बालकथाको परिचय
बालबालिकाका लागि लेखिएका कथालाई बालकथा भनिन्छ । पाण्डे (२०७६) का अनुसार बालबालिकाले पढ्न सक्ने, बुझ्न सक्ने गरी उनीहरूको स्तरअनुरूपका भाव र विचारका साथ सरल, सहज भाषाशैलीमा लेखिएको रचनालाई बालकथा भनिन्छ । उनका अनुसार बालकथा बालबालिकाकै लागि हुनुपर्छ । पढ्न नसक्नेका लागि सुनाउने बालकथा, पढ्न सक्नेका लागि पढ्ने बालकथा । अर्को शब्दमा बालबालिकाको उमेर, रुचि, एवम् बौद्धिकतालाई मध्यनजर गरी सरल भाषाशैलीद्वारा लेखिएका कथात्मक रचनालाई बालकथा भनिन्छ । बाल कथाहरू कथावस्तु, पात्र, परिवेश तथा भाषाशैलीगत प्रस्तुतिका दृष्टिकोणले पठनीय, मननीय, मनोरञ्जनीय तथा बालोपयोगी हुन्छन् । अधिकारी (सन् २००७) का अनुसार बालकथा नेपाली बालसाहित्यको बालआख्यान विधाको एउटा अत्यन्त लोकप्रिय उपविधा हो । बालबालिकाहरूको मन सजिलैसित आकर्षित गरी उनीहरूलाई मनोरञ्जनात्मक ढङ्गमा नै आवश्यक ज्ञानको बोध गराउन सक्षम बालकथा नेपाली बालसाहित्यको फाँटमा अरू विधाका तुलनामा निकै उर्वर पनि रहेको पाइन्छ । श्रेष्ठ (२०७०) का अनुसार बालकथाको जननीका रूपमा लोककथालाई लिन सकिन्छ । बालकथाका प्राचीन रूपका रूपमा बाल लोककथा र गाउँखाने कथालाई लिने गरिन्छ । बालबालिकालाई सुनाइने लोक प्रचलनमा रहेका तथा श्रुति परम्परामा आधारित कथाहरूलाई बाल लोककथा भनिन्छ । यस्ता कथाहरू बालबालिकालाई फकाउन, भुलाउन, पुलपुल्याउन, हँसाउन, अभिभावकहरूले सुनाउने गर्छन् । यस्ता कथालाई एकादेशमा एउटा . . . बाट सुरु गरेर सुन्नेलाई सुनको माला, भन्नेलाई फूलको माला, यो कथा वैकुण्ठमा जाला भन्ने कथनमा पुर्याई टुङ्ग्याइन्छ । यस्ता कथामा मानवीय तथा मानवेत्तर दुबै प्रकृतिका पात्रहरू प्रयोग गरिएका हुन्छन् । त्यस्ता पात्रहरू लौकिक तथा अलौकिक हुन सक्छन् । समस्याका रूपमा एउटा प्रश्न दिई त्यसको गहिरो अर्थ खोज्न लगाउने गरी एकअर्कामा सुनाइने प्रकृतिका कथनयुक्त कथाहरूलाई गाउँ खाने कथा भनिन्छ । यस्ता कथाहरूले बालबालिकामा सोच्ने, चिन्तन गर्ने तथा मौलिक तर्क दिने क्षमताको विकास गर्न मद्दत गर्छन् । वर्तमान सन्दर्भमा बालकथाहरू परम्परामा प्रचलित कथाको पुनर्कथनका रूपमा, अन्य भाषामा लेखिएका कथाको अनुवादका रूपमा र सर्जकद्वारा रचना गरिएका मौलिक कथाका रूपमा देखा परेको पाइन्छ ।
बालकथाको विकास
बालकथाको विकास बालसाहित्यको विकाससँगै भएको मानिन्छ । यद्यपि यसको विकास कहिले र कुन रचनाबाट प्रारम्भ भयो भन्ने बारेमा भने नै धारणा रहको पाइन्छ । विद्वान्हरूका आआ प्रधान (२०६९) का अनुसार नेपाली बालकथाको विकासक्रमलाई हेर्दा गङगाधर शास्त्रीको ‘गोर्खा पैह्ला किताब’ (१९४९) मा केटाकेटीका लागि लेखिएका केही नीतिकथाहरू र उनकै ‘सर्वसङ्ग्रह’ (१९५३) मा चुट्कुलाका रूपमा रहेका विश्वास, नरकजा, सुँगुर, बाठो उल्लुजस्ता ससाना कथाहरू रहेको अनुसन्धाता शरद्चन्द्र शर्मा भट्टराईले चर्चा गरेका छन् । पराजुली (२०६८) का अनुसार नेपाली बालकथाको विकासक्रमलाई दुई कालमा वर्गीकरण गर्न सकिन्छ :
१. प्रथम चरण वा आरम्भ काल (बालबालिकाका निम्ति पाठ्यसामग्री उपलब्ध गराइएको समय) : २०५८ देखि २००७ सालसम्म
२. द्वितीय चरण वा बालकथाको निर्माण काल : २००७ सालदेखि हालसम्म ।
घिमिरे (२०७४) का अनुसार करिब सवा सय वर्ष लामो नेपाली बालकथाको विकास यात्रालाई दशकहरूमा विभाजित गरी अध्ययन गर्नु उपयुक्त हुन्छ । उनका अनुसार नेपाली बालकथाको विकासक्रमलाई निम्नानुसार वर्गीकरण गर्न सकिन्छ :
(क) प्रारम्भ र २००० सालपूर्वको दशक यस समयको आरम्भ वि. सं. १९४९ सालमा प्रकाशित गङ्गाधर शास्त्रीको गोर्खा ‘पैह्लो किताब’ बाट भएको देखिन्छ ।
(ख) २००० देखि २०१० को दशक यस दशकको आरम्भ वि. सं. २००३ मा प्रकाशित ललित जङ्ग सिजापतीको दन्त्यकथामाला (२००३) बाट भएको देखिन्छ ।
(ग) २०२० को दशक यस दशकको आरम्भ बालपुस्तक नेपाल नामक संस्थाको स्थापनासँगै भएको देखिन्छ । यस संस्थाले आमाको खोजीमा फूल (२०२५), अनान्सी (२०२६) जस्ता बालकथासङ्ग्रहहरू दसौं हजारको सङ्ख्यामा पकाशित गरेको पाइन्छ ।
(घ) २०३० को दशक यस दशकको आरम्भ परशु प्रधानको घाम छायाँ र सुन्नेलाई सुनको माला तथा कृष्णप्रसाद पराजुलीको लुकामारी, विश्वम्भर चञ्चलको पञ्चैबाजा जस्ता पुनकर्थित बालकथाबाट भएको मानिन्छ ।
(ङ) २०४० को दशक यस दशकको प्रारम्भ देवीप्रसाद वनवासीको फूलपाती (२०४०), चुभुरचुभुर (२०४२) बाट भएको मानिन्छ ।
(च) २०५० को दशक यस दशकको आरम्भ ध्रुव घिमिरेको जीत कसको हुँदैछ (२०५१), चमेरोको चुच्चो किन बुच्चो (२०५२), पेटमा भूत कसरी पस्यो (२०५७) जस्ता रचनाबाट भएको देखिन्छ ।
(छ) २०६० को दशक यस दशकलाई सबैभन्दा धेरै बालकथाका पुस्तकहरू प्रकाशित भएको दशकका रूपमा लिइन्छ । यस समयमा दुई सयभन्दा बढी बालकथासङ्ग्रहहरू प्रकाशित भएको मानिन्छ । यस समयमा शैलेन्दुप्रकाश नेपालको फूलको साथी (२०६०), कृष्णप्रसाद पराजुलीको बालसंसार (२०६०), विनय कसजुको यापुल्लेको बिजोग र बाघको सत्कार (२०६१), मुसालाई दोसल्ला र अरू कथा (२०६१) लगायतका रचना प्रकाशित भएका छन् ।
