Tuesday, December 5, 2023

लघुकथा (अङ्क ७ मा प्रकाशित)

 भग्नावशेष

-चूडामणि नेपाल अकिञ्चन
विराटनगर– १    


'के भयो ? उठनु न भनेको ? मलाई त रिँगटा लागेजस्तो पो भयो त, सुन्नु भएन घर त गर्लाम्मै लडिसक्यो हेर्नु न भनेको ?’ निर्जला रुन थालिन् ।

आफू र छोराछोरीलाई कुखुराको पोथीले चल्ला छोपेझैँ छोपेर बेहोस भएका निरजलाई घच्घचाइन् । निरजले भूकम्पको पहिलो झट्कामै छानाबाट झर्न पुगेको बलोलाई समाउन पुगेछन् । उनका दुबै हात भाँचिए । तत्काल सोहोरिएर आएको माथिल्लो गाह्रोलाई उनले लात्तले अर्कोपटि ठेल्न भ्याएछन् । ठूलो ढुङ्गो टाउकोमा बजारिन पुगेछ ।

‘जाउ निर्जला आमा बुबालाई हेर छोराछोरी लिएर बाहिर जाउ । म अब बाँच्दिन होला हेर निर्जला प्रकृतिलाई कसैले जित्न सक्दैन । हामी आफै सुरक्षित हुनुपर्छ । सुरक्षाका उपायहरु अवलम्बन गर्नुपर्छ ।

‘उठ्नु न उठ्नु केही हुन्न उनी अझ भावुक भइन । म तान्छु आउनु ।’ उनले हात दिन सकेनन् ।

बाहिर चुक घोप्टयाएजस्तो अँध्यारो थियो । छोराछोरी निदाएका हुन् कि के भएको हो उनलाई थाहा भएन । आमाबुबाको कोठा पुरै ढुङ्गाले भरिएको थियो । उनी पस्न सकिनन् । उनी आफूहरु सुत्ने कोठमा माथि आउँदै थिइन् । अकस्मात् बाँकी घर गल्र्यामगुर्लुम्म ढल्यो । निरज चिच्याए । पानी देउन निर्जला पानी तर त्यो आवाज कसैले सुनेन ।

बाहिर छोराछोरी रोइरहेका थिए । घरभित्र भग्नावशेषमा निरजको साहस जिउँदै थियो आँट बटुलेर हातले केही समाउन खोजे तर मात्र पाखुराहरु तुर्लङ्ग झुण्डिए ।

No comments:

Post a Comment