Sunday, December 29, 2024

लघुकथा (अङ्क १९ मा प्रकाशित)

 हे भगवान् !

- अंशु भट्ट
नयाँ बानेश्वर–१०, काठमाडौँ  


(दृश्य १– दुई किशोर–किशोरी विशाल परालको बिटो चौतारामा थकित मुद्रामा राख्दै, निधारबाट चुहिएको पसिनाको धारा पुछ्दै टाढाको पहाडको टुप्पो निहार्छन्.)

विनिता– “हे भगवान्, कस्तो जीवन ! कहिले फालिन्छ यो परालको बिटो आँगनमा? अनि, कहिले पुगिन्छ त्यो टुप्पोमा रहेको स्कूलमा? उफ् ! साथीहरू त बास्नादार फूलजस्तै सजिएका छन्, म चाहिँ थाकेको रुखझैं यहाँ अड्किरहेकी छु । गृहकार्य त झन् गरेको छैन, आज पनि स्वाठको पिटाई पर्ने भो ।’’

(उनले हेर्छिन् – स्कुलका साथीहरू बिहानको गुलाबजस्तै ताजा, चिटिक्क परेका पोसाकमा गाडीबाट ओर्लिरहेका छन्, जबकि उनी धूलोले पुरिएको पातझैं थकित छिन्.)

नटराज– “तिनीहरू बगैंचाका कोमल फूलझैं छन्, तर हामी भने चट्टानको काँडाजस्तै । तिमी त्यो रुखहरूलाई निहार्दै छौ जुन बगैँचाको बिचमा मल पानी र प्रर्याप्त संरक्षणमा हुर्केका छन् । हामी ती रुख हौँ जो चट्टान, भिरमा नै उम्रन्छौं । सधैँ भरी मृत्युको डरमा हुर्कने प्रत्येक रुखले हरेक थोपा पानी र माटोको लागि अनगिन्ती संघर्ष गरिरहेका हुन्छन् । तर एउटा कुरा याद राख विनिता, ती बगैँचामा हुर्केका एकै प्रजातिका रुख, एकै उमेरकालाई बलले हान त्यो जरादेखि पातको टुप्पोसम्म हल्लिन्छ तर चट्टानमा हुर्केको रुखलाई समान बलले हान त्यो रुख हच्किँदैन । हामी पनि त्यही रुख हौं, समय लाग्ने छ परिपक्व हुन तर जुन दिन परिपक्क हुनेछौं त्यस दिन सम्पूर्ण रुपमा विकसित मजबुत रुखमात्र नभई सम्पूर्ण वातावरणको मेरुदण्डको रुपमा स्थापित हुनेछौं । संघर्षले हामीलाई अझ मजबुत बनाउने छ कमजोर होइन त्यसैले दुःखी होइन खुुसी होउ विनिता यो संघर्ष भगवान्‌ले तिमीलाई मजबुत रुख बन्नलाई दिनुभएको छ । लड जीवनपर्यन्तसम्म, सफलता तिम्रो पछाडि दौड्ने छ ।’’

“हिँड, उठ, हामी स्कूल पुग्नु छ । संघर्ष गर्दै हामीलाई सफलताको पछाडि लाग्न दिनेछ ।’’


---------------------------------------

.‍..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment