Monday, May 20, 2024

लघुकथा (अङ्क १२ मा प्रकाशित)

 दूरदर्शिता

मुरारीराज मिश्र
उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं -७     



"यस्तो अपर्झट बैठक के कामका लागि बोलाइएको होला है सर? फेरि म त नयाँ मान्छे, बैठकमा के पो भन्नु ।’’ दुईदिन अघि मात्रै नियुक्त कर्मचारी रमेशले बैठक हलतर्फ जाँदै गर्दा, आफ्नो सिनियर शिवरामसँग जिज्ञासा राख्यो ।

“होला नि केही ! तर जेसुकै भएपनि, हामीले छलफलको क्रममा आफूलाई लागेको कुरा चाहिँ संस्थाको हित हेरेर प्रष्ट बोल्नुपर्छ । चाकडी चाप्लुसीबाट परै रहनुपर्छ ।’’ शिवरामले सिकाउँदै भने ।

“सरजस्तो अनुभवी व्यक्तिबाट धेरै सिक्नु छ मैले ।’’ रमेशले पनि उत्साहित हुँदै भन्यो । 

“अमूक संस्थाले उपत्यका बन्दको कार्यक्रम राखेको रहेछ । आउन जान अप्ठ्यारो हुने देखेर मैले भोलि अफिस बन्द गर्ने बिचार गरेको छु, तपाईंहरु के भन्नुहुन्छ ?’’ बैठकमा हाकिमले सोधे । 

“अत्यन्तै राम्रो बिचार । मेरो पनि यस्तै सोचाई हो । सबैको मर्का बुझ्ने हजुरजस्तो दुरदर्शी हाकिम पाउनु हाम्रो अहोभाग्य हो ।’’ शिवरामले प्रस्तावको समर्थन गर्दै भन्यो । बिदा हुने निणर्य भयो । सबैले ताली पिटे । बैठक सकियो ।

अफिस छुट्टी हुनै लागेको थियोे, अकस्मात् हलमा जम्मा हुने सूचना आयो । उत्सुकतापूर्वक सबै भेला भए । 

“भोलि दिने भनेको बिदा दिन नमिल्ने खबर हेडअफिसबाट भर्खरै आयो, त्यसैले मैले बिदा दिने निणर्य रद्द गरेको छु है ।’’ हाकिमले सुनाए ।

“मनासिब निणर्य हजुर । यस्तो बिदा दिन मिल्दैन भन्ने त मलाई पहिले नै लागेको थियोे ! राम्रो गर्नुभयो ।’’ शिवरामले झट्पट् अघि सर्दै भन्यो ।


...साथ सहयोगको खाँचो

No comments:

Post a Comment