Wednesday, April 17, 2024

लघुकथा (अङ्क ११ मा प्रकाशित)

टुहुरो 

- दिव्य गिरी
महालक्ष्मीनगरपालिका टीकाथली, ललितपुर  


कलेजबाट छुट्टिएको झन्डै पच्चीस वर्षपछि विक्रम र राजदीपको भेट भयो । अप्रत्याशित भेट हुँदा दुवै जना अत्यन्त खुसी भए । आधाभन्दा बढी कपाल सेतो भइसकेका एकले अर्काको अनुहारमा हेरे र दुवै मुसुक्क हाँसे । कलेजमा पनि उनीहरूको प्रगाढ मित्रता थियो । 

‘अहो ! यतिका वर्षपछि भेट हुन लेख्या र’छ, के छ हालखबर ?’ विक्रमले राजदीपको दाहिने हात आफ्ना दुवै हत्केलाको बीचमा च्याप्दै सोध्यो ।

‘अहिलेसम्म ठिकै छु । जागिरबाट अवकाश भएको दुई वर्ष भइसक्यो । अमेरिका गएको थिएँ । फर्केको पनि छ महिना भयो । छोरा-बुहारी र छोरी-ज्वाइँ पनि उतै छन् ।’ राजदीपले अलिअलि मुस्काउँदै भन्यो ।

‘ए, राम्रै भएछ । घरमा अरू छोरा-छोरी छन् कि, ती दुवै जना मात्र हुन् ?’

‘सन्तान धेरै जन्माउने त्यो जमाना अब गइसक्यो नि । दुईजना मात्र थिए तीपनि विदेश गइहाले । यहाँ बस्ने वातावरण पनि भएन, बस भनेर कर गर्न पनि सकिएन ।’ राजदीपले मन खिन्न पार्दै भन्यो । 

‘मेरो पनि त्यस्तै त हो । छोरी अष्ट्रेलियामा छ छोरा अमेरिकामा । उहिले बाबु-आमा नहुनेलाई टुहुरो भन्थे अहिले छोरा-छोरी साथमा नहुँदा बाबु-आमा आफै पो टुहुरो हुनुपरेको छ ।’


..साथ सहयोगको खाँचो

No comments:

Post a Comment