Sunday, September 22, 2024

लघुकथा (अङ्क १६ मा प्रकाशित)

दुर्लभलाल सिंहका तीन लघुकथा

 जीवन             

जीवनको खोजीमा डुबुल्की मारिरहेको त्यो दाह्रीवाल मान्छे पुस्तकको घेराभित्र बस्दै विचारमा तल्लीन थियो ।

विचार गर्दागर्दै त्यो मान्छे अचानक कराउन थाल्यो- जीवन के हो ? जीवन के हो ? जीवन के हो ?

कराउँदै उ उठ्यो । अनि दगुरेर बाहिर गयो । तर उ कराउँदै थियो- जीवन के हो ?

कराउँदै दगुरेको मान्छे वाग्मतीको पुलमा पुग्यो । उसको श्वास तीव्र गतिमा चलिरहेको थियो । खुट्टा लडबडाई राखेको थियो । त्यो त्यहीँ लड्यो ।

नदी कल कल कराउँदै बगिरहेको छ । हावा पनि आफ्नै धुनमा फरफर गर्दैछ ।

मानो तिनीहरूले भनिरहेछन् - हामी आफ्नै धुनमा जान्छौं । यही हाम्रो जीवन हो । जब हामी हाम्रो तालमा हुँदैनौं, हाम्रो अस्तित्व रहँदैन ।


 हाकिम            

के काम गरेको यस्तो लाटो जस्तो ? - बादल गर्जेजस्तो गरी अफिसका हाकिम गर्जिरहेका छन् ।

आफूलाई गाली गरिरहेकाले कर्मचारीको खुब मनमा रीस उठिरहेछ । तर हाकिमलाई केही भन्न पनि उसको साहस भएन । 

त्यही बेला त्यहाँ विभागका हाकिम पसे । पस्ना साथ उनले अफिसको हाकिमलाई भने- के काम गर्नु भएको यस्तो ? यस्तो त एउटा कर्मचारीले पनि गर्दैन । अफिसको हाकिम भए पछि अलिकति त विचार पुर्‍याउनुपर्छ नि !

त्यो कुरा सुनेर अफिसको हाकिमको सातो पुत्लो उड्यो । उनी लगलग कामेर केही नबोली दुई हात जोडेर बसिरहे । उनको अवस्था हेरेर कर्मचारीले आफ्नो हाँसो रोक्न सकेन । ऊ कोठा नै थर्किने गरी हाँस्यो ।


 टोपी             

सिंहदरवारको एउटा कार्यालयमा एउटा टोपी टेबुलमाथि राखिछाडेको छ । तर त्यहाँ त्यो टोपीको मालिक छैन ।

टोपीको मालिकलाई भेट्न एक जना विदेशी एक दुई पटक त्यहाँ पस्यो पनि । टोपीको मालिकसँग भेट नहुने भयो भनी त्यो विदेशी अर्को अफिसमा गयो । त्यहाँ उसले टोपीको मालिकलाई खुट्टा तन्काएर चुरोट तान्दै गफ गरिरहेको पायो ।

त्यहाँबाट फर्केको त्यो विदेशीसँग मेरो भेट भयो । यता उताको कुरा सकेपछि त्यो विदेशीले हाँसेर मलाई भन्यो- तिम्रो सिंहदरवारमा टोपीले पो राज गर्दो रहेछ ।

मलाई जवाफ दिन मन लाग्यो तर जवाफ नआएर चूप लागें ।

साभारः  झुलभित्रको मान्छेबाट साभार


...साथ सहयोगको खाँचो

No comments:

Post a Comment