Monday, May 20, 2024

लघुकथा (अङ्क १२ मा प्रकाशित)

अद्भूत आविष्कार

चूडामणि नेपाल 'अकिञ्चन’
विराटनगर १    



सनसनीपूर्ण रुपमा समाचार फैलियो ‘अद्भूत आविष्कार । अब बच्चा बन्न सकिने । शरीरको आकार परिवर्तन गर्न सकिने । जेनेटिक प्रयोगशालाको अपार सफलता ।’

‘उमेर अनुसार परिवर्तन गरिदिन्छ रे ! कति वर्षको बन्न मन लागेको छ? म त हिंडे बुढी, पूजा तिमी नै गर ।’ अब फेरी तन्नेरी हुने भैयो ।

उनी लौरो टेक्दै विस्तृत कुरा बुझ्न बाहिर निस्किए । ‘प्रयोगशाला बाहिर बुढाबुढीहरुको बिहानैदेखि ठूलो भिड लागेको छ ।’ अर्को समाचार आयो । 

‘विश्व टेलिभिजनको प्रत्यक्ष प्रसारण लिएर म अहिले जेनेटिक प्रयोगशालाको आँगनमा उभिएको छु, अहिले यहाँ खासगरी साठी कटेका मन्दिरका मठाधिस, पूजारी, वृद्ध, नायक, नेता, उद्योगपति, व्यापारी, कवि, कलाकारहरुको ठूलो भीड लागेको छ । भीडमा पुरुषहरुको सङ्ख्या अत्यधिक रहेकोछ ।’ पत्रकार प्रत्यक्ष प्रसारणमा बोल्दै थिए ।

लहर र रहरमा लौरो टेकेर उभिइरहेका वृद्धवृद्धाहरु देखिन्थे । एकैछिनमा अर्को समाचार बाहिरियो । ‘शरीरको अवस्था र आकार परिवर्तन गर्न दशलाख रुपैयाँ आवश्यक पर्ने ।’

अहिले भीड बैङ्कतर्फ मोडियो । छोराछेरी र नातिनातिनाका मोबाइलका घण्टीहरु बज्न थाले । ‘मेरो पैसा दे ।’ ‘मेरो खातामा पैसा ट्रान्सफर गरिदे ।’ ‘चेक काटिदे ।’ घरघरमा कोलाहल मच्चियो । झगडा सुरु भयो । 

‘आज र अहिलेबाटै कार्य थालिने । आकार परिवर्तन गरेको पचास वर्षसम्म एउटै अवस्थामा रहनुपर्ने ।’

पहिलो पालो नेताकै आयो । ऊ मख्ख थियो आफ्नो जवानी देखेर । अनुहार उही थियो । ‘तर मेरो सोच र बुद्धि पो कहाँ गयो त ? म को र कुन पार्टीको पो हूँ ?’ सनसनी रुपमा अर्को समाचार फैलियो ‘अवतारी नेताहरु आफूलाई आफैँले चिन्न छाडे ।’ दर्शक जनता निरास देखिन्थे ।


....साथ सहयोगको खाँचो

No comments:

Post a Comment