कविता कुनै कालखण्डको सौन्दर्यात्मक सजावट मात्र होइन; यो समयको नाडी समात्ने संवेदनशील चेतना हो । जब समाज रूपान्तरणको तीव्र गतिमा अघि बढिरहेको हुन्छ, तब कविताले पनि आफ्ना आँखा, कान र हृदय सबै खुला राख्नुपर्छ । आजको समय केवल सूचना–प्रविधिको विस्फोटले चिह्नित छैन; यो विस्थापन, असमानता, पहिचानको सङ्कट, लोकतन्त्रको चुनौती, पर्यावरणीय सङ्कट र मानवीय संवेदनाको क्षयीकरणले पनि उत्तिकै चिन्हित छ । यस्तो समयमा वर्तमान कविताले के बोल्नुपर्छ, कसको पक्ष लिनुपर्छ र कस्तो भाषा रोज्नुपर्छ, यी प्रश्नहरू आज अत्यन्तै सान्दर्भिक छन् ।
आजको कविता सर्वप्रथम समयप्रति इमानदार हुनुपर्छ । इमानदारी भनेको नारा दोहोर्याउनु होइन, न त सस्तो भावुकतामा बग्नु हो । इमानदारी भनेको देखिएको पीडा, अनुभव गरिएको अन्याय र अनुभूत गरिएको मौनतालाई कलात्मक रूपले उजागर गर्नु हो । वर्तमान कविताले मानवीय संवेदनाको पुनर्स्थापना गर्नुपर्छ । प्रविधिले मानिसलाई नजिक ल्याएको जस्तो देखिए पनि वास्तवमा ऊ एक्लिँदै गएको छ । ‘लाइक’ र ‘शेयर’को भीडमा भावना पातलिँदै गएको छ । यस्तो अवस्थामा कविताले प्रेमलाई केवल रोमान्टिक सीमामा होइन, करुणा, सहअस्तित्व र सहानुभूतिका रूपमा प्रस्तुत गर्नुपर्छ । आजको कविता आमाको चाउरिएको हात, बुबाको मौन चिन्ता, बालकको अधुरो सपना र वृद्धको एक्लोपन बोल्न सक्नुपर्छ । कविता मान्छे–मान्छेबीचको हराउँदै गएको पुल बन्नुपर्छ ।
कविता संसार मासिक पत्रिकाका पानाहरू केवल कविता छाप्ने स्थान मात्र होइनन्; यी पानाहरू समयसँगको संवादका साक्षी हुन् । आजका कविहरूले यो जिम्मेवारी बोध गर्न जरुरी छ कि उनीहरूको कविता भोलिको इतिहास बन्न सक्छ । त्यसैले वर्तमान कविताले समयलाई सजाएर होइन, सामना गरेर लेखिनुपर्छ । जब कविता समयसँग इमानदार हुन्छ, तब मात्र त्यो कालजयी बन्न सक्छ ।
अङ्क २८ पढ्न र डाउनलोड गर्नका लागि फोटोमा क्लिक गर्नुहोस्
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।



No comments:
Post a Comment