Monday, May 20, 2024

लघुकथा (अङ्क १२ मा प्रकाशित)

घोषणापत्र

प्रकाश बस्नेत गफाडी
आलापोट, काठमाडौँ      



हातको बेल्चा आँगनको डिलमा फुत्त फालेर धनेले पिँढीमा राखेको लोटाको पानी सासै नफेरी घुटुघुटु घुट्क्यायो । टुसुक्क बस्यो । शिरको टोपीले निधारको पसिना पुछ्यो । खुईइय् लामो सास तान्यो ।

उतिन्खेरै फलैचामा सुतिरहेकी उसकी सानी छोरी निद्राबाट ब्युझेर च्याठ्ठिइ च्याठ्ठिइ रून थाली । छोरीले थाङ्नाभरी दिशा पिसाब गरिछे । धनेले श्रीमतीलाई बोलायो । तत्कालै उसकी श्रीमती गोठतिरबाट दौडेर आइपुगी । आफ्नो हाताभरी भकारो भएकोले धनेलाई छोरीको दिशा पुछिदिन आग्रह गरी धनेले छोरीलाई ओछ्यानबाट हातमा लियो र आफ्नो हातको सहायताले आँगनको डिलमा उभ्यायो । यताउती हेर्‍यो दिशा पुछ्ने केही देखेन र श्रीमतीलाई करायो । श्रीमती गोठको भकारोको धन्दामै ब्यस्त थिइ । त्यति वास्ता गरिन । धने फेरि करायो- “हैन आज कोही नेताको टोली भोट माग्न आएनन् ?’’

श्रीमतीले हातको भकारो मल खाल्डोतिर हुत्याउँदै भनी- “आका थे, तिनका चाड आ’को छ किन आउँदैन्थे ।’’

“घोषणापत्र सत्रका कागज केही दिएनन् ?’’

धनेले पालीतिर हेर्दै भन्यो ।

“उ क्या त फलैचाको गुन्द्री मुनि छ, देख्नु भएन?’’ उसकी श्रीमतीले दाँतले चोलाको बाहुला सार्दै जवाफ दिइ ।

“ले ले यसको दिशा पुछौ ।’’ धनेको कुरो सक्किन नपाउँदै उसकी श्रीमतीले भोट माग्ने टोलीले छोडेर गएका तीन चार पानो कागज औलाको टुप्पोले च्यापेर धनेको अघिल्तिर फ्याँकिदिदै भनी- “सप्पै नसक्नु है भोलिलाई नि राख्नु यसलाई के भाको हो दिशा गरेको गर्‍यै छे ।’’

“के पीर गरेकी यस्ता कागज भोलि फेरि अर्का टोलीले नि ल्याइहाल्छन् नि ।’’ यत्ति भनेर धनेले छोरीलाई थुम्थुम्याएर सुताउन लाग्यो ।


....साथ सहयोगको खाँचो

No comments:

Post a Comment