Friday, February 9, 2024

लघुकथा (अङ्क ९ मा प्रकाशित)

गणतान्त्रिक राजा

-रत्न प्रजापति
लोकन्थली, भक्तपुर   


मी सबै मिलेर राजतन्त्र हटाएको होइन ?’
‘हो ।’

‘हामी सबै मिलेर गणतन्त्र स्थापना गरेको होइन ?’
‘हो ।’

‘अनि, अहिले केही मान्छेहरू गणतन्त्रभन्दा त राजतन्त्र नै ठिक भनेर पुनः राजतन्त्र फर्काउने भन्दै हिँडेका छन् । हामी तिनको विरुद्धमा लाग्ने होइन त ?’

‘होइन ।’
‘होइन !’ उसको उत्तर सुनेर सबै जना छक्क मात्रै होइन तीन छक्कै परे । किनभने राजतन्त्र विरोधी आन्दोलनमा ऊ सधैँ अगाडि हुन्थ्यो । अहिले उसलाई के भयो ? सबैका आँखा, कान र मुख ऊतिरै फर्किए ।

‘किन ?’
‘म अब राजाको विरोध गर्दिनँ ।’
‘किन ?’
‘किनभने अबको मेरो लक्ष्य भनेको म आफैँ राजा हुने हो ।’

‘राजा... !’ सबैको मुखबाट एकैचोटि महान आश्चर्यको आवाज निस्कियो ।
‘हो, राजा । अब मलाई पनि एकचोटि राजा बन्न मन लागेको छ ।’
सबैका आँखा वरिपरि गणतन्त्रका सयौं राजाहरूका मन्द मुस्कानसहित्का अनुहार घुम्न थाले ।

No comments:

Post a Comment