Saturday, February 10, 2024

लघुकथा (अङ्क ९ मा प्रकाशित)

पक्कीघर

-सुरेशकुमार पाण्डे
दाङ घोराही १८   

"कत्तिपनि विश्वास छैन मलाई माटो र ढुङ्गाको घर । भत्किहाल्छ । हजूरले बजारको पक्कि घर आफ्नो हिस्सामा पार्नैपर्छ ।’’ राधिकाले आफ्नो पोइलाई दवाब दिंदै भनी । उनीहरू दुई भाइ छुट्टिएपछि मालपोत कार्यालयमा आ–आफ्नो नामसारी गराउन आएका थिए ।

“राधिका ! तिमीले कत्ति बुझ्दिनौं । पहाडको घरसित हाम्रो परिवारलाई खानपुग्ने जमिन पनि छ । त्यो बजारको दश हातमा बनेको घर देख्दा अग्लो देखिएपनि केही फाइदा छैन् । न त आँगन छ न त्योसित कुनै गुजारा गर्ने अर्को विकल्प छ । भैगो हामीले त्यो भाइको चाहना पनि हो । उसले त्यहाँ बसेर कुनै पेसा गर्छु दाई भनेको छ; उसैलाई दिउँ ।’’ विनयले राधिकालाई सम्झाउँदै भन्यो ।

“कस्ता कुरा गर्नु हुन्छ ? त्यो घर मेरो पनि त चाहना हो नि । छुट्टिएको भाइ प्यारो भयो तर म अर्घेली भएँ ।’’ राधिका रिसाउँदै भनी । ठिकै छ तिम्रो त्यही इच्छा भए म कुरा गर्छु । विनयले भन्यो ।

“ऊ ! विनोद पनि आइपुग्यो ।’’ आउँदै गरेको विनोदतिर इसारा गर्दै विनयले थप्यो ।

“विनोद ! भाइ तिम्रो भाउजूले बजारको घर आफ्नो नाउँमा गराउन खोजेकी छन् । के गरौं? आफ्नो कुरा राख्यो ।’’ हजूरको इच्छा मलाई जे हजूरले दिएपनि लिन्छु । बाबु समानको दाजु आमा समानकी भाउजूले निश्चय पनि मेरै भलो सोच्नु भएको छ ।’’ विनोदले विनम्र मुस्कुराउँदै भन्यो ।

विनोदको नाउँमा पहाडको घरबारी गरायो र आफ्नो नाममा भएको बजारको घर आफै राख्यो ।

साँझपख सबैजना घरमा बसेर खान खाँदै थिए भूकम्पको झट्का महसुस भयो । ढुङ्गा माटोको घर टिनको छानोलाई कुनै असर परेको थिएन ।

विनयको फोनको घन्टी बज्यो हेलो ! दाई हजूरको घर भूकम्पले भत्कायो । धन्न हामी घर थिएनौं र जोगियौं । बजार फर्किनोस् भाडामा बसेकाले भन्यो ।

राधिका र विनय एक अर्कालाई ट्वाल परेर हेरिरहे ।

No comments:

Post a Comment