पूर्णिमाको खुल्ला जूनमा धर्ती पूर्णरूपमा खुलिरहेकी । छहराको छङ्छङ्मा पहराहरू मन्दमन्द मुस्काइरहेका । हरिया खुसीहरूका साथ रमाइला रात बिताइरहेकी प्रकृति । साथमा, वरपिपलको आल्हादकारी आमोद–प्रमोदमा रमाइरहेका जोडीहरू अनुप र अनुपमा ।
आश्चर्यविभोरको चरम सीमामा पुग्दै उन्मादभरि मुस्काइरहन्छ, अनुप । परेवाका जोडीहरू रमाएको देख्दा, पुरुष र स्त्रीका बाँकटे चालका कहानीहरू सुन्दा, प्रेमी र प्रेमिका बीचका क्रिडाहरू देख्दा, आकुल–व्याकुल हुने ऊ आज अचम्भित छ ।
कति अनुनय विनय गर्दा पनि अटेरी गर्ने अनुपमा आज ऊ प्रति पूर्ण समर्पित छ । अनुप अनुपालाई हेर्छ । सर्लक्क परेको आकर्षक जिउडाल । गाजलु आँखा । मधुर मुस्कान । झर्ना जस्तै कपाल । …र केरा झैँ भुत्ल्याउँदा क्रमशः …। एक अर्कामा आत्मालोचना । सधैँ छत्तिस हैन, त्रिसठ्ठी भएर बाँच्ने प्रण ।
सुख र खुसीको तालमा पौड्दा पौड्दै, उनीहरू डिलमा आइपुगेको थाहै पाएनन् । अनायासै छेवैको छाँगाबाट दुवैजना सँगसँगै खसे ।
“अनुपमा !” चिच्याउँदा बल्ल अनुपले आफू खाटबाट भुइँमा खसेको चाल पायो ।
- पृथ्वी नारायण क्याम्पस, पोखरा


No comments:
Post a Comment