(ज) २०७० को दशक यस दशकमा मुक्तिनाथ शर्माको आविष्कार (२०७०), भाभा शर्माको रमाइलो शनिवार (२०७०), रमेश विकलको एकादेशमा (२०७१) लगायतका रचना प्रकाशित भएका छन् ।
बालकथाको उल्लिखित विकासक्रमिक स्थितिलाई अवेक्षण गर्दा नेपाली बालकथाको इतिहास प्राचीन देखा पर्छ । यसले एक शताब्दीभन्दा बढी समय पार गरिसकेको देखिन्छ ।
श्रेष्ठ (२०७०) का अनुसार नेपाली बालकथाको विकासक्रमलाई मोटामोटी चार चरणमा विभाजन गरेर अध्ययन गर्न सकिन्छ :
पहिलो चरण – प्रारम्भ काल (१९४९–१९९९) : यस समयलाई बालकथाको प्रारूप देखापरेको समयका रूपमा लिइन्छ । यस समयमा महŒवपूर्ण सामग्रीका रूपमा गङ्गाधर शास्त्रीको गोर्खा पैल्हो किताब (१९४९) प्रकाशित भएको थयो ।
दोस्रो चरण – पुनर्लेखन काल (२०००–२०१३) : यस समयमा बालोपयोगी लोककथा, नीतिकथा, इसपका कथाजस्ता कथाको पुनर्लेखन भएका पुस्तकहरू प्रकाशित भएको पाइन्छ ।
तेस्रो चरण – निर्माण काल (२०१४–२०४३) : यस समयमा मौलिक बालकथाहरूसमेत प्रकाशित भएको पाइन्छ । साथै बालकथाकै नाममा बालपुस्तकहरू प्रकाशित गर्ने परिपाटी बसेको देखिन्छ ।
चौथो चरण – विकास काल (२०४४ देखि यता) : यस समयमा विभिन्न संघसंस्थाहरूको व्यापकताका साथ लौकिक, अनूदित तथा मौलिक बालकथा रचनाको व्यापकता रहेको देखिन्छ । जुन अहिलेसम्म पनि निरन्तर क्रियाशील रहेको छ ।
बालकथाको विकासक्रम सम्बन्धमा श्रेष्ठद्वारा प्रस्तुत उल्लिखित वर्गीकरणलाई नियाल्दा नेपाली बालकथाको ऐतिहासिक बिन्दु घिमिरेद्वारा प्रस्तुत बिन्दुसँग मिल्दो देखिन्छ । यसको विकासक्रमिक अवस्थाको प्रस्तुति घिमिरेका तुलनामा स्थुल देखा पर्छ ।
त्यसो त घिमिरे (२०७४) ले नेपाली बालकथाको उपर्उल्लिखित विकासक्रमिक स्थितिलाई चरणगत आधारमा निम्नानुसार वर्गीकरण गरेका छन् :
(क) पृष्ठभूमि काल (सुरुदेखि १९४८ सम्मको समय) : वि. सं. १८७७ सालमा पहिलोपल्ट नेपाली भाषामा प्रकाशित मुन्सीका तीन आहान, १८८० मा प्रकाशित बहत्तर सुँगाको कथा, १८८८ मा प्रकाशित लालहीराको कथा, १९४६ मा प्रकाशित वीरसिक्का, १९४८ मा प्रकाशित स्वस्थानी व्रतकथा लगायतमा बाल आख्यानकारिता पाउन सकिन्छ ।
(ख) प्रारम्भिक चरण (१९४९ देखि १९९५ सम्मको समय) : वि. सं. १९४९ मा प्रकाशित गङ्गाधर द्रविडको ‘गोर्खा पैह्लो किताब’ बाट नेपाली बालसाहित्यको थालनी भएको मानिएको छ । यस समयमा गङ्गाधर द्रबिडकै ‘सर्वससङ्ग्रह’ (१९५३), जयपृथ्वीबहादुर सिंहको ‘बालबोध’ भाग १ (१९५८) प्रमुख रूपमा देखिएका छन् ।
