Monday, May 20, 2024

लघुकथा (अङ्क १२ मा प्रकाशित)

 मुस्कान

लीलाराज दाहाल
बागमती ११, कर्मैया, सर्लाही   



पहिले रामुले सामाजिक अभियन्ता बनेर निकै नाम कमाए । उनले विश्व विद्यालयको अध्ययन भर्खर पुरा गरेका थिए । उनी राजनीतिमा पनि सक्रीय थिए । उनी भ्रष्टाचारको कडा आलोचक थिए । सरकारी ढिलासुस्ती र कर्मचारीको सेवा सुविधाको उनी जमेर बिरोध गर्थे । सामाजिक असमानता र विकृतिलाई जरैदेखि उखेल्न उनले अभियान नै चलाए ।

उनी अब गृहस्थीको मार्गमा यात्रा गर्ने सोचका साथ कन्याको खोजीमा लागे । छिट्टै नै उनले घरजम शुरु गरे । उनको राजनीतिक सक्रियता कमजोर हुन थाल्यो । एक्लो हुँदा पो केही थिएन । बुढा बाआमा र नवविवाहिता पत्नीको चाहानाले उनलाई लखेटिरहेको थियो ।

उनको अगाडि अब दोबाटो आइपुगेको थियो । पहिलो बाटो राजनीति र समाज सेवातर्फ लाग्ने स्वेच्छिक मार्ग थियो भने दोश्रो पेशागत रोजगारीको वाध्यताजन्य बाटो थियो ।

परिस्थितिले उनलाई दोश्रो बाटो हिंडायो । उनी सरकारी कार्यालयको अधिकृत भए ।  लगत्तै छोरीको बाबु पनि भए । काँधमा दायित्व र जिम्मेवारी थपिंदै गयो । बुढा बाआमा रोगले थलिए ।

कार्यालयमा अचेल उनको आलस्यता बढ्दै गएको थियो । उनले आजै गर्नुपर्ने काम पनि भोलिपल्ट मात्रै गर्न थाले । उनले सेवाग्राहीलाई भोलि भोलि भन्न थालेका थिए । उनको व्यवहारमा परिवर्तन आउन थाल्यो । अब त उनको मन अतिरिक्त आयको वायुयानमा सवार हुन थालेको थियो !

उनका गतिविधि नियालिरहेका उनका साथीहरु आश्चर्य मानिरहेका थिए । उनको जुझारुपन पुरै हराइसकेको थियो !

एकदिन तीर्थले उनीतिर हेरेर भन्यो, “तँ पहिले त भ्रष्टाचार र ढिलासुस्तीको खुब बिरोध गर्थिस् नि ! अचेल त ...”

“त्यतिबेला त म बेरोजगार थिएँ नि ! आदर्श र क्रान्तिका कुरा त बेकारीमा मात्रै सुहाउँछन् ।” रामुको ओठमा यतिखेर कुटिल मुस्कान सल्बलायो ।   



....साथ सहयोगको खाँचो

No comments:

Post a Comment