Monday, January 8, 2024

लघुकथा (अङ्क ८ मा प्रकाशित)

आमा र बा गए?

-शशीश्री आचार्य
बौद्ध कुमारीगाल काठमाडौँ  


तीन छोरा अनि दुई बाबुआमा, टन्न सम्पत्ति, तीन पुस्तालाई बिना काम गरी खाना लाउन पुग्ने । तिनै छोराका आ-आफ्नै परिवार । बाबुले बुढेसकाल लाग्यो भन्दै तिनै छोराहरूलाई अंश भाग लगाएर आनन्दले बस्ने चाहना, जस्तो सोचे उस्तै गरिदिए शर्माजीले पनि ।

खुसी छन् बुढा सबैलाई सम्पत्ति बरोबर भाग लगाएर । तर अब सम्पत्ति चाहिँ टन्न लिए आमाबाबुलाई कसले हेर्छ । सबैले एकै ठाउँमा बसेर आँखा हेराहेर गरे । कसैले आमाबाबु म पाल्छु भनेनन् ।

सबैले आ-आफ्नो श्रीमतीलाई हेराहेर गरे अनि कानेखुसी पनि ! आखिरमा सबैसँग आमाबाबु एक एक महिना पालैपालो बस्न पाउने भए । यस्तै बस्तै गर्ने क्रममा कान्छो छोरोको पालो आयो आमाबाबु पाल्ने । खाना पकाएर कान्छी बुहारी सासु ससुरा बोलाउन जान्छिन् खाना खानलाई । शर्माका जोडी आउँछन् खाना खान, बोडीको तरकारी अनि कोइरालाको अचार साह्रै मिठो मानी खाएर दाँत कोट्याउँदै आफ्नो बासस्थानतिर लाग्छन् । 

घरको फोनको घण्टी बज्यो । कान्छी बुहारीले फोन उठाउँछिन् । हेल्लो हेल्लो; भन्छिन्, उताबाट आवाज आउँछ; कान्छी खाना पाक्यो, पाकिसक्यो हजुर, ए के तरकारी पकाकी? बोडी झोल हालेको हो अनि कोइरालाको अचार बनाको ।

उताबाट आवाज आउँछ; ए अनि आमाबाले खाए त?; अँ खानू भयो । उताबाट आवाज आउँछ; अनि आमा र बा गए की छन्? जानु भयो हो गइसके ।

सुन, आमाबा गइसकेका भए प्याज काटेर राख् लसुन छोडाएर राख म खसीको मासु लेराउँछु ।

No comments:

Post a Comment