Saturday, February 10, 2024

लघुकथा (अङ्क ९ मा प्रकाशित)

मानवीयता

-मुरारीराज मिश्र
उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौँ   


बाटोमा एकसुरले हिंडिरहेको अमित, छेउको नालीबाट आइरहेको आवाज सुनेर नालीतर्फ मोडियो । निहुरिएर नालीभित्र हे-यो । अनि, पिठ्युँमा बोकेको झोला हतारहतार भुईंमा राख्यो । जुत्ता फुकाल्यो । कमिजको बाहुला र पाइन्टको मोता सार्दै नालीतिर ओर्लियो ।

एउटा मानिस अचानक त्यसरी नालीमा पस्न लागेको देखेर कौतुहलतापूर्वक मानिसहरु झुम्मिए । भीडबाट एउटाले सोध्यो “हैन, के भयो किन छिरेको नालीमा ?“ 

“नालीमा बच्चा खसेछ, निकाल्दैछु“ उसले तलतिर ओर्लिंदै जवाफ दियो ।

उसको जवाफ सुनेर मानिसहरु “कठै बिचरा, कसको बच्चा रहेछ ! जिउँदै त होला नि ?“ भनेर विस्मात् मान्दै अझै झुम्मिएर हेर्न थाले । 

एकछिन पछि, कुकुरको सानो बच्चो हातमा बोकेर ऊ नालीबाट निस्कियो । नसोचेको दृश्य देखेर मानिसहरू भन्न लागे “जाबो एउटा छाउरो बचाउन पनि त्यस्तो फोहोरमा पस्ने, कति मूर्ख रहेछौ तिमी त !“

सहज भावमा उसले भन्यो “छाउरो होइन, मैले मानवीयता बचाएको हुँ ।“

No comments:

Post a Comment