Monday, January 8, 2024

लघुकथा (अङ्क ८ मा प्रकाशित)

बदला

- रेशकुमार पाण्डे
    दाङ घोराही - १८  

एउटी चालिस काटेकी महिलालाई केही व्यक्ति “जसमा महिला र पुरूषहरूले’’ मिलेर अर्धनग्न बनाइ गाउँमा घुमाउँदै थिए । सर्वणले त्यो देखेर आश्चर्य हुँदै लुकी/लुकी हेर्‍यो ।

महिलालाई कालो मोसो दलेका जुताका माला लगाएका । बिजुलीको खम्बामा जिउराले बाँधे ।

होइन यसले के कसुर गरेकी होली? यसलाई जोगाउनुपर्छ एक मनले भन्यो । अर्को मनले भन्यो- यतिका गाउँले मिलेर पिटेका छन् कुनै कसुर नभएर किन पिट्थे । जरूर यसले केही बिराएकी हुनुपर्छ; ऊ रोकियो ।

एकजना अपरिचित व्यक्ति आफू भएतिर आएको देख्यो ।
अब यसैलाई सोध्नुपर्छ पक्का यसलाई थाहा छ । उसले मनमनै भन्यो ।
“ए भाइ ! त्यहाँ के हुँदैछ?’’ - उसले अपरिचित व्यक्तिसँग सोध्यो ।
एउटी महिलालाई अर्धनग्न बनाई पिट्दैछन् गाउँलेहरूले । -उसले भन्यो ।
त्यो त म पनि देखिरहेको छु । के कारणले पिटेका छन्? -सर्वणले सोध्यो ।
उसको छोराले गल्ती गरेर छोराको अत्तोपत्तो छैन । त्यसैले उसको आमालाई पिट्दैछन् ।

उसको छोराले के गल्ती गरेको रहेछ? जो आमालाई नै सजाए दिनुपर्ने?

त्यो मुर्दारले पनि त्यही अखने साहुकी छोरीसँग प्रेम गर्नु थियो । आफू बराबर को पो हेर्नुपर्छ । - त्यो भनेर अपरिचित व्यक्ति अगाडि बढ्यो ।

के प्रेमले पनि धनी र गरिब हेर्छ र? -सर्वणले सुस्तरी भन्यो ।   îîî

No comments:

Post a Comment