Saturday, January 6, 2024

लघुकथा (अङ्क ८ मा प्रकाशित)

अमृतबेला

- नन्दलाल आचार्य
सिर्जनाकुटी, सिरहा   


"कसैको बाउको करेसाबारी फाडेको थिइनँ; किन यस्तो वेदनाको पगरी भिराइस्?’’ उषाको लाली छरिन अत्तोपत्तो नै नभएको क्षणमा मन्दिरबाट मान्छेको यस्तो आवाज आयो ।

र, थपिँदै गयो-

- आज म एकएक हिसाब चुक्ता गरेर छाड्छु ।
- तैंले बेरी हुन्छस् भने म तेरा विरुद्ध खनिँदा पाप लाग्दैन ।
- मैले जीवनभर तेरो गुलामी गरेँ, अहिले ७९ नाघेपछि आँसु पिएर जिउन वाध्य पारिस् ?|
- तँ धोकेवाज होस्, तँ कृतघ्न होस्, तँ विश्वासघाती र अधर्मी होस् ।

नानाथरी फलाकेको आवाज आइरह्यो । मान्छे गाली गरेर थाक्यो । हर आशाको दैलो बन्द भएपछि मुड्कीले मूर्तिको नाक मुखमा हान्न थाल्यो ।

“हान, जतिसक्दो हान । तेरै घैलामैला बटुल्न तँलाई कुरेर बसेको छु ।’’ भगवान् बोलेँ ।

मान्छेको होस् फर्कियो । हात जोड्दै बिन्ती बिसायो- “मैले भुलले तपाईं माथि हात छाडेँ । म सारा बोली फिर्ता लिन्छु, मलाई क्यान्सरले गुम्न लागेको मेरो जीवन फर्काइदिनुस् ।’’

भगवान् शान्त रहे तर मान्छे गिडगिडाइरह्यो -

- “अनि मैले अरु के गरे, म अझ हाँस्न र बाँच्न पाउँछु, भगवान् ?’’ मान्छेले हात जोडिरह्यो ।

भगवान् बोले, “यस अमृतबेलामा चिच्याउने बानी त्याग । आफूभित्रको घण्टी बजाउने नयाँ बानी रोज ।’’

No comments:

Post a Comment