Sunday, September 22, 2024

लघुकथा (अङ्क १६ मा प्रकाशित)

 न्याय हराएको बस्ती

- मुरारीराज मिश्र
उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौँ



"कति होहल्ला, झगडा, लुछाचुँडी, तोड्फोड् ... ! साह्रै खराब बस्ती रहेछ यो ! एकछिन शान्तिपूर्वक थकाइ मार्न पनि पाइएन । हिंड जाउँ, यहाँ नबसौं ।“ घुम्दै बाँदरको बस्तीमा आएको खरायोले आफ्नी पत्नीसँग भन्यो । 

नजिकैको झाडीबाट एउटा बाँदरले खरायो दम्पतीका सम्वाद सुनिरहेको थियोे । जब उनीहरू जान लागे, उसले खरायोलाई रोक्दै भन्यो “पख ! यी मेरी पत्नी हुन्, तिमीले कहाँ लान लाग्यौ यिनीलाई ?’’

आफ्नी पत्नीमाथि बाँदरको दावी देखेर, खरायोले छक्क पर्दै भन्यो “के भनेको बाँदरभाइ तिमीले ! यिनी त मेरी पत्नी हुन्, कसरी तिम्री भइन् ?"

बाँदरले आफ्नो दावी छोडेन । उसले सबै बाँदर जम्मा पार्‍यो । विवाद छिनोफानोको लागि पञ्च भलाद्मी बोलायो । खरायो दम्पती जिल्ल पर्दै थिए ।

न्याय निरुपण गर्न पञ्च भलाद्मीको बैठक बस्यो । उनीहरूका बीच आपसी छलफल चल्यो ।
“यो त खरायोकै पत्नी हो नि ।’’ एउटाले भन्यो ।
“निश्चय नै हो ।“ अर्कोले सही थाप्यो । अरु दुईवटाले पनि त्यसै भने ।

मुख्य भलाद्मीले गम्भीर हुँदै भन्यो “खरायोपत्नी भन्ने कुरा त थाहै छ । तर, हामी यही समाजमा बस्नुपर्छ, मर्दा-पर्दा आफ्नै सजातीय चाहिन्छ । खरायोको पक्षमा फैसला गर्दा हाम्रा दाजुभाइ सबै चिढिन्छन्, हो कि होइन भन्नुस् त ?’’ यो भनाइमा सबैले सहमति जनाए । बाँदरको पक्षमा फैसला भयो ।

अन्यायमा परेको खरायो फर्कन लाग्दै थियो, उसलाई बाँदरले बोलायो र हाँस्दै भन्यो “यिनी तिम्रै श्रीमती हुन्, लैजाऊ ।’’

“अनि, यत्रो नाटक किन त ?’’ खरायोले सोध्यो ।
“यो त साह्रै खराब बस्ती रहेछ, भनेका थियौ नि तिमीले, त्यसैको जवाफ दिन ।’’ बाँदरले भन्यो ।
खरायोले नबुझेको भावले बाँदरतर्फ हेर्‍यो ।

“हेर, कुनै पनि बस्ती वा समाज आफैंमा खराब हुँदैन । जात, धर्म र आफन्तका पक्षमा काम गर्ने, यस्तै विवेकहीन नेतृत्वका कारणले खराब देखिन्छ ।“ बाँदरले गम्भीर हुँदै भन्यो ।


...साथ सहयोगको खाँचो

No comments:

Post a Comment