(ग) विकास चरण (१९९६ देखि २०३५ सम्मको समय) : वि. सं. १९९६ सालमा प्रकाशित नेपाली दन्त्यकथाबाट नेपाली बालकथाको विकास चरणको थालनी भएको मानिन्छ ।
(घ) समसामयिक चरण (२०३६ देखि हालसम्मको समय) : वि. सं. २०३६ सालमा प्रकाशित जनकप्रसाद हुमागाईँको आख्यानात्मक पुस्तक गोकुलकी आमा कसरी निको भइन् ? बाट नेपाली बालकथाको समसामयिक यात्रा प्रारम्भ भएको मानिन्छ । यसलाई सामाजिक विषयमा आधारित मौलिक बालकथाका रूपमा लिइन्छ । घिमिरे (पूर्ववत्) का अनुसार यस चरणका कथाहरूमा सन्देशमूलक र प्रयोगवादी गरी मुख्यतः दुई प्रवृत्ति विकसित हुँदै गएको देखिन्छ ।
यस किसिमको विकासक्रमगत प्रस्तुतिलाई नियाल्दा नेपाली बालकथाको विकासक्रम कथ्य सन्दर्भमा वि. सं. १९४८ पूर्वदेखि नै र लेख्य सन्दर्भमा वि.सं. १९४८ पछि विस्तार भएको देखिन्छ । वर्तमान सन्दर्भमा नेपाली बालकथाको लेखन, प्रकाशन र अध्ययन–अनुसन्धानले तीव्रता पाएको पाइन्छ ।
बालकथाको शैक्षणिकता
बालसाहित्य र यसअन्तर्गतका विविध रचनाहरू बालबालिकाका लागि पठनीय, शिक्षणका लागि उपयुक्त, सन्देशप्रद एवम् उपयोगी हुनु आवश्यक हुन्छ । घिमिरे (२०७५) का अनुसार बालशिक्षा र बालसाहित्य एकअर्काका परिपूरक तत्वका रूपमा रहेका हुन्छन् । नेपाली भाषाको शिक्षणका सम्बन्धमा संस्कृतको हितोपदेश (१८३३), को नपालीमा अनुवाद हुनाका करण शिक्षा र साहित्यलाई सँगै लाने लेखकीय चाहनाको सङ्केतका रूपमा लिन सकिन्छ भने गङ्गाधर शास्त्रीका ‘गोर्खा पैह्लो किताब’ (१९४९), ‘सर्वसङ्ग्रह’ (१९५३), जयपृथ्वीबहादुर सिंहको ‘अक्षराङ्क शिक्षा’ (१९५८), ‘बालबोध’ (१९५८) ले बालशिक्षासँगै बालसाहित्यलाई समावेशन गर्ने परम्पराको थालनी गरेको पाइन्छ ।
भाषाशिक्षणका सन्दर्भमा उपयोग गरिने पाठ्यपुस्तकका माध्यमबाट अपेक्षा गरिने भाषिक सीप विकासका लागि बालसाहित्यको उपयोग गर्नुपर्ने देखिन्छ । घिमिरे (२०७०) का अनुसार पाठ्यपुस्तकीय प्रयोजनका लागि तयार गरिएका सामग्रीलाई बालवाङ्मयको शैक्षणिक स्वरूप मानिन्छ । उनका अनुसार सुरुमा नेपाली भाषामा बालसाहित्यको प्रयोग शैक्षणिक उद्देश्यका लागि नै (गोर्खा पैह्ला किताब, अक्षराङ्क शिक्षा) भएको देखिन्छ । यसबाट के स्पष्ट हुन्छ भने बालबालिकाका लागि र त्यसमा पनि निश्चित उमेर समूहका लागि भनी रचना गरिएका बालसाहित्यिक रचनाहरू सम्बन्धित बालबालिकाको उमेर, कक्षा र रुचिमा आधारित हुनुपर्ने देखिन्छ । साथै ती तत्तत् उमेर समूहका बालबालिकाले पढ्ने पाठ्यपुस्तकमा समावेश गर्नका लागि पनि उपयुक्त हुनुपर्ने देखिन्छ ।
