Pages

Sunday, October 26, 2025

लघुकथा (अङ्क २८ मा प्रकाशित)


'म सन्तुष्ट भएँ । के चाहन्छौ ?’

अचानक एक्कासी आएको आवाजले मनुवा झस्कियो । आँखा खोल्यो । कोही देखेन । ऊ होशमा त छ । तर अत्तालिएको छ। उकुसमुकुस भएको छ उसलाई । 

'आत्तिन छोड ।’ पुनः आवाज आयो ।

'हे प्रकृति देव ! मलाई मार्गदर्शन गराऊ । मेरो देशमा नागरिक एक भइ पुनः शान्ति छाएको देख्न पाउँ । विचलित भएको एकता र समानता, देशप्रेम फेरि पनि स्थिर बनोस् । म बस्ने माटो अरूबाट नखोसियोस् ।’

'तर मनुवा ! तिमीले सही लक्ष्यको निम्ति थोरै समयमात्र त्याग र तपस्या गरेकाले अहिले एकता कायम गर्नसक्ने धैर्यमात्र पाउने छौँ ।’

'हे अदृश्य प्रभु ! देशमा अशान्तिले घरजम गरेको अवस्था छ । भाइभाइमा फाटो मौलाउन लागेको छ । कोही प्रजातन्त्र, कोही राजतन्त्र काममा नलागेको भन्दै विकल्प खोज्दै नरनारी, युवायुवती, वृद्धवृद्धा आफूले बनाएको सरकार विरुद्ध नारा लगाउँदै उग्र भएर जताततै हिँडेका छन् । समाधान कहिलेसम्म होला ?’

मनुवा एकक्षण पर्खन्छ । कुनै आवाज आएन । केवल पक्षीहरूको चिरबिर बाहेक अरू केही थिएन । ऊ अनिश्चित अवस्थामा आसनबाट उठ्छ । त्यो विशाल पर्वतलाई दुई हात जोडेर प्रणाम गर्छ । जब ऊ मूलबाटो हुँदै जाँदै गरेको हुन्छ तब एउटा भयङ्कर जनसमूह उग्ररूपमा शान्तिको नारा लगाउँदै आउँछ । तर तिनीहरूको हातमा लठी, मुङ्गरो देखेर मनुवा त्यही सडक किनारमा बसेर आँखा चिम्लन्छ । समूहबीचबाट दुई–तीनजना शान्ति चाहने मानिसहरू छेउमा आएर बस्छन् । मनुवा सुनिने गरी प्रार्थना गर्छ…..  'हे प्रकृति देव ! यहाँ जानमालको क्षति नहुने गरी एकता कायम गर्ने शक्ति यिनीहरूमा जागृत होस् ।’

- नाग्रिजुली, असम

..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


No comments:

Post a Comment