Monday, January 8, 2024

लघुकथा (अङ्क ८ मा प्रकाशित)

एडिक्ट

-गंगाप्रसाद अधिकारी
भद्रशिवाटोल, भद्रपुर  


"उफ्, तीन दिन भइसक्यो गाँठे यो बेडमा सुतेको ! यो तीन दिन पनि कति लामो लागेको तीनमहिना जस्तो ! अझै डाक्टर डिस्चार्जको कुरै गर्दैन । अब त घरमै बसेर दबाई खाँदा भइहाल्थ्यो नि !’’ उसलाई छटपटी भइरहेछ, चाँडै निको हुनुको भन्दापनि घर गएर रक्सी तुइँक्याउनको ।

के गर्ने र, अस्पतालको सय मिटर वरपरसम्म रक्सी सेवन त के बेचबिखनलाई समेत प्रतिबन्ध लगाइदिएको छ नगरपालिकाले । रक्सीको तलतल खप्नै नसक्ने भइसक्यो, अझै दुई चार दिन उम्कन पाइने छाँट छैन यहाँबाट । उसको छटपटी झन् थपिएर औडाहा हुन थाल्यो । के गर्ने होला? ऊ गम्भीर भएर सोच्नथाल्यो । 

अँ, आइडिया ! उसको अनुहारमा अचानक खुसी दौड्यो । उसले अर्को बेडको कुरुवा हरियालाई बोलायो । हरिया उसका लागि पनि सशुल्क सेवक भएको छ अहिले । खानेकुरा, पानी, औषधीलगायत हरियाले नै ल्याइदिने गरेको छ उसलाई ।

उसले हरियाको कानमा केही खासखुस गर्‍यो र पाँच सयको नोट दियो । 

केही बेरमा हरियाले एक पाउन्ड पाउरोटी ल्याएर उसको हातमा थमाइदियो । उसले सशङ्कित हुँदै दायाँबायाँ हेर्दै त्यो पाउरोटी एकै छिनमा खाइसक्यो । 

पाउरोटी उसलाई मजैले लागेछ । राता राता आँखा पार्दै जिब्रो र मुख बटार्दै उसले हरियालाई भन्यो “थ्याङ्क्यू हरिया ब्रो ! थ्याङ्क्यू ! आइएम ह्याप्पी विथ यू ओके ? भोलि पनि ल ? ओके ?” अनि तीन दिनको तलतल एकै पटक मेटाएर बिछ्यौनामा निर्धक्क पल्टियो । 

No comments:

Post a Comment