घिमिरे (२०७०) का अनुसार बालसाहित्यको शैक्षणिक स्वरूपमा कक्षाअनुकूलका शैक्षिक सामग्री, सरल भाषाको प्रयोग, उपयुक्त उद्देश्य आदिलाई लिन सकिन्छ । त्यसो त नेपाली साहित्यमा बालसाहित्यको प्रयोग शैक्षणिक उद्देश्यका लागि भएको कुरा अक्षराङ्क शिक्षाबाट पनि स्पष्ट हुन्छ । घिमिरे (२०७५)का अनुसार विद्यार्थीको कल्पनाशीलता एवम् सिर्जनशीलताको प्रस्फुटन, ज्ञानविज्ञानका विविध पक्षको जानकारी, मनोरञ्जन प्रदान, बोध क्षमता विकास, सुसन्देश प्रदान आदिका लागि कक्षाकोठामा बालसाहित्यको प्रयोग गर्नुपर्दछ ।
भाषाशिक्षणका क्रममा पढाइ सिप विकासका लागि बालकथाहरूको अधिक उपयोग गर्न सकिन्छ । स्पन्दन (२०७४) का दृष्टिमा बाल साहित्य पठन सिप विकासले समग्र शैक्षिक, सामाजिक, सांस्कृतिक, आर्थिक र राजनीतिक अवस्था एवम् विश्वव्यापी परिवेशसम्बन्धी जानकारीमूलक लेख अध्ययन, अनुसन्धान, विश्लेषण गर्न सहयोग पुर्याउँदै व्यक्तित्व विकासका निम्ति निश्चित मार्ग अवलम्बन गर्न सहयोग पुर्याउँछ । पढाइ सिप विकासका सन्दर्भमा ध्वनि सचेतीकरण, पठनप्रवाह, शब्दभण्डार र बोध क्षमतालाई ध्यान दिई उपयोग गर्न सकिन्छ । पढाइ सिपसम्बद्ध यी पक्षमा जोड दिई राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रमसमेत सञ्चालन गरिएको पाइन्छ । जसको मुख्य लक्ष्य बालबालिकाहरूको पढाइ सिप विकास गर्नु रहेको देखिन्छ । स्पन्दन (पूर्ववत्) का अनुसार पठन सिपले निम्नलिखित गुण वा क्षमताको विकास मार्फत् बालबालिकाहरूलाई सम्पूर्ण सिकाइ उपलब्धि प्राप्तिमा सहयोग पुर्याउँछ :
- मुख्य विचारको पहिचान र सारांश गर्ने कला तथा विचारहरूको तुलना र भिन्नता छुट्याउने सिप
- तथ्य र विस्तृत विवरण पहिचान गर्ने कला
- निष्कर्ष निकाल्ने क्षमता
- कारण र प्रभाव पहिचान गर्ने क्षमता
- आलेखका तत्वहरूका चरित्रहरू, द्वन्द्वको अवस्था पहिचान गर्न सक्ने खुबी
- विचारको भविष्यवाणी गर्न सक्ने दक्षता
- लेखकको उद्देश्य, विचार र दृष्टिकोण बुझ्ने क्षमता ।
उसो त बालसाहित्यका माध्यमबाट विद्यार्थीहरूमा कल्पनाशीलता, पठनशीलता, सिर्जनात्मकता, बोध तथा अभिव्यक्ति क्षमता आदिको विकास गराउन सकिन्छ । घिमिरे (पूर्ववत्) का दृष्टिमा भाषाशिक्षणका सन्दर्भमा बालसाहित्यलाई बोध (श्रवणबोध, अवलोकनबोध, पठनबोध) सामग्रीका रूपमा, पठनप्रवाहका लागि आवश्यकीय सामग्रीका रूपमा, शब्दभण्डार वृद्धिका लागि उपयोगी सामग्रीका रूपमा, अभिव्यक्ति सक्षमता विकासको सामग्रीका रूपमा प्रयोग गर्न सकिन्छ । यस अर्थमा बालसाहित्यिक रचनाहरू बालबालिकाका लागि उपयोगी हुने देखिन्छ ।
