Sunday, September 22, 2024

लघुकथा (अङ्क १६ मा प्रकाशित)

अपराध

- डा. पुष्करराज भट्ट
धनगढी, कैलाली हालः काठमाडौँ 


"तपाईं माथि ठूलो आरोप छ । यसबारेमा तपाईंको भनाई के छ ?" न्यायाधीशले कठघरामा उपस्थित अपराधीलाई सोधे ।

“हो हजुर, ममाथि लगाइएका सबै आरोप सत्य हुन् ।” अपराधीले आफ्नो अपराध स्वीकार गर्‍यो । 

“किन यस्तो कुकर्मतिर लाग्नुभयो ? आफ्नै सन्तानमाथि अपराध गर्ने ?” न्यायाधीश कठोर देखिए । 

“मैले जीवनलाई जुन बाटोमा लगाएको थिएँ, अन्तिममा त्यही हुनु नै थियो । अब पश्चाताप गरेर कुनै प्राप्ति छैन ।” उसले मसिनो आवाजमा भन्यो ।

“त्यस्तो कुन बाटोमा लाग्नु भएको थियो र ?” वकिल उत्सुक बने ।

“म सानैदेखि कुलतमा लागेको थिएँ । महिलाहरूसँगको सम्बन्ध राखेको कारण श्रीमती कराइरहन्थिन् । उनको कचकच सहन नसकेर मैले उनलाई पिटेर धपाएँ ।” उसले बहादुरी गरे जसरी भन्यो । 

“अनि छोराछोरी नी ।” न्यायाधीशले सोधे । 

“ममा यौन उन्माद थियो । थाम्नै नसक्नुको यौन चाहना । श्रीमतीलाई घरबाट धपाएपछि मेरा आवश्यकताको पूर्ति हुन छाड्यो । बलात्कारको केसमा दुई पटक थुनिइसकेको थिएँ । समाजमा छिछि दुर गर्ने धेरै छन् ।” उसले आफ्नो इतिहास पल्टायो । 

“अनि यो अपराध कसरी?” न्यायाधीशले अन्तिमप्रश्न गरे ।

“साँझ रक्सी पिएर घर आएको थिएँ । आजमात्र हैन, मेरो सधैँको दैनिकी । घरभित्र पस्दा छोरीलाई देखेँ । मेरो बुद्धि हरायो । म छोरी माथि जाइलागेँ । उनी कराइन् । उनलाई बचाउन छोरो आयो । मेरो योजना असफल बनेकोमा क्रोध आयो अनि मैले बञ्चरोले हानेर उसलाई मारिदिएँ ।” उसले निश्चिन्त भएर भन्यो ।

“समाजका लागि खतरनाक भइसकेका छौ अब । अब तिमीलाई आजीवन कारावासको सजाय दिइन्छ ।” न्यायाधीशको आवाज गुञ्जित भयो । 


...साथ सहयोगको खाँचो

No comments:

Post a Comment