Friday, August 16, 2024

शिवप्रसाद भट्टराईका तीन कविता

गरौं शङ्खघोष

न न्याय प्रेमी न त जाति प्रेमी
न राष्ट्र प्रेमी न समाजसेवी
स्व-स्वार्थ प्रेमी अनि कुर्सी प्रेमी
नेता बनेछन् परचक्री प्रेमी ।

सत्ता बन्यो केवल नग्न-नृत्य
नेता बने केवल द्रव्य-भृत्य
नेपाल यो सुन्दर देश हाम्रो
पारे यिनैले अति नै विचित्र ।

नाच्छन् प्रणेता अनि चाटुकारी
लुच्चा-फटाहाहरु नै सँगाली
नेताहरुकै भरिए भकारी
जताततै छन् यिनकै मदारी ।

विदेशीको चङ्गुलमा फसेर
स्व-देश चिन्ता सब नै भुलेर
शक्ति बन्यो केवल ध्वंसचक्र
पुग्यो कता खै अब लोकतन्त्र ? ।

स्वतन्त्रताको गुनिलो बिहानी
यो देशकै आँगनलाई छाडी
लुक्यो कहाँ त्यो किन देखिँदैन ?
कतै पनि खै किन भेटिँदैन ? ।

स्वायत्तता नै हरियो सदैव
कुर्सी बन्यो केवल मित्र-भेद
कुमार्गी नेताहरुका विरुद्ध
गरौं त्यसैले अब शङ्खघोष ।। 

**********

छर्दैछ संचेतना 

भोको पेट लिएर हिँड्छ भरिया यो भव्य संसारमा ।
मान्छे हुन्न अशिष्ट बुझ्छ तर ऊ पाउँदैन सङ्गारमा ।
मान्छे केवल हो शरीर-पुतली ! सोची सधैँ थाक्दछ ।
मान्छेभित्र ऊ खोज्छ ईश्वर सधैँ मान्छेसितै भाग्दछ ।

मान्छेबाट कता गयो ? किन गयो त्यो मानवी उच्चता ! ।
आफैमा किन त्याग्न खोज्छ अब ऊ नाघेर त्यो शिष्टता ! ।
मान्छे मुक्त भएर हिँड्छ किन त्यो छाडेर अन्तस्तल ! ।
खोज्छु सुख्ख भनेर आज किन ऊ त्याग्दैछ जन्मस्थल ! ।

मान्छे मात्र विशाल भीड-समूह होइन पक्कै पनि ।
भन्दैछ भरिया प्रबुद्ध-जनमा सोद्धैछ ऊ यो पनि ।
ए मान्छे ! तिमी सर्वश्रेष्ठ हुनुको के हो यही लक्षण ! ।
होइन यदि लौ भने तिमी बढे सत्मार्गमा यै क्षण ।

फालौँ जे-जति वैमनश्यती सबै गाँसी सही एकता ।
त्यागौँ दुर्बल शक्ति भन्दछ सधैँ साँचेर तेजस्विता ।
छर्दै शान्ति सबै सधैँ अघि बढौँ लौ बुद्ध-सत्मार्गमा ।
आफैभित्र छ शक्ति सञ्चय गरौँ यो देश सम्मानमा ।

मान्छे होइन अस्थिपञ्जर भनी गर्दैछ ऊ गर्जना ।
मान्छे नै यदि हौ भने तिमी छर निश्वार्थ संवेदना ।
त्याग्दैन ऊ कवै डुबेर दुःखमा स्व-मानवी चेतना ।
दुःखी ज्यान घिसारी ऊ दिनदिनै छर्दैछ संचेतना ।

**************

‘स्व’को नै गरुँ चिन्तन  


प्रभु को हो ? ममाको छ ? को हो ? शरीरको रथी ।
सुख-आनन्द केमा छ ? रहस्य यसको बुझी ।
त्यागी बहिर्मुखी वृत्तिचिन्तना ब्रह्मकै गरी
सोची, सम्झी, बुझी, जानी पारौँ सफल यो जुनी ।

पापकर्म सबै त्यागी सत्व-बुद्धि सधैँ गरी ।
विषय-भोगको इच्छा आदिबाट परै रही ।
अनित्य-वस्तु त्यागेर नित्यकै चिन्तना गरुँ ।
लिऊँ नित्य यही सोच पञ्चकोष परै रही ।

संसारका सबै प्राणी लिप्त छन् सुख-खोजमै ।
यसकै प्राप्तिका लागि भौँतारिँदै छ भोगमै ।
नगरी आत्म साक्षात्कार हुन्न आनन्दबोध नै ।
आफैभित्र छ त्यो सुख्ख तर चिन्दैन स्वत्व नै ।

संसारी वासना त्यागी आसक्तिबाट दूर भै ।
मनभन्दा सधैँ माथि पुगेर चित्त-शुद्ध भै ।
ब्रह्मबोध सधैँ गर्न हुनु पर्दछ तत्पर ।
सदैव भज्नु नै पर्छ परमात्मा निरन्तर ।

चार साधनमा ध्यान दिनु पर्दछ नित्य नै ।
यसैको ध्यानमा बस्दा बाहिरी वृत्ति पस्छ नै ।
त्यो वृत्ति आउँछ-जान्छ वास्ता गर्नु हुँदैन है ।
द्वैतभाव नराखेर ब्रह्मभाव सँगाल्नु है ।

आत्माकर्ता हुँदै होइन चैतन्य साक्षी रुप हो ।
कर्म-कर्ता यही ठान्नु अज्ञान हो र भूल हो ।
आत्मा नै गुरु हो हाम्रो आत्मा नै विश्व-मूल हो ।
नमर्ने यो नमार्ने यो चैतन्य-ब्रह्म रुप हो ।

देह इन्द्रिय हो जानी आत्मामै जोडिएपछि ।
अन्तःस्करण माझेर शुद्ध ज्ञान लिएपछि ।
जगत् सद्गुण वृत्ति हो भनी राम्रै बुझेपछि ।
निर्गुण ज्ञान पाइन्छ ‘स्व’ भित्र नै पसेपछि ।

पृथ्वी, आकाश, पाताल ‘स्व ’भित्र नै अडेको छ ।
हाम्रो शरीरभित्रै यो ‘स्व’ साक्षी भै बसेको छ ।
विश्व-ब्रह्माण्डभित्रै यो ‘स्व’ नै सर्वत्र व्याप्त छ ।
स्व-रुप सत्य हो हाम्रो ‘स्व’को नै भक्ति गर्नु छ ।

कल्याण प्राप्तिको लागि आत्म तत्व महान छ ।
छ अमृत यसैमा नै अरु के खोज्नुपर्छ र ! ।
जन्म-मृत्यु दुवैको नै गरी लौ नित्य-मन्थन ।
‘स्व’ नै सर्वश्व हो हाम्रो ‘स्व’को नै गरुँ चिन्तन ।

**************

..साथ सहयोगको खाँचो

No comments:

Post a Comment