प्रधान (२०६९) का अनुसार बालकको उमेर अवस्थाअनुसार रुचिकर हुने, उनीहरूलाई मनपर्ने, सरल, सुलभ भाषा, बोलीचालीका शब्द प्रयोग गरी बालसाहित्य लेखिएको हुनुपर्दछ । सत्याल (२०५३) लाई उद्धृत गर्दै उनले जनाएअनुसार बालसाहित्यको विषयवस्तु, बोली, भाषा र शैली पनि बालकको उमेरको विकासअनुसार साहित्यकारले ढाल्दै गएर उनीहरूको मन जित्न सक्नु, उनीहरूलाई पढुँपढुँ पार्न सक्नु र त्यसैबाट बौद्धिक, मानसिक, चारित्रिक र नीतिसम्बन्धी खुराक दिन सक्नु नै सफलता हुन जान्छ । यसप्रकार बालसाहित्यिक रचना बालबालिकाले बुझ्न सक्ने तथा बालमनोविज्ञानमा आधारित हुनुपर्दछ ।
निष्कर्ष
उल्लिखित विभिन्न तथ्यको अवेक्षण गर्दा के गतार्थ हुन्छ भने बालबालिकाका लागि लेखिएका कथालाई बालकथा भनिन्छ । बालकथाको विकासक्रमबारे विभिन्न विद्वान्हरूका अलगअलग धारणा पाउन सकिन्छ । पराजुली (२०६८) का अनुसार नेपाली बालकथाको विकासक्रमलाई प्रथम चरण (२०५८ देखि २००७ सालसम्म) र द्वितीय चरण (२००७ सालदेखि हालसम्म) गरी दुई भागमा वर्गीकरण गर्न सकिन्छ । श्रेष्ठ (२०७०) का अनुसार नेपाली बालकथाको विकासक्रमलाई पहिलो चरण (१९४९– १९९९), दोस्रो चरण (२०००–२०१३), तेस्रो चरण (२०१४–२०४३) र चौथो चरण (२०४४ देखि यता) गरी चार चरणमा वर्गीकरण गर्न सकिन्छ । घिमिरे (२०७४) का अनुसार नेपाली बालकथाको विकासक्रमलाई पृष्ठभूमि काल (सुरुदेखि १९४८ सम्मको समय), प्रारम्भिक चरण (१९४९ देखि १९९५ सम्मको समय), (ग) विकास चरण (१९९६ देखि २०३५ सम्मको समय) र समसामयिक चरण (२०३६ देखि हालसम्मको समय) गरी चार भागमा विभाजन गर्न सकिन्छ । यसको शैक्षणिकताका लागि पठनीयताका अतिरिक्त बालबालिकाको उमेर, रुचि, स्तर र मनोविज्ञानमा पनि ध्यानु दिनुपर्ने ठानिन्छ । कक्षाअनुकूलका शैक्षिक सामग्री, सरल भाषाको प्रयोग, उपयुक्त उद्देश्य आदिका माध्यमबाट शिक्षण गर्दा बालकथाको शैक्षणिक प्रकृति थप प्रभावकारी हुने ठानिन्छ ।
-उपप्राध्यापक, शिक्षाशास्त्र केन्द्रीय विभाग, त्रि.वि. कीर्तिपुर
साभारः Interdisciplinary Research in Education Volume 8, Issue 1, 2023: 31-38
.....साथ सहयोगको खाँचो
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


No comments:
Post a Comment