प्रेमलालले जागिरेको पेन्सनबाट खाइ नखाई रकम जम्मा गरेर बनाएको सानो दुई तले घरको तल्लो तलालाई भाडामा लगाएको थियो । त्यही भाडा नै उसको पारिवारिक जीवन गुजार्ने आम्दानीको मुख्य श्रोत थियो ।
तीन महिना नाघिसक्दा पनि भाडामा बस्ने मान्छेले कुनै न कुनै बहाना बनाएर भाडा तिर्न आनाकानी गर्दै गइरहेकोमा प्रेमलाल आजित भएको थियो । भाडा माग्न जाँदा, “अहिले म सँग पैसा छैन । अर्को महिना जसरी भए पनि एकैचोटि एकमुष्ट रकम दिईहाल्छु नि । नआत्तिनु होस ।’’ भन्दै सधैँ पन्छिने गर्दथ्यो ।
एकदिन प्रेमलाल आफ्नै कामको धुनमा व्यस्त थिए ।भाडामा बस्ने मान्छे पनि केही छिनको लागि बाहिर गएको थियो । सोही मौका पारी उ बसेको कोठाको झ्यालै छेउमा राखेको मोबाईल र पर्स कुनै अपरिचित व्यक्तिले सुटुक्क लगेछ । आफ्नो सामान चोरी भएको थाहा पाउने बित्तिकै उसले, “लौन, मेरो कोठाको सामान चोरी भयो । गुहार…! गुहार… !“ भन्दै चिच्याउन थाल्यो ।
उतिनैखेर प्रेमलाल सहित केही छिमेकीहरू त्यहाँ जम्मा भए । प्रेमलालले उसलाई सोध्यो, “तपाईंको के सामान चोरी भयो ?’’ उसले हतारहतारमा सत्य कुरा ओकल्यो, “मेरो मोबाईल र तिस हजार रुपैयाँ राखेको पर्स चोरी भयो ।’’
यो सुनेर प्रेमलालले आक्रोश हुँदै कडकिँदै भन्यो, “तँलाई फटाहा…! मैले भाडा माग्दा सधैँ छैन भनेर टार्ने । अहिले तीस हजार चोरी भयो भन्न लाज लाग्दैन ? यस्तो नियतमा खोट भएको व्यक्तिलाई भाडामा किन राख्ने ? यति भन्दै छिमेकीहरुको सहयोगमा उसले कोठा खाली गराउन लगायो ।
- चाबहिल– ७, काठमाडौँ


No comments:
Post a Comment