Monday, May 20, 2024

लघुकथा (अङ्क १२ मा प्रकाशित)

वफादार

सुनिता निरौला पौडेल
राधे राधे, निकोशेरा भक्तपुर     

   


"त्यो खानेकुरा मलाई दिँदा के जान्थ्यो र !"  मनमनै भन्दै थियो ऊ । 

भोकले व्याकुल हुँदै खानाको खोजीमा थियो । चोकमा फोहोर फ्याँक्न लामबद्ध बसेका थिए मानिसहरू । गाडीमा सबै फोहोर ,  खानेकुरा फाल्न थालेको उसले देख्यो ।

पुच्छर हल्लाउँदै कुइँ कुइँ गर्दै, खानको आसले  छेउमा गयो । सबै फोहोर गाडीमा हाले ।

“आफ्नो घर र खानको टुंगो नहुँदा पनि घरको न घाटको भईँदोरहेछ ।’’ भुस्याहा कुकुरले मनमनै सोँच्यो ।

एउटा साथीले त्यो सबै हेरिरहेको थियो । छेवैमा गएर भन्यो; 

“के छ हौ मीतज्यू  खबर ?’’

“के हुनु, सुत्केरी छु । जाडो बढिरहेको छ । बच्चाहरू  दुध चुस्न खोज्छन् । एक थोपो पनि दुध आउँदैन । दिनभरि भोकै छु । तपाईंको मितको पत्तो छैन, कता छन् दिक्क लाग्छ ।’’ निराश हुँदै भन्यो उसले ।

“तिम्रो खबर सुनाउन मित ।’’ 

“तिम्रो हेरिकन त धेरै सुख छ मलाई । तिमी जस्तो चारैतिर डुली डुली खादिनँ । मालिकको बफादार र विश्वासपात्र छु घरमा । मेरो बच्चालाई आफ्नो छोराछोरी भन्दा बढी माया गर्छन् ।  

“सेवा गरे बापत मलाई खान, लाउन  दिन्छन् । कहिलेकाहीँ खान्न भन्ने सङ्केत गर्छु । मालिकले आफ्नै हातले खाना ख्वाउँछन् । 

कोही नचिनेको व्यक्ति आयो भने त्यसलाई भुकेर खेदाउँछु मालिक खुसी हुन्छन् ।’’ आफ्नो मालिकको तारिफ गर्‍यो । अचानक घरमा पुलिस आयो । उसले भ्याएसम्म भुक्यो । तर उसको केही लागेन । आखिरमा मालिकलाई हतकडी लगायो । 

किन मालिकलाई पुलिसले लग्यो ? ऊ अलमल्ल परेर मितलाई सोध्यो ।

“लौ तिमीले थाहा पाएनौ ? तिम्रो मालिकलाई भ्रष्टाचार आरोपमा समातेर लगेको’’ मितले भन्यो ।


“तिमीले वफादार छु, चारैतिर डुली डुली खादिनँ, भन्थ्यौ त ! झन् त्योभन्दा ठुलो, भ्रष्टाचारले कमाएको पो खाँदा रहेछौ ।’’ मितको कुरा सुनेर उसलाई छाँगाबाट खसेझैँ भयो ।


“यस्तो भ्रष्टाचारको घरमा बसेर खाना खानभन्दा बरु म तिमिहरुसँगै  बस्छु ।’’ भन्दै भुस्याहा कुकुरको हुलभित्र पस्यो  ।


....साथ सहयोगको खाँचो

No comments:

Post a Comment