Saturday, February 10, 2024

लघुकथा (अङ्क ९ मा प्रकाशित)

अभियन्ता

-लीलाराज दाहाल
वागमती ११, कर्मैया, सर्लाही   


रत्नपार्कको पुरानो बसपार्कमा केही मानिसहरु भेला भए । उनीहरूले एकै प्रकारका पोशाक लगाएका थिए ! पोशाकको अगाडि पछाडि दुवैतिर र टोपीमा सरसफाइ अभियान लेखिएको थियो ।

“आफ्नो टोल, नगर सफा राखौं’’ लेखिएको प्लेकार्ड पनि बोकेका थिए ! उनीहरूको उद्देश्य भनेको धुमपान, मद्यपानलाई निरुत्साहित गर्नु, सरसफाइको महत्वलाई जनस्तरमा पु¥याएर जनचेतना जगाउनु हो भनेर बताइएको थियो !

उनीहरू पुरानो बसपार्क, रत्नपार्क, जमल हुँदै त्रिचन्द्र कलेज पुगेर अभियान समापन गर्ने सल्लाह गरी सडक छेउका फोहोरमैला टिप्दै, प्लेकार्ड देखाउँदै, फोटो खिच्दै हिँडिरहेका थिए ! टोली त्रिचन्द्र कलेज अगाडि पुगेर अडियो । 

हात हातमा बोकेका प्लेकार्ड भुईंमा राखेर उनीहरूले बोतलको पानीले हात धोए, कसैले चुरोट सल्काए, कसैले बिस्कुटका प्याकेट झिके, कसैले चाउचाउ निकाले । अनि कसैले विदेशी मदिरा गिलासमा खन्याएर, कसैले बोतलबाटै पिउन थाले ।

हल्का विश्रामपछि उनीहरू अगाडि बढे ।

उनीहरूले खाएर फालेका बिस्कुट, चाउचाउका खोल अनि पानी र मदिराका खाली बोतलहरु भने सडकभरि जताततै छरिएका थिए ।

No comments:

Post a Comment