Friday, February 9, 2024

लघुकथा (अङ्क ९ मा प्रकाशित)

समय

-शुषमा मानन्धर
ललितपुर    


 "नानी, तिम्रो नाम के हो ?’’ भोजमा आएका दुईचार बुज्रुकहरूले सोध्दा चञ्चले ऊ बुर्लक्क उफी, ’कोपिला’ ।

“बैनी, के नाम हो तिम्रो ?’’ बाटोमा फूल बेच्दै गर्दा एउटा बटुवाले सोध्यो । ऊ अलिकति लजाई । सानो स्वरले भनी, ’कोपिला’ ।

“एक्सक्युज मी । सुन्नुस् न, यहाँको शुभनाम ?’’ सोध्ने है खाइलाग्दो युवक थियो । उज्यालो र अग्लो ।

ऊ संकोचले रातै भई । नजरै उठाउन सकिन । कम्पित आवाजमा उसका शब्द फुटे, ’कोपिला’ । युवकका आँखा बारीमा ढकमक्क फुलेको फूलतिर गयो ।

“आन्टी, के नाम हो तपाईंको ?’’ फाराम हातमा लिएर बसेको केटोले सोध्दा रिस उठ्यो उसलाई, प्रश्नमा हैन, उसको आन्टी सम्बोधनमा । नजानिँदो पाराले उसले छेउमा झुण्ड्याइएको ऐनामा आँखा लगाई । फुल्न थालेका कपाल र निधारका मुजामा जवाफ थियो । उसले आफ्नो परिचयपत्र बढाई । केटोले नाम पढ्यो, ’कोपिला’ । 

घरमा उसको आफ्नै चौरासीको भोज थियो । पूजाआजाको काम सिद्धिएपछि ऊ कोठामा बसेकी मात्र थिई, केटाकेटीका बटालियन आइपुग्यो । “हजुरआमा थाक्नु भएको छ, दुःख नदेओ ।’’

No comments:

Post a Comment