Sunday, January 7, 2024

लघुकथा (अङ्क ८ मा प्रकाशित)

भोक

-योग भैरव 


"माई ! बड भुख लागल अछि । किछ त खाइला दे न ।’’ थकित थकित र निदाउरो अनुहार लगाएर आमासँग भनेकी थिई अन्नपूणर् महराले ।

“बाप भैर दिनक कमाइ दारुमे उडवैय, हम असगर दोसरके घरमे भडिया मोईस के कौना पेट भरी सब के ?’’ अलिक झिजो मान्दै छोरीको मुखै नहेरी भुतभुताई मङ्ली महरा ।

नाम अन्नपूणर् भएपनि भोकाएको पेट आमाको विवश मायाले नभरेपछि घरको करेसामा भएको लहरामा झुन्डिएको एउटा बोडी टिपेर चपाउँदै सधैं बाख्रा चराउने खोलातिर लागी ऊ । कर्वाचौथको दिन भएकोले खोलामा नुहाएर पूजा गरी फर्केका राता पहेँला सारी र टीकामा सजिएका महिलाहरूको हसिलो मुख हेर्दै अगाडि बढेकी अन्नपूणर्ले पानीको छेउका पुगेर उनीहरूले पूजा गरेका ठाउँमा केराका कोसा र दुईचार रुपैयाँका ढ्याक पनि चढाएका रहेछन् । ऊ त्यसकै छेउमा बसी र बाटो लागिसकेका महिलाहरूतिर हेरी । उनीहरू त्यौहारको गीत गाउँदै निकै अगाडि बढिसकेका थिए ।

अन्नपूणर्ेले फर्केर फेरि पूजा गरेको ठाउँमा हेरी । अब उसको पेटको भोक शान्त हुँदै आयो र अनुहारको विषाद पनि हराउँदै गयो; तर त्यसैबेला एउटा बादलको टाटोले घामलाई छेकी दिएकोले कालो छायाँमा अन्नपूणर् छोपिई ।

No comments:

Post a Comment