"कति मीठो धूपको मगमग बास्ना कताबाट आयो ?’’ चारैतिर नजर फ्याल्दै मैले आफैसँग प्रश्न गरेँ ।
साँझपखको समय थियो । म छतमा टहलिरएको थिएँ । मेरो नजर पल्लो घरको छिमेकी बहिनी सीतामा अड्कियो । उनी तुलसी मोठको नजिकै राखिएको एउटा फ्रेमको आरती गर्दै थिइन् ।
सोधेँ, 'बहिनी आज किन धूपबत्ती गर्दैछ्यौ ?’’
उनले अलि ठूस्स परेर भनिन्, 'मरेकी सासूको यो फोटोमा अबदेखि सधैँ बिहान बेलका धूपबाती गर्नु रे !’’
मैले जिज्ञासा राखेँ, 'पहिले त कहिले गरिनौ । तिम्री सासू मरेको ३ वर्ष भएपछि यस्तो गर्न कसले भन्यो ?’’
सायद उनलाई मैले उनको घरको खोजिनीति गरेको मन परेन हो कि, किन हो ? उनी नबोली कोठामा छिरिन् । म भने विगतमा हराउन पुगेँ ।
सुवेदारनी जीवनको अन्तिम अवस्थामा थिइन् । हिँड्डूल गर्न नसक्ने भएकी थिइन् । एक त उमेरले ८४ पुगेकी उसमाथि रोगले च्यापेको थियो । केही गाह्रो साह्रो पर्दा ओछ्यानबाटै छोरा बुहारी गुहार्थिन् तर उनीहरू आमाप्रति गैर–जिम्मेवार थिए । उनी भोक र रोगले छटपटाएको धेरैपटक मैले देखेको थिएँ । नजिक गएर केही सोध्दैनथे । उनी एक्लै बर्बराउथिन् । एक्लै रून्थिन् ।
मलाई लाग्यो, 'बाँचुञ्जेल वास्ता नगर्नेले अब मरेपछि किन यो नाटक गर्नु परेछ ?’’
- तीनकुने, काठमाडौँ


No comments:
Post a Comment