"यो दशैँ पनि किन आएको होला, बुढा ! मलाई त अत्यास लागिराछ ।’’ एकाबिहानै बुढीले निराशा ब्यक्त गरिन् ।
“एउटा भएको छोरो सात समुन्द्रपारि छ । बुहारी नातिनातिना पनि शहरमा छन् । हामीलाई के को दशैँ र ?’’ बुढाले झनै दुखेसो पोखे ।
दशैँको दिन न, मिठो मसिनो ल्याए, न त आवश्यक सरसामान नै किने, दुई दिनदेखि छोरा बुहारी सम्पर्कमा नहुँदा चिन्तामा थप थिए, उनीहरू ।
“तपाईंले डायल गर्नु भएको फोनको स्विच अफ गरिएको छ ।’’ बुढाको मोबाइलमा एक घन्टादेखि त्यही शब्द दोहोर्याइ रहेको थियो । बुढी पटुकाको छेउले आँसु पुछ्दै थिइन् ।
“पर बाटोमा कोही आउँदै गरेको देखेर उनीहरूका आँखाले त्यतै हेर्न थाले ।
“छोरा बुहारी जस्तो पो देख्छु त, बुढा !’’ बुढीले पावरवाला चस्मा लगाउँदै भनिन् ।
“उनीहरू के आउँथे र ! कसैका आफन्त होलान् नि !’’ बुढा चिन्ताले टोलाएका थिए ।
“बाबा ढोग गरें ।’’ एक्कासी, छोराको आवाजले उनी झस्किए । आमाका हर्षका आँसु बर्बर झरे । बुहारी र नातिनातिनी पनि सँगै थिए ।
“बाबू ! खबरै नगरी आइस त ! अनि मोबाइल पनि अफ थियो ।’’ बाबाले चिन्तित हुँदै भने ।
“हजुरहरूलाई सरप्राइज दिउँ भनेर, अफ गरेको नि, बाबा ! अब हामी आइसक्यौ, चिन्ता नलिनु ।
“कति समयको छुट्टीमा आइस् त, बाबू !, फर्किहाल्ने होला !’’ उनले फेरि अर्को चिन्ता ब्यक्त गरे ।
“त्यहाँको दुःख अनि हजुरहरूको मायाले फर्केर आए बाबा ! अब बिदेश नजाने ।’’ छोराले नरम स्वरमा भन्यो ।
“हो, बाबा ! अब नाति र नातिनी यहीँ गाउँकै विद्यालयमा पढ्छन् । हामी खेतीपाती गरेर हजुरहरूसँगै बस्छौ ।“ बुहारीले भनिन् ।
बुढाको खुसीले सिमा नाघ्यो । उनले सानो नातिलाई पिङ हाल्दै भने; "धन्य दुर्गा माता ! तिम्रो आशिर्वादले यिनीहरू घर फर्किएका छन् । हाम्रो मनमा शान्ति मिल्यो ।’’
ए बुढी ! पानी तताउन बसा त ! त्यो, ठूलो चैं खसी काट्नु पर्छ ।’’ बुढाले खोरबाट खसी निकाल्दै भने ।
- भक्तपुर


No comments:
Post a Comment