वृद्धाश्रम
तुलसीहरि कोइराला
छोराछोरीको चाहना पूरा गर्नुमा नै बाबुआमाको खुसी अल्झिएपछि उनीहरुले भने अनुसार गर्नैपर्यो । गाउँ छोडेर शहर पसेका बाबुआमाले शहरमा छोराछोरी पढाएर दक्ष बनाएपछि भुर्र उडे अवसरको खोजीमा ।
राम्रो पढाइ गर्ने भनेर लामो समय उतै बिताए । पढाइअनुसारको जागिर त्यता पाइँदैन, यतै खाने भने र उतै बसे ।
छोराछोरीको राम्रो भविष्य तय गरिदिन शहर पसेका बाबुआमाले फर्केर आउन बिन्ती गरिरहे । उताबाट छोराछोरीले एकोहोरो जवाफ फर्काइरहे- तपाईंहरुलाई गाउँले नपुगेर शहर आउनुभयो । हामीलाई शहरले पुगेन र विदेश आयौँ । अब न तपाईंहरु गाउँ गएर बस्न सक्नुहुन्छ, न हामी आएर त्यहाँ बस्न सक्छौँ ।’
बुढाबुढी मात्रै एकअर्काको सहारा भएर बित्दै गरेको बूढ्यौलीमा असाध्य न्यास्रोपन बढ्न थाल्यो । दुःख गरेर जोडेको घर चटक्क छोडेर वृद्धाश्रममा गएर बस्न पनि मनले मान्दैन । छोराछोरी भनेका बूढेसकालका सहारा भन्ने भनाइ उनीहरुको हकमा बेकार जस्तो लाग्न थाल्यो । बेचैनीले सताउन थालेपछि कुनै उपायको खोजीमा अनेक तर्क उब्ज्याउन थाले ।
दुबै जोइपोईको रातभरको सल्लाह मिलेपछि भोलिपल्ट बिहानै बुढाबा चोकतिर लागे । उनले एउटा साइनबोर्ड तयार गर्न लगाए ।
अचेल उक्त घरमा वृद्धाश्रमको साइनबोर्ड ठोकिएको छ र वृद्धाश्रममा बस्न आएका समवयीसँग उनीहरु खुब रमाएका छन् ।
....साथ सहयोगको खाँचो
No comments:
Post a Comment