Showing posts with label रामकृष्ण ढकाल. Show all posts
Showing posts with label रामकृष्ण ढकाल. Show all posts

Monday, July 13, 2026

लघुकथा (अङ्क ३६ मा प्रकाशित)


बाबू तिमी कुन स्कुलमा पढ्छौ ? एउटा पसलको अगाडि बेन्चमा बसिरहेका बूढाले कलम किन्न आएको विद्यार्थी केटोलाई सोधे । डिस्ट्रोय नेपाल बोर्डिङमा –– केटोले जवाफ दियो ।

अनि कति कक्षामा छौ बाबू ? बूढाको अर्को प्रश्न । टेन क्लासमा हो – केटोको उत्तर । 

त्यहिबेला त्यो केटोको साथी उस्तै पोशाकमा त्यहिँ आइपुग्यो । पहिलो केटोले भन्यो – ओइ सुन्न ! हेर्न त्यो बूढोले मलाई के के सोधिरा । दोश्रोले भन्यो – ह्या छोड्दे के  बूढाबूढी  भनेका अलि ठिस हुन्छन के ! पहिलो केटो – मलाई कुन स्कुलमा पढ्छस रे, कति कक्षामा पढ्छस रे ! बोल्न जान्या छैन सोध्न चाहिँ के के सोध्नुपर्ने ! कति क्लासमा भनेर सोध्नुपर्ने कति कक्षामा भनेर पो सोध्छ के त्यो सुड्डोले । क्या झ्याउ लाइदिरा भन्या । कुरासँगै केटाहरूको स्कुलतिरको यात्रा जारी थियो ।

तिनीहरूका पछिपछि एकजना कलेजका शिक्षक जाँदै थिए । केटाहरूका सबै कुरा सुनेपछि उनी आफै बोल्न अघि सरेर सोधे –– तिमीहरू कुनदेशमा जन्मेका हुर्केका अनि तिमीहरूका बाबुआमा कुन देशका हुन बाबू हो ? 

केटाहरू – यहिँ नेपालकै हो ।

शिक्षक – त्यसोभए अघि भर्खर तिमीहरूले गरेको कुरा अनुसार  नेपालमा जन्मेका मान्छेले नेपाली भाषाका शब्दमा केही मनमा लागेको कुरा सोध्ने बूढा बा कसरी ठिस अनि कसरी बोल्न नजान्ने भए त बाबू हो ? तिमीहरूले आफ्नो पूर्खा बाँदर भनेर मान्नेहरूको भाषाका दुई चारवटा शब्द जान्दैमा तिमीहरूचाहिँ महान् ?! ल मलाई तिमीहरूले बोकेको झोला खोलेर आफूले पढ्दै गरेको पुस्तक झिकेर यो कुरो कुन किताबको पुनः पाठको कुन पानामा लेखेकोछ, ल मलाई देखाउ त !

मैले पनि नेपालकै स्कुलमा पढेर अहिले कलेजको शिक्षक हुँदापनि कोही पनि आफूभन्दा ठूला मान्यवरहरूलाई यस्तो नभनेपनि म मरिनँ त बाबू हो ! आजकल विद्यार्थीलाई गधालाई झैँ किताबको भारी बोकाउने र आफूले चाहिँ अनेक शुल्कको नाममा अझ पोशाक, मसलन्द समेतको नाममा नोटको भकारी बोक्ने अनि दक्ष र अनुभवी शिक्षक शिक्षिकाका धनी सुबिधा सम्पन्न पाँचतारे स्कुलहरूले यो शिष्टाचार, सोमत चाहिँ सिकाउँदैनन् ?  के चाहिँ सिकाउँछन् त बाबू तिमीहरू जस्ता भविष्यका कर्णाधारहरूलाई ?!

