Tuesday, December 5, 2023

लघुकथा (अङ्क ७ मा प्रकाशित)

दृष्टि

-धिरज बराल
कौशलटार, भक्तपुर 


“हजुरले राम्रो देख्न थालेको हुनुपर्छ । शल्यक्रिया गरेको पनि एक वर्ष भो, कसो बुबा?”
डाक्टरको प्रश्नको उत्तर सुनेर वृद्धको मुहारमा अँध्यारो पोतियो र गहिरो सास फेरे ।

“डाक्टर बाबू, देशभित्र कैयौं सुनौला पलहरु भोगेको एउटा पैंतीस वर्षे म युवाको साढे तीन दशकअघि दृष्टि गुमेपछि, मैले देख्ने गरेको यथार्थमा पूर्णतः विराम लाग्यो । त्यस पर्यन्त सुनेकै भरमा बाँच्नुपर्ने जीवनको अर्को एउटा अध्याय सुरु भयो । त्यो सिलसिलामा मेरा यिनै कानले धेरै शासनहरुको फेरबदल सुने । शासकहरुका मनोमानि सुने, अत्याचार सुने । तिनका निर्लज्जता, बेइमानी, असक्षमता, अकर्मण्यता सबका सब सुने । जब म ती राक्षसी कथाहरु सुन्थेँ, मभित्रको रगत उम्लिन्थ्यो । त्यो बेला ती राक्षसहरुलाई, मेरो छैठौं इन्द्रियमा अर्थात् मनको आँखामा हतियारहरु जन्माएर एकएक गरेर वध गरेको कल्पना गर्थें अनि देशको भलाइको कामना गर्थें.. !”

“तर बुबा, मनको आँखाले होइन, तपाईं त अब भौतिक रुपमै देख्न सक्ने भइसक्नु भएको छ त ! यो भन्दा खुसी छ र अरु केही ?”

“घोर आपत्ति.., डाक्टर बाबू ! तपाईंको विद्याले यो एक वर्षमा, म बूढोले सुनेका सम्पूर्ण राक्षसी कथाहरुलाई हुबहू देखाउने काम बाहेक केही नै गरेन । राम्रो दृष्टि त दिनु भो, राम्रो दृश्य किन दिनसक्नु भएन? लौ भन्नुस, मेरो शल्यक्रिया तपाईंको कति ओैं असफल प्रयोग हो ?”

No comments:

Post a Comment