Sunday, September 22, 2024

लघुकथा (अङ्क १६ मा प्रकाशित)

 संस्कार

- निर्मलरमण पराजुली


एउटा गाडी गेटबाट भित्र छिर्‍यो । दौरा सुरुवाल कोट लगाएका हेर्दा नै आकर्षक देखिने भक्तराज अर्थात् सचिव गाडीबाट ओर्लिएर सरासर बैठक कोठामा प्रवेश गरे । पत्नी लक्ष्मीदेवी, छोरी र दुई छोराहरू पनि भक्तराजको अगाडि देखा परेर सबैको हातमा केही राखी दिए । बाहिरबाट घर आउँदा केही न केही सबैका लागि ल्याउँथे । यसोगर्दा घरमा एकअर्काप्रति सद्भाव रहन्छ भन्ने उनको विश्वास थियो । केही समयपछि छोराछोरीको विवाह पनि सम्पन्न गरे । अब सबैलाई सँगै राख्नुभन्दा अलग अलग गरिदिए सम्बन्ध अझ राम्रो हुन्छ भने विश्वास थियो उनमा । 

करोडौँको सम्पत्ति चार भाग लगाए, दुई छोराछोरी र बूढाबूढीको जिउनी । सबैको भागमा करीब पचास करोड परेको हुनुपर्छ । सबैले रोजेर छोडेको जिउनी भाग बूढाबूढीले सकारे । यसरी एउटा सिङ्गो परिवार चार परिवारमा विभाजित भयो । केही समय त सबै राम्रै थियो । अचानक भक्तराज बिरामी परे, छोराहरू काममा व्यस्त थिए, छोरीको माइत आवतजावत बढ्न थाल्यो । यो कुरा बुहारीहरूलाई पचेन र बुबामुमाको जिउनी भाग नानीले खान लाग्नुभयो भनेर उचाले । अब दाजुबहिनीकै बीचमा मनमुटाव शुरु भयो । बोलचाल आवतजावत बन्द भयो । 

एकदिन अचानक भक्तराजले यो दुनियाँ छोडे । दाहसंस्कारका लागि आवश्यक पर्ने सामान किन्न पनि छोराछोरी मुखामुख गर्न थाले । यो रमिता हेरिरहेका एक जना छिमेकीले खल्तीबाट बीस हजार निकालेर जेठा छोराको हातमा थमाइदिए, दाहसंस्कार सम्पन्न भयो । पतिवियोगमा परेकी लक्ष्मीदेवीलाई यो कुरा केही थाहा भएन । गरुड पुराण भन्ने दिन छोराछोरीहरूलाई बोलाउन आग्रह गरे गुरुले तर कोही आएन । छोरी आए छोराहरू नआउने, छोराहरू आए छोरी नआउने वातावरण बन्यो । दश दिनपछिको कार्यको लागि कोही पैसा झिक्न तयार भएनन् । त्यति सम्पन्न परिवारमा यस्ता छिमेकीहरू कुरा काट्न थालिसकेका थिए । यी सबै कुरा लक्ष्मीदेवीका लागि सह्य थिएन । उनले आफ्ना चारवटा बाला बेचेर तेह्र दिनको काम सम्पन्न गरिन् । पन्ध्रौ दिन लक्ष्मीदेवीको घरआँगनमा चहलपहल थियो । प्रहरीहरू, वकिलहरू र छोराछोरीहरू र गन्यमान्य व्यक्तिहरूको उपस्थिति थियो । 

लक्ष्मीदेवी गेरुवस्त्र धारण गरी आँगनमा देखा परिन् । सबैको ध्यान आफूतिर आकर्षित गर्दै भनिन् मैले भोगचलन गर्दै आएको चल अचल सम्पत्ति वृद्ध आश्रमलाई दान गरेको छु । आजबाट मैले गेरु वस्त्र धारण गरी सांसारिक जीवन त्याग गरी सन्यासी बनेकी छु । म मरेपछि मेरो दाहसंस्कार र किरियाकर्म गर्नबाट मेरा छोराछोरीलाई मुक्त गरिदिएकी छु । ईश्वर मेरो रक्षा गर ...!


...साथ सहयोगको खाँचो

No comments:

Post a Comment