सद र ब्यस्त कार्यक्रमको जञ्जाल छ सक्षम सहकर्मीहरुको गतिलो संजाल छ ।
हो तिमी यसरी नै गतिशील बनिरहनु म आशाको भावले पर्खेर हेरिरहन्छु, तिमी अघि बढ सद्भावको हात बेरिरहन्छु तिमी उन्नतिको शिखर चढ्नु उत्साहको बल जेलिरहन्छु ।
हो तिमी बेफुर्सदी छौँ, म चाहान्छु तिमी यसरी नै ब्यस्त बनिरहनु लक्ष्यमा पुग्ने गोरेटो मस्त खनिरहनु, सपना सजाउने काममा दुरुस्त बनिरहनु कर्तव्य र जिम्मेवारीका तारतम्य बुनिरहनु ।
हो तिमीले मिल्काएर फाल्नु पर्छ , बेथिति र कु-संस्कारको कालो जालो, भ्रष्टाचार र अनियमितताको चलन निरालो, चाकरी चाप्लुसी र हुकुमी शैलीको बियालो ।
हो तिमीले नथाकी चढ्नु पर्छ नविन सभ्यताको उकालो, साम्य पारी पुर्नु पर्छ पुरातन र वर्तमानको भंगालो बलियो गाँस्नु पर्छ विकास र समृद्धिको अँगालो, तिमीले बन्नुपर्छ इतिहास र नव प्रवर्तनको सँगालो ।
हो तिमीले बन्नुपर्छ, तिमीले बन्नुपर्छ करोडौ जनताको दरिलो भरोसा पूरा गर्नु पर्छ आम जनताका सुशासनका आशा, बाँड्न सक्नु पर्छ शान्ति र सम्बृद्धिका दीलासा अनि सुनौलो भविष्यका रङ्गीन अभिलाषा ।
हो तिमी रफ्तारमा अघि बढ, ज्योतिपुञ्ज बनेर प्रकाश छर्नु पर्छ विश्वासको धरोहर बनेर कर्म गर्नु पर्छ, घाइते पीडितका घाउमा मलम छर्नु पर्छ, सहिदका सपनाका पूरा गर्न सत्कर्म गर्नु पर्छ ।

विभेद 

पुरियो भन्थे मनको घाउ बल्झियो कसरी ?
मायाको मीठो सम्झनी आयो अल्झियो जसरी । 
तिमीलाई भेट्दा विगत फर्कि ऐना झैँ झल्कियो
भतभती पोल्यो यो मुटु चिरा परेझैँ चर्कियो
के भनौं हेर मुटुमा चिरा परे झैं चर्चरी
दुखेको मुटु ढक्क भै फुल्यो सहनु कसरी ?
 
तिमीलाई मैले मनले रोजे देखिन क्यै पनि
सजाई राखे यो मन भित्र मोती हो लौ भनी
हेरिन मैले न जात भात हेरिन समाज
विभेद रै'छ कति पो सारो  बुझे नि लौ आज ।
 
डढेलो  जस्तो  यो प्रेम भाव सल्किन्छ यसरी 
झरिले अलि निभेझैँ गर्छ रन्किन्छ बेसरी 
बिर्सुला भन्छु फन्किन्छ नयाँ फन्को नै मारेर 
सम्झना अझै झन ताजा हुन्छन् झल्झली पारेर 
 
राखेको मनको मन्दिर भित्र देवी झैँ पुजेर
परको कुरा जात र भात नसोधी ढोगेर
धर्मको बात के हो यो जात  खै मैले जानिन
लगाई दियो जातको छेक तिमी र हामीमा ।
 
मनको बह आँसुको भेल कसरी बगेछ
सुस्केरा हाली लुकाए भन्थे लौ फेरि झरेछ
हुँदैन निको यो घाउ फेरि बल्झि नै रहन्छ 
पुरानो घाउ कमलो मुटु कसरी सहन्छ ?

हुन्थ्यो कि जाति आँसुका मूल फुतेर गैदिए
टलपल गर्ने मनका लहड बलिया भैदिए
साचौला खुशी यो जन्म तिम्रै नाममा अर्पेर
के गर्नु एक्लै  यो जिन्दगानी ब्यर्थैमा खर्चेर ।

रगत रातो न्यायको बाटो सबै हो समान
के फरक छ  र? मानव चोला प्रेमका अमा
नगरे हुन्न छुवा र छूत  जातको बिभेद
मानव धर्म यही हो बाँधौ प्रेमले उनेर ।

- सुकेधारा, काठमाडौँ

.............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment