Tuesday, January 2, 2024

लघुकथा संसार मासिक अङ्क ८ (सम्पादकीय)

रोजगारी : सपनाको अवसान

आजभोलि वैदेशिक रोजगारीमा जाने नेपालीहरुको लर्को निकै ठूलो देखिन्छ । स्वदेशमा रोजगारी नपाएपछि विदेश पलायन हुन बाध्य भएका छन् । भनौं त देशको अर्थतन्त्र विप्रेषणले धानिएको छ । यसले गर्दा हरेक दिन एयरपोर्टमा बिदाइ गर्न जानेहरुको रुवाइले कसको मन भारी हुँदैन होला !

यिनै परिस्थितिले देशको हरेक क्षेत्रमा प्रभावित पारेको छ । एक त सामाजिक, राजनीतिक र पारिवारिक अवस्था नाजुक भएका छन् । यसले भविष्यमा पार्ने असर निकै गम्भीर देखिन्छ । जीवन धान्नका लागि पनि जुनसुकै मुलुक जान तयार भएका छन् । स्वदेशमा उत्पादन क्रमशः घट्दै गइरहेकाले आज हरेक वस्तुमाथि अर्काको भर पर्नुपर्ने अवस्था आइरहेको छ ।

वैदेशिक रोजगारीमा जाने युवा जनशक्तिहरु त्यहाँको वातावरणसित घुलमिल हुन समय लाग्दछ । त्यसबारे जानकारी नहुँदा असामयिक निधन भएका घटना बाहिर आएका छन् । हरेक बेरोजगारी युवाहरु भविष्यको चिन्ता गर्छन् तर यहाँ कतिको सम्भावना छ, त्यतातिर ध्यान दिदैँन ।

विदेशमा मानौं नोट फल्ने रुख छ जहाँ सजिलै टिप्न पाइने ठान्छन् । हुन त त्यहाँ गरिने मेहनत यहाँ गरेको भए सुनमा सुगन्ध हुन्थ्यो । यहाँ काम गर्दा लाज लाग्ने हुन्छ तर त्यहाँ जुनसुकै काम गर्दा इज्जत बढेको महसुस गर्छन् ।

वास्तवमा श्रम र सीपको ठूलो महत्व छ । यसर्थ काम ठूलो र सानो भन्ने हुँदैनन् । कामले जीवनलाई सरल र सहज बनाइदिन्छ र आर्थिक पक्ष बलियो भएपछि देशको स्तर पनि माथि उठ्छ । जबसम्म सोचमा परिवर्तन आउँदैन । हामी मृगतृष्णामा दौडिरहन्छौ ।

अन्तमा लघुकथा संसारलाई प्राप्त हुने प्रायःजसो सिर्जनाहरु यिनै विषयवस्तुसित मिल्दोजुल्दो देखिन्छ । हाम्रा कतिपय सपनाहरु आज अवसान भइराखेका छन् । जुन सपनाहरु पूरा हुने हो कि होइन त्यो पनि अब भन्न गाह्रो छ ।

 अङ्क ८ पढ्न र डाउनलोड गर्नका लागि

No comments:

Post a Comment