झट्ट हेर्दा २०/२१ वर्षकी देखिने हाइटी, पातली, मृगनयन भएकी अबोध चञ्चलापन थियो उनीमा । एक वर्ष भैसकेको थियो उनी हाम्रो घरको फ्ल्याटमा बसेकी । उनका श्रीमान् पनि कम्ता थिएनन् । काँक्राको चाना जस्तो सर्लक्क परेका । त्यस्तै २५/२६ को हाराहारीमा थिए होलान् । असाध्यै माया थियो दुईबिच पक्कै प्रेम बिवाह हुनुपर्छ । घर पूर्वतिर भन्थे । मलाई पनि खासै खोजीनीधि गर्न मन लाग्दैनथ्यो । आफूलाई भाडा समयमै आइहाल्थ्यो । बिहान मिलेर घरको काम गर्थे । ९ बजेतिर केटा अफिस निस्कन्थे । केटी पनि कलेज जान्थिन् । न सिन्दुर, न टीका, न पोते आजकालका केटीहरू के भन्नु खै ! फेरी अर्काका छोरीबुहारी मलाई पनि के खाँचो ! तर पनि आफू त पुरानो जमनाको मान्छे आफ्नो धर्म–संस्कृति परम्परा मार्नु हुन्न भन्ने लाग्ने । अब युगले कोल्टे फेरिसक्यो हाम्रो पालाको जस्तो अहिले छैन । अहिले जस्तो पछि हुन्न । आधुनिकताको नाममा बेथिति भनेको यही त होला ! आ… म पनि अनेक सोच्छु । पुषका दिन फासफुस् म आफ्नू काममा लागेँ ।
साँझ पर्न लाग्दा उनीहरू मोटरसाईकलमा हुरुर्र आइपुगे । केटीको अनुहारमा बादल लागेको थियो । मेरो मुखमै नहेरी उनीहरू भित्र पसे । ती केटी म बर्बाद भएँ, यसो नगर प्लिज भन्दै थिइन् । उनका आँखाबाट खसेका मोतीहरू सागर बन्दै थिए । केटा म मेरो करियर बर्बाद गर्न चाहन्न भन्दै मुन्टो बटार्दै थिए । म अलमल्ल परेँ । के हुँदैछ यो भनेर बुज्दा उनीहरू अबिबाहित जोडी रहेछन् । लिभिङ्ग टुगेदरमा बसेका । केटीको ज्यानमा अर्को ज्यान थपिएपछि उनले बिवाहको प्रस्ताव राख्दा केटाले अस्वीकार गरेका रहेछन् । हे भगवान् ! यो के जमाना आयो ? परिवर्तन र नवयुगको नाममा यो कस्तो कुसंस्कारको जन्म भयो । स्वतन्त्रताको आडमा हाम्रा पुस्ताहरू के सिक्दैछन् । न अग्नि साक्षी, न पण्डित, न लगनगाँठो, न सातफेरा सात वचन । आकर्षण हो या प्रेम ? जब मन लाग्यो सँगै बस्यो । जब मन भरियो अर्को पार्टनर खोज्न थाल्यो । अबिवाहित भर्जिन सायद कमै भेटिएलान् । यो कस्तो सम्बन्ध ? कपडाजस्तो जहिले मन लाग्छ फेर्न सकिने । म पनि एक छोरा र एक छोरीको आमा भएकीले यो विषय मेरो लागि चिन्तनको मुल बन्यो ….. ।
- काभ्रे


No comments:
Post a Comment