Sunday, September 22, 2024

लघुकथा (अङ्क १६ मा प्रकाशित)

 अभाव

- प्रद्युम्न अधिकारी
का.म.पा. -७, चाबहिल



जुनेलीको श्रीमान् बडो इमानदार र मिहिनेती छ । ऊ हरेक दिन मजदुरी गरेर जसोतसो आफ्नो जहान परिवार पाल्ने गर्छ । दुःख गरेर खाइ नखाइ भए पनि आफ्ना परिवार सधैं खुसी र सुखी रहून् भन्ने चाहना राख्छ ।

एकदिन सधैँजसो आफूले कमाएको र दुःखगरि बचाएको सबै पैसा आफूसँग नराखी श्रीमतीको हातमा थम्याउँदै भन्छ, “लौ यसपालिको दशैंको खर्च यसैले टार्नू ...! जति पसिना बगाए पनि कमाउन सकिएन । यो कस्तो अभाव नै अभावमा बाँच्नु परेको जिन्दगी ...! आफ्नो त कर्म भाग्य नै यस्तै रहेछ ।’’

श्रीमान्ले हातमा राखिदिएको पैसा हेर्दै जुनेलीले गुनासो गर्दै भन्छिन्, “तिमी त सधैँ यस्तै भन्छौ । महान चाड दशैं तिहार नजिकिंदै छ । यति थोरै पैसाले कसरी घरव्यबहार चलाउने..?’’ उनी अझै दुखेसो थप्छिन्, “पोहोर दशैंमा पनि एउटा फरिया र चोलो सिवाय केही हाल्न पाइन । उता सानो छोरो मासु खान पाइन भन्छ । अनि ठुली छोरीले पोहोरको दशैंको लुगा र जुत्ता पुरानो भैसक्यो भनेर कराउँछे । पसलको उधारो पनि तिर्नै पर्‍यो । यति पैसाले लुगा किन्ने कि ...! खानेकुरा र मरमसला किन्ने कि ...! तिरोतारो गर्ने ...!’’ यति भन्दै उनी दिक्क मानेर घरभित्र छिरिन् ।

श्रीमतीको यति गुनासो र दुखेसो सुनिसकेपछि लामो सुस्केरा निकाल्दै उ पिँढीमा थचक्क बस्छ । अनि गोजीमा भएको चुरोट निकाल्दै सल्काउछ । उसले आफूले तानेको चुरोटको प्रत्येक सर्कोको धुवाँलाई हेर्दै आफ्नो परिवारको चाहना र रहरलाई पुरा गर्ने औकातको परिकल्पना गर्छ, तर ती सबै उडेर गएको धुवाँसँगै विलीन् हुँदै जान्छन्...।


...साथ सहयोगको खाँचो

No comments:

Post a Comment