Sunday, September 22, 2024

लघुकथा (अङ्क १६ मा प्रकाशित)

गोराचा

- जलेश्वरी श्रेष्ठ


महाबौद्धमा गोराचा भन्ने एउटा मान्छे म स्कुल जाने बाटोको छेउमा रहेको पाटीमा बस्थ्यो । उसले कहिले पनि मागेर खाँदैनथ्यो तर कसैले दया र मायाले दिएको पाउरोटी, बिस्कुट, खानाले जीवन गुजारा गथ्र्यो । आफ्नो सँगैका कुकुरहरुलाई पनि तिनै खानेकुरा दिन्थ्यो । 

त्यस टोलमा कसैको घरमा श्राद्ध भयो भने ऊ आफैं जान्थ्यो र उसलाई चोखो गरेर एक भाग दिन्थे । उसका वरिपरि धेरै कुकुर हुन्थे मानौं तिनीहरू नै उसको परिवार हो ।

ऊ आफू खाने बेला कुकुरलाई नि दिन्थ्यो । त्यो पाटी नै उसको संसार हो । भनिन्छ ऊ एउटा काठमाडौँको घरानियाँको छोरा हो रे ! आमाबुबा सानैमा बितेको रे ! आफन्तले उसलाई अंश दिनुपर्ला भनी घरबाट निकालिदिएका रे ! त्यसबेलादेखि मानासिक सन्तुलन गुमाएको रे !

ऊ सधैँ एक्लै केके कुरा गरिरहन्थ्यो । हाम्रो घर यस्तो राम्रो, कस्तो मीठो खान्थ्यौँ । राम्रो लुगा लाउँथ्यौँ । अहिले पनि मलाई राम्रो लुगा किनिदिएको छ भनी भाङ्ग्राको लुगा देखाउँथ्यो । ऊ भाङ्ग्रा बेरेर भाङ्ग्रो ओढ्थ्यो ।

ऊ सधैँ हाँसिरहन्थ्यो मानौं त्यो पाटी नै उसको लागि दरबार ऊ राजा कुकुर उसको जनता । अरुले दिएको खानेकुरा नै चौरासी व्यञ्जन । 

हामी त्यही बाटो भएर स्कुल जान्थ्यौं । चिसोमा उसको शरीरमा कुकुरहरु सुतेर चिसोबाट बचाइ रहेका हुन् ।

अहिले पनि कहिलेकाहीँ त्यही बाटोबाट जाँदा त्यस पाटीमा रेडिमेड लुगाको पसल छ तर पनि म त्यही गोराचा बसिरहेको सम्झन्छु ।


...साथ सहयोगको खाँचो

No comments:

Post a Comment