केटाहरूको अनुहार हेर्नलायक भयो ।

- रत्ननगर, टाँडी, चितवन

--------------------------------------
.‍..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Wednesday, May 6, 2026

लघुकथा (अङ्क ३४ मा प्रकाशित)

बज्यो धून बज्यो धून पक्कै कृष्ण हुन्

भन्ने गीतमा खल्तीमा बज्यो फोनको धून । त्यसपछि उनले खल्तीबाट मोबाईल निकालेर कसले बजायो भनेर हेरे अनि बोले – हजुर ! नमस्कार, म बोल्दैछु । अस्तिको खेपको पैसो पाउनुभो ? ए ! ल ठिक छ त्यसोभए । अँ सुन्नुस् न हजुर एउटा अर्कोपनि त्यो अस्ति गिट्टी बालुवा छड सिमेन्ट पठाइदिनुभएको जस्तै ठाउँ छ । त्यहाँ पनि त्यसैगरी सामन पठाइदिनुपर्‍यो । मै तपाईंलाई फोन गरुँला भन्दै थिएँ, तपाईंकै फोन आयो । एकदम सुसाइतमै फोन गर्नुभो । बरू बिला बनाउँदा चाहिँ अल्लि भिन्दै तरिकाले बनाउनुहोला । त्यो सामानको मात्र होइन यस्सो कोही बेला तपाईं हामी कतै भेट हुँदा एक दुई  घण्टा बसेर रमाइलो गर्न समेत निस्कने गरी । मैलेपनि त्यही बिल देखाएर अधिकृतहरूबाट पैसो झार्नु पर्छ । फेरि जति किस्ता पैसो निकाल्यो त्यतिनै पटक त्यहिँ कार्यालय भित्र अघोषित पट्के कर नदिए काम अड्काइहाल्छन । अनि यस्सो बाङ्गो औंलो त बनाउनै पर्‍यो ।

हवस् हजुर हवस् । तपाईं त्यति ज्ञानी मिलनसार हुनुहुन्छ भनेरै बुझेरै हामीले कारोबार तपाईंसित गरेका हौं नि ! ल हजुर, तपाईंको त्यति पक्का वचन सुनियो । म अब एकदम लाभदायक कारोबार हुने भो । बरू पैसोचाहिँ एकहप्तापछि अर्को किस्ता निस्केपछि है त हजुर !

हवस् हवस् । हुन्छ हुन्छ भैहाल्छ नि ! तपाईं व्यापारी र हामी ठेकदार भनेको त ढुङ्गाको भर माटो र माटोको भर ढुङ्गा त हो नि । दोहोरै हित त हेर्नू परिगो नि । हवस् म ढुक्क भएँ  है हजुर । मेरो अहिले भर्खरै अर्को एउटा यस्तै कामको लागि बैठक छ । अहिलेलाई मैले फोन राखें है । नमस्कार ।

यो सम्वाद सुनिरहेको एकजना कामदारले ठेकदार मोटरसाइकल चलाएर अल्लि पर पुगेपछि अर्को कामदारसँग भन्यो – साले ! ठेकदार हुँ भन्ने अनि देश र जनतालाई सेकाउनसम्म सेकाउने सेकदार बन्ने ? कस्तो भ्रष्ट रहेछ यार हाम्रो साहू त । यस्ता देशमाराको नोकर बन्दा हाम्रो इज्जत नै जान्छ । बरू हिँड तँ र म अन्तै अल्लि इज्जतिलो ठाउँ खोज्न जाउँ ! हाम्रै पसिनाको करबाट आउने बजेटमा पौडी खेल्नेहरूलाई सहयोग गर्नु अपराध हो । सेकदार जस्तो भए नि हाम्रो त इज्जत छ नि । हामी अपराधीको नोकर नबसौं ।

नजिकै बसेर कुरो सुनिरहेको खैरे कुकुर पनि एकछिन पछि मान्छेको कुरा बुझेकै जस्तोगरी कुम्लोकुटुरो बोकेर बाटो लागेका कामदारहरूकै पछि पछि गयो ।

- चितवन

